ट्रम्पवादको पतन

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

पपुलिस्टहरू त्यतिवेला शक्तिशाली हुन्छन्, जब वामपन्थी, उदारवादी र मध्यपन्थीहरू समाजवादको गीत त गाउँछन्, तर त्यसको कार्यक्रम अगाडि सार्दैनन्

 पुराना पत्रकार निकोलस क्रिस्टोफले दुःखी हुँदै लेखे, ‘अमेरिकी इतिहासमा बुधबार भएको घटना लाजमर्दो र आतंकित पार्ने खालको थियो । मैले संसारभरका ‘कु’का समाचार लेखेँ र अन्त्यमा संयुक्त राज्य अमेरिकामै घटेको यो विडम्बनापूर्ण घटनाबारे लेख्दै छु ।’ संयुक्त राज्य अमेरिकाको संसद् भवन अर्थात् क्यापिटल हिलमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको ठूलो डफ्फाले आक्रमण गरेको ‘न्युज’ अब ‘ब्रेकिङ न्युज’ रहेन । उनी थप्छन्, ‘ट्रम्प समर्थकले त्यहाँ उभिएका सुरक्षा गार्डलाई तितरबितर पारे र क्यापिटल कब्जा गरे । तिनीहरूलाई तपाईं विद्रोही, आतंककारी वा विप्लवी जे नामले पनि सम्बोधन गर्न सक्नुहुन्छ, तर तिनीहरूले जे गरिरहेका थिए, त्यो मेक अमेरिका ग्रेट अगेनका लागि भने थिएन ।’

बहालवाला राष्ट्रपतिले निर्वाचित राष्ट्रपतिलाई कार्यभार सुम्पनुभन्दा ठीक १४ दिनअगाडि भएको यो घटनाबारे क्रिस्टोफको यो टिप्पणीले पनि अमेरिकी प्रजातन्त्र संकटग्रस्त भइसकेको पुष्टि गर्छ । क्यालिफोर्निया वर्कलेका प्रोफेसर जे ब्राडफोर्ड डेलङ सोध्छन्, ‘अमेरिकालाई फेरि महान् बनाउन अब कुन विद्रोह ?’ ज्याकोबिन म्यागेजिनका सम्पादक डेभिड सिरोटाले घटना हुन सक्छ, त्यसैले सावधानी अपनाउन जरुरी छ भन्दै आएका थिए । उनले ‘विद्रोह हुन्छ भन्ने अनुमान गरिएको थियो’ भनेर ७ जनवरीमा ज्याकोबिनमा लेखेका छन् । त्यसैले यो आयो–गयो वाला आँधी तुफान अथवा भुइँचालो होइन । जे होस्, यो सुनियोजित थियो ।

फेरि अर्को घटना हुन सक्छ भन्ने कुराको संकेत यी दुवै विद्वान्ले गरेका छन् । क्यापिटल हिलमा घटना हुनुअघि केही छलफल भएको थियो भनेर एबिसी न्युजले समाचार पनि बनाएको छ । ९ जनवरीमा प्रकाशित समाचारअनुसार ट्रम्पका अनुयायीले योजनाबद्ध ढंगले र्याली गरेर क्यापिटलमा आक्रमण गर्न लगाएको कुरा प्रकाशमा ल्याएको छ । अन्य प्रमाण पनि जुटेकै हुनाले होला, अमेरिकी राजनीतिज्ञले १० दिनपछि स्वतः बाहिरिनुपर्ने संवैधानिक तथा कानुनी प्रावधान हुँदाहुँदै ट्रम्पमाथि अविश्वासको प्रस्ताव ल्याएर पदच्युत गर्न खोजेका छन् ।

हामीले झैँ संसारभरका अधिकांश मानिसले विश्व शक्तिराष्ट्र अमेरिकाको निर्वाचनलाई चासोपूर्वक हेरिरहेका थिए । सबैले पराजित हुन्छन्् भनिरहँदा पनि ट्रम्प एक्लैले आफू पूर्ण बहुमतका साथ विजयी हुने घोषणा गरिरहेका थिए । अन्ततः उनी पराजित भए । तर, पराजय स्वीकार गरेनन् । राज्य न्यायालयले मात्र होइन, केन्द्रीय अदालतले समेत तिमी हा¥यौ भन्दा पनि उनले त्यसलाई स्विकारेनन् । ४ जनवरीका दिन ह्वाइटहाउसपछाडिको पार्कमा ‘सेभ अमेरिका र्याली’ निकालेर त्यसलाई सम्बोधन गर्न पुगेका ट्रम्पले त्यहाँ भनेका थिए, ‘¥याडिकल लेफ्ट र डेमोक्र्याटहरूले हाम्रो विजयलाई चोरे, मिडियाहरूले हामीले हारेको झुटा समाचार लेखिरहेका छन् र प्रसारण गरिरहेका छन् । अहिले उनीहरू विजयोत्सव मनाइरहेका छन् । हामी यो हुन दिन्नौँ । हामी हार स्विकार्दैनौँ । यो हुनै सक्दैन । हामीले चोरी रोक्नैपर्छ । जनता हामीसँग छन् र हामीले यो निर्वाचन जितेका हौँ भारी मतले ।’ संसद्मा भएको आक्रमणलाई ट्रम्पको यो ‘विजयलाई चोरे’ भन्ने भाष्यले डोर्याएको थियो । उनीहरू संसद्बाट बाइडेनको विजय घोषणा रोकेर ट्रम्पले जितेको घोषणा गराउन संसद् भवन छिरेका थिए । यो उनीहरूका लागि क्रान्ति थियो । ट्रम्प उनीहरूका नेता थिए । उनीहरू सफल भएको भए के हुन्थ्यो भन्न सकिँदैन, तर यो असफलताले ट्रम्पको पतनमा लालमोहर लगाइदिएको निश्चित छ ।

सन् २००८ को वित्तीय संकटको टालटुले समाधानमा जोड दिइयो, जुन संकटका प्वालहरूबाट संसारका धेरै मुलुकमा लोकप्रियतावादी शासकहरू जन्मदै गए । संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प, हंगेरीमा भिक्टर ओर्वान, पोल्यान्डमा मेतेज मोराविकी, टर्कीमा रेसेप तैयप एर्दोगान, ब्राजिलमा जइर बोल्सोनारो, भारतमा नरेन्द्र मोदी त्यसका परिणति हुन्।
 

हमलापछिको प्रतिक्रिया
दुवै विश्वयुद्धबाट अछुतो, तर पनि विश्वविजेता बन्न पुगेको अमेरिकाका लागि सन् २००१ को न्युयोर्कस्थित ट्विन टावर तथा पेन्टागनमाथिको आक्रमण अत्यन्त ठूलो र त्रासदीपूर्ण घटना थियो । शक्तिराष्ट्रका लागि ठूलो चुनौती पनि । त्यस घटनाका कारण र स्रोत बाह्य जगत्मा खोजियो । तत्कालीन राष्ट्रपति जर्ज बुस जुनियरले ६ वटा मुलुकलाई निकृष्ट राज्यको दर्जा दिए र तीमाथि नाकाबन्दी थोपरे । इराक र अफगानिस्तानलाई युद्धमा ठेलिदिए । कतिपय राष्ट्रमा विद्रोह जन्माइदिए भने कति राष्ट्रमा अराजकता फैलाइदिए र त्यसको अदृश्य नेतृत्व अमेरिकाले नै गर्यो । यति हुँदासम्म पनि अमेरिका आफैँमा भने निकै ढुक्कका साथ सास फेरिरहेको थियो । उसले आफूभित्र रहेका कमजोरीतर्फ हेर्ने चेष्टा कहिल्यै गरेन । बुस प्रशासनको आठवर्षे कार्यकालको अन्तिम घडीमा सन् २००८ मा बैंकिङ संकट देखा पर्यो । ठूला–साना धेरै बैंक धराशायी भए । त्यसको प्रभाव सन् २००९ मा विश्वव्यापी मन्दीका रूपमा देखा पर्यो । वास्तवमा नवउदारवादी पुँजीवादमाथि प्रणालीगत संकट थियो, त्यो । तर, बुसपछि राष्ट्रपति चुनिएका डेमोक्र्याटिक पार्टीका बाराक ओबामाको प्रशासनले संकटलाई वित्तीय संकट ठान्यो र त्यसको टालटुले समाधानमा जोड दियो । तर, संकट भने झन्–झन् गहिरिन पुग्यो । अनि त्यही संकटका प्वालहरूबाट संसारका धेरै मुलुकमा लोकप्रियतावादी शासकहरू एकपछि अर्को गर्दै जन्मदै गए । संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प, हंगेरीमा भिक्टर ओर्वान, पोल्यान्डमा मेतेज मोराविकी, टर्कीमा रेसेप तैयप एर्दोगान, ब्राजिलमा जइर बोल्सोनारो, भारतमा नरेन्द्र दामोदर दास मोदी त्यसैका परिणति हुन् । 

युरोपेली युनियनबाट बेलायत अलग्गियो । यो लोकप्रियतावादबारे विश्वविख्यात विद्वान्हरूले दर्जनौँ पुस्तक लेखे । जस्तो डच राजनीतिशास्त्री कास मादको ‘पपुलिजम अ सर्ट इन्ट्रोडक्सन’, पिपा नोरिस र रोनाल्ड इंगलहार्टको ‘कल्चरल ब्याकलास ः ट्रम्प, ब्रेक्जिट एन्ड अथरोटेरिएन पपुलिजम’, पौल मरल्यान्डको ‘द हुम्यान टाइड, हाउ पपुलिजम सेप्ड द मोर्डन वल्र्ड’, जोन मुलरको ‘ह्वाट इज पपुलिजम’ आदि । तर, राजनीतिज्ञहरू जसले संकटमोचनका लागि पढ्नु र सोच्नुपथ्र्यो, उनीहरू गम्भीर भएनन् । 

वासिङ्टन डिसीमा अवस्थित क्यापिटल हिलमा ट्रम्प समर्थकले गरेको आक्रमण उदार प्रजातन्त्रमाथिको आक्रमण थियो । न्युयोर्क टाइम्स, वासिङ्टन पोस्टलगायतका अखबारले यो घटनालाई विद्रोह, ‘कु’को संज्ञा दिए । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ‘पहिले कहिल्यै नभएको आक्रमण’ भने । तर, ट्रम्पिएन ‘कु’को पर्दापछाडिका कारण के थिए त ? आक्रमणमा गोराहरूको बाहुल्यता किन रह्यो ? सुरक्षा निकायका झैँ देखिने मानिसको संख्या त्यो भीडमा किन धेरै देखिन्थ्यो ? भन्ने विषय अहिले पनि विवेचनाभित्र परेको छैन । बाइडेनले निर्वाचन जिते । उनी ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । उपराष्ट्रपतिदेखि राष्ट्रपतिसम्म आइपुग्दा अमेरिकी समाजमा थुप्रिएका समस्या ज्युँका–त्युँ छन् कि झनै बढेका छन् ? बाइडेनले लिने नीति पनि उही पुरानै नीतिको निरन्तरता हो भनेर मानिस विद्रोहमा उत्रिएका हुन् कि ? यस्ता कैयौँ प्रश्न हालसम्म अनुत्तरित छन् । 

राजनीतिशास्त्री राफायल क्याचाटरिए तथा पत्रकार स्टिफन मर लेख्छन्, ‘बितेको चार वर्षको अवधिमा ट्रम्पले मध्यमार्गीहरूबीचको सहकार्य रुचाएको कहिल्यै पनि देखिएन । उनी अलग्गै धारका मानिसलाई संगठित गरेर मूलधारमा ल्याउन प्रयत्नशील देखिन्थे । जस्तो कि उनले अभिमानी केटाहरूको ‘प्राउड ब्वाइज’ संगठनलाई रिपब्लिकन पार्टीको मूलधार बनाए । दोस्रो विश्वयुद्धपछिको इतिहासमा उनी मात्र यस्तो राष्ट्रपति थिए, जसका पछाडि पुँजीपतिको आडभरोसा थिएन । उनी पुँजीपति वर्गको मुखर सहयोगी बन्न सकेका थिएनन् । यद्यपि, उनी आफैँ अर्बपति थिए र व्यापार तथा सुविधाका लागि कर कटौती, बजार नियमन, आर्थिक वृद्धि, स्टक मार्केटको मूल्यवृद्धिमा आफ्नो हित हुने गरी रुचि राख्थे । त्यसले उनलाई भन्दा पनि वालस्ट्रिटका ठूला पुँजीपतिलाई स्वाभाविक फाइदा पुग्थ्यो । तर पनि उनी टिक्न सकेनन् ।

हाललाई सन् २०२० को निर्वाचन परिणामको पटाक्षेप भएको छ र बाइडेन निर्वाचित भएको विधिवत् घोषणा भएको छ । दक्षिणपन्थीको बल देखाउने काम अवरुद्ध हुन पुगेको छ । उनीहरू एक हिसाबले तत्कालका लागि पराजित भएका छन् । यो असफलताले रिपब्लिकन पार्टी र त्यसका नेताहरूलाई ठूलो भुमरीमा ल्याई पछारिदिएको छ । उनीहरूलाई नवफासीवादीको दाग लागेको छ । दक्षिणपन्थी अतिवादलाई पुँजीवादीहरूले दिइरहेको समर्थन हाललाई फिर्ता लिएका छन् । डिक चेनीलगायत आजसम्म जीवित रहेका डिफेन्स सेक्रेटरीहरूले ट्रम्पलाई साथ नदिन वक्तव्य निकालेर अमेरिकी सेनालाई आह्वान गरिसकेका छन् । उद्योगपतिहरूको संगठन ‘द नेसनल एसोसिएसन अफ म्यानुफ्याक्चर्स’, जो सधैँ रिपब्लिकनको पक्षपोषण गथ्र्यो, उसले पनि ट्रम्पलाई अविलम्ब कार्यालयबाट हटाउन माग गरेको छ । त्यसैगरी, शक्तिशाली भनेर चिनिएको ‘बिजिनेस राउन्ड टेबल’ ले बाइडेनलाई विजेता भन्दै ६ जनवरीका दिनै वक्तव्य निकालेको छ । ब्ल्याकरक सिइओ ल्यारी फिन्क र जेपी मोर्गनका सिइओ ज्यामी डाइमोनले ट्रम्पमाथि वक्तव्य जारी गरेर घृणा व्यक्त गरिसकेका छन् । यसरी हेर्दा ट्रम्प राजनीतिक रूपले रसातलमा पुगिसकेका छन््, तर ज्वाला निभे पनि आगो निभेको छैन । उदाहरणका लागि क्रिस्टोफ लेख्छन््, ६२ प्रतिशत रिपब्लिकन मतदाता बाइडेनले चुनाव जितेको ठान्दैनन् । संसद्मा भएको आक्रमणलगत्तै गरिएको मतसर्वेक्षणमा ४५ प्रतिशत रिपब्लिकन मतदाताले संसद्मा भएको आक्रमणलाई जायज कदम भनेका छन् ।

दक्षिणपन्थीका विभिन्न खाले सञ्जाल र संगठनहरू एक–आपसमा समाहित भएका छन् । जस्तै, नेसनल राइफल एसोसिएसन, फक्स न्युज, प्राउड ब्वाइज तथा यिनका बुद्धिजीवीहरू पनि संगठित भएका छन् । अमेरिकी लेखक रेविका सोलनित लेख्छिन्, ‘एकतन्त्री हुकुमी शासन सधैँ असमानतामा आधारित विचारधारा हो । म विचार बनाउँछु, तिमीहरू पालन गर । मैले तिनीहरूलाई सजाय दिनेछु, जसले आज्ञा पालन गर्दैन ।’ उनीहरूको सिद्धान्त यही हो ।

क्यापिटल हिलमा आएको आँधी यो दशकले सिर्जिएको समस्याको परिणाम होइन भन्छन् राजनीतिशास्त्री कास माद । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय रूपमै दक्षिणपन्थी अतिवादीमाथि अध्ययन गर्दै आएका उनले उनीहरूको क्रियाकलाप गएका केही वर्षदेखि अनौठा र अपत्यारिलो किसिमले बढिरहेको बताउँछन् । गत वर्ष जर्मनीको संसद्मा राइखस्टयाङमा भ्याक्सिनविरोधी प्रदर्शन भयो, जसलाई पुलिसले समेत रोक्न हम्मेहम्मे पर्यो । नेदरल्यान्डमा रिसाहा किसानका नाममा दक्षिणपन्थी अतिवादीले प्रर्दशन गरे र सरकारी कार्यालय ध्वस्त पारे । हंगेरीमा भिक्टोर अर्वानलाई सत्तारूढ बनाउन सन् २००६ मा हंगेरियन पार्लियामेन्टमा हंगामा मच्चाइएको थियो । अमेरिकाको विसकन्सिनमा सन् २०१२ मा नियो नाजीद्वारा शिख मन्दिरमाथि धावा बोलिएको थियो । अमेरिकामा टी–पार्टीका क्रियाकलाप र सोच कसैबाट छिपेको छैन । भारतमा गएको वर्ष सत्तारूढ दलको पहलमा सम्पन्न भएको दिल्ली दंगा र सरकारले गरेको कास्मिरको विभाजन, बोल्सेनारोले लगाएको आमेजनको आगो, टर्कीका एर्दोगानले गरेको राजनीतिक थुनछेक र इस्तानबुलमा दोहोर्याएर गरिएको निर्वाचन, नेपालमा हालै प्रधानमन्त्री खड्ग ओलीले गरेको संसद् विघटन दक्षिणपन्थी लोकप्रियतावादका निकृष्ट नमुना हुन् भन्न गाह्रो छैन ।

पपुलिजमको जरो
रजोर एटवेल र म्याटगुडविन लिखित ‘नेसनल पपुलिजम : द रिभोल्ट अगेन्स्ट लिबरल डेमोक्रेसी’ को परिचय खण्डमै केही राजनीतिक प्रश्न गरिएका छन् । जस्तै, सन् २०१६ को निर्वाचन हुनुभन्दा दुई हप्ताअघि हिलारी क्लिन्टन निर्वाचनमा विजयी हुने सम्भावना ९३ प्रतिशत छ भनेर न्युयोर्क टाइम्सको रिपोर्टिङ थियो, तर उनी किन पराजित भइन् ? त्यसैगरी, बेलायतमा तीन सयभन्दा बढी बौद्धिक, पत्रकारहरूले ब्रेक्जिटका विरुद्ध बेलायती जनता उभिनेछन् भनेर भविष्यवाणी गरेका थिए, तर बेलायत युरोपेली युनियनबाट बाहिरिनुपर्ने गरीको जनमत कसरी खडा भयो ? यो अमेरिका र बेलायतको मात्र विषय थिएन । यो संसारभरि नै हुर्कंदै गरेको प्रवृत्ति हो । 

पपुलिजम के हो ? उत्तर धेरै प्रस्ट छैन । तर, पपुलिजम स्थापित सत्तामाथि गम्भीर शंका उत्पन्न भएपछि सत्ताधारीमाझबाट जनतालाई झुक्याउन यो कार्यक्रमका रूपमा बाहिर देखा पर्छ । जस्तै, ‘सबैका लागि शिक्षा, स्वास्थ्य, रोजगारी : हाम्रो जिम्मेवारी’, ‘सबैको हितका लागि पूर्वाधार विकास, सबैको खाद्य सुरक्षाका लागि हाम्रो अभियान’ जस्ता नारा आवश्यकता पहिचान गरेर लगाइदिने । तर, त्यसलाई कसरी पूरा गर्ने कुनै संस्थागत योजना र आधार भने तयार नहुने अथवा भनौँ त्यतातर्फ ध्यान नदिने । सुन्दा राष्ट्रको आवाज बोले जस्तो, आत्मालाई नै झकझक्याए जस्तो, आहा भन्न लायकको कर्णप्रिय । तर, त्यसको आत्मा छाम्दै गयो भने केही नभेटिने । कहीँ कार्यान्वयनमा नल्याइने । लोकप्रियतावाद यस अर्थमा पूरा नगरिने सपनाको खेती हो । जस्तै, पाँच वर्षभित्र ५ हजार डलर प्रतिव्यक्ति आय पु¥याउने अनि २५ वर्षमा १२ हजार ५ सय डलर । सुन्दै धनी भएको अनुभूति हुने । दुई वर्षभित्र पानीजहाजको टिकट पाइने, हिन्द महासागरमा नेपाली ध्वजावाहक पानीजहाज हुने । पाँच वर्षभित्र चुच्चे रेल चढेर भारत–चीन यात्रा गर्न सकिने । सुन्दा निकै कर्णप्रिय लागे पनि त्यसले वास्तविक आकार ग्रहण नै गर्दैन । यस्ता नाराबाट शासकले आफ्नो अनुकूलताको शासन सत्ताका लागि जनतालाई मोहित बनाउने गर्छन् ।

ट्रम्प राजनीतिक रूपले रसातलमा पुगिसकेका छन्, तर ज्वाला निभे पनि आगो निभेको छैन । उदाहरणका लागि ६२ प्रतिशत रिपब्लिकन मतदाता बाइडेनले चुनाव जितेको ठान्दैनन् । संसद्मा भएको आक्रमणलगत्तै गरिएको मतसर्वेक्षणमा ४५ प्रतिशत रिपब्लिकन मतदाताले संसद्मा भएको आक्रमणलाई जायज कदम भनेका छन् ।
 

संसारभर पपुलिजम किन हावी भयो भन्ने प्रश्न निकै गह्रुंगो प्रश्न हो । वास्तवमा पपुलिजम कुनै विचारधारा नै होइन । कसरी सत्तामा पुग्ने भन्ने एउटा रणनीति मात्र हो । यो पहिले पनि थियो, अहिले पनि छ । मात्र कुरा कत्ति हो भने यो अहिले मुखर रूपमा सतहमा देखा परेको छ । तर, मूलतः यस्तो वातावरण तयार हुनुमा डिजिटल क्रान्ति र जनताको सामाजिक सुरक्षाको प्रत्याभूति हुन नसक्नु जिम्मेवार छ भन्न सकिन्छ । जर्मन दार्शनिक जोन मुलर भन्छन्, ‘पपुलिजमले सधैँ विभाजन खोज्छ । षड्यन्त्रलाई बढावा दिन्छ । अस्तित्वमा नभएकालाई पनि शत्रु बनाउँछ र विपक्षमा रहेकालाई पनि अपराधीकरणतर्फ होमिनुपर्ने परिस्थितिको निर्माण गर्छ । सत्तामा पुग्नका लागि अथवा सत्तामा टिकिरहनका लागि सधैँ बाह्य शक्तिको खतरा देखाउँछ, तर भित्रभित्रै भने विदेशी शक्तिसँग साँठगाँठ गर्न पुग्छ । र, अन्नतः उनीहरूकै पक्षमा काम गरिरहेको हुन्छ ।’

समाजशास्त्री एन्थोनी गिडेन्स पपुलिजमको विस्तार भूमण्डलीकरणका कारण भएको ठान्छन् । भूमण्डलीकरणले आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो प्रभाव विस्तार ग¥यो । व्यक्तिवाद हावी भयो । यसको अर्थ समग्र समाजको भलाइमा आफ्नो भलाइ देख्नेभन्दा ठीक उल्टो आफ्नो भलाइमा अरूको पनि हित देख्ने परिपाटी नै पपुलिजम हो भन्दा हुन्छ । यसलाई अर्थशास्त्री अरविन्द सुब्रमन्यमले हाइपर ग्लोबलाइजेसनको पनि संज्ञा दिएका छन् । तेस्रो विचार थोमस पिकेटीले प्रस्तुत गरेका छन् । उनको विचारमा थोरै मानिसको हातमा विश्वको पुँजी र सम्पत्ति केन्द्रित हुँदै गयो । हिजोका मध्यमवर्गीयहरूको आयमा समेत संकुचन देखियो । उनीहरूका लागि काम खोज्न कि त बाहिर जानुपर्यो या त सस्ता सामग्री त्यो पनि आवश्यकताको न्यून उपभोग गरेर जीवन धान्नुपर्यो । यसले सस्तोमा मजदुरी बेच्नुपर्ने बाध्यतासँगै मौकापरस्त समाज निर्माणको वातावरण बन्न पुग्यो ।

तर, वैकल्पिक अर्थतन्त्र निर्माण सम्भव छ भन्ने अर्थशास्त्री भने यी माथिका विचारलाई अर्थशास्त्रीय कोणबाट पनि हेर्छन् । उनीहरू नवउदारवादको असफलताबाटै अहिलेको वातावरण सिर्जिएको निष्कर्षमा पुगेका छन् । पहिलो, पूर्ण रोजगारीको सट्टा मुद्रास्फीतिको लक्ष्य निर्धारण गरिनु । दोस्रो, पुनर्लगानी र आर्थिक वृद्धिभन्दा व्यवहारमा सिइओ तथा सेयरहोल्डरको नाफामा ध्यान केन्द्रित गर्नु । र, अन्त्यमा नाफा आर्जन गर्नका लागि श्रम बजारलाई लचकदार बनाउने नाममा मजदुरको ट्रेड युनियनलाई ध्वस्त पारेर मजदुरको अधिकार कुल्चनु । यस्तो क्रियाकलापले पुँजीबाट मजदुरलाई अलग्याइयो । यी नवउदारवादी क्रियाकलापले आर्थिक वृद्धिदर र उत्पादकत्व कमजोर बन्दै गयो । पुँजी निर्माणमा अधिकांश श्रमशक्ति बाहिरिँदै गए । सम्पत्ति र आय आर्जनको हिसाबले असमानता चुलियो, बेरोजगारी बढ्यो र एकीकृत माग र आपूर्तिबीचको सन्तुलन बिग्रियो र अन्तमा विश्व अर्थतन्त्र संकुचित हुन पुग्यो । 

उदारीकरण र भूमण्डलीकरणले आमरूपमा मध्यमवर्गीय तथा न्यून आय भएका गरिब किसान र मजदुरलाई सकसपूर्ण जीवन जिउन बाध्य बनायो । गरिबी र दुःखका समयमा सोच्ने बुझ्ने र संगठित हुने ताकत कम हुँदै जान्छ । किनकि, बिहान–बेलुकाको गाँस र वासको प्रबन्धका लागि नै समय व्यतीत गर्नुपर्ने हुन्छ । पपुलिस्टले यही वेला सांस्कृतिक धार्मिक युद्ध छेड्न पुग्छन् । विचारधारात्मक विश्वासमाथि धावा बोल्छन् । चुनावमा प्राविधिक व्यवस्थापकमार्फत के भन्दा चुनाव जितिन्छ, त्यसको सूत्र खोज्छन् । तर, पपुलिस्टहरू सबैभन्दा शक्तिशाली त्यतिवेला हुन्छन्, जब वामपन्थी, उदारवादी र मध्यपन्थीहरू समाजवादको गीत त गाउँछन्, तर समाजवादको वास्तविक कार्यदिशा र कार्यक्रम अगाडि सार्दैनन् । शक्तिमा हुँदा रूपान्तरणका लागि संरचनागत परिवर्तनका लागि काम गर्दैनन् । हाम्रो देश पनि यही अवस्थाबाट यात्रा गरिरहेको छ । यसको पटाक्षेप कहिले हुने हो, हेर्न बाँकी छ । 

सुझावित समाचार