जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिए पनि प्रधानमन्त्री केपी ओलीले जबर्जस्ती गरेर लोकतन्त्रको हत्या गरेको बताएका छन् । जसपा पर्साले आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा यादवले लोकतन्त्रलाई बचाउन केपी ओलीलाई संसद्बाट सडकमा पठाउन आवश्यक रहेको बताए ।
संविधानमार्फत जनताले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने र संविधानमा रहेका त्रुटिलाई सच्याउनुपर्नेमा भएका अधिकारलाई नै डुबाउने गरी ओलीले काम गरेको यादवले आरोप लगाए । उनले जनताको बलिदानीले बनेको संविधानलाई लत्याएर आफ्नो मनोमानी तरिकाले गरेको प्रतिनिधिसभा विघटन जनतालाई मान्य नहुने बताए ।
यादवले ओलीले जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोजेको बताए । ओलीले कम्युनिस्ट पार्टीको आन्तरिक झगडाका कारण देशलाई बर्बाद गरेर लोकतन्त्रको धज्जी उडाएको यादवको दाबी छ । प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको बताउँदै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले ओलीको प्रतिगमनकारी कदम खारेज नगरेसम्म विरोध सभा र आन्दोलन जारी रहने बताए ।
ओली माक्र्सवादी, साम्यवादी पनि नभएको उल्लेख गर्दै यादवले उनको कार्यशैली महेन्द्रवादी, नश्लवादी र निरंकुशवादी रहेको दाबी गरे । ओलीको मनशाय नै लोकतन्त्र, गणतन्त्र, संघीयता, मौलिक अधिकार समाप्त गरी सर्वसत्तावाद शोषणतर्फ लग्ने रहेको बताए । ‘ओलीले चुनाव गराउँदैनन्,’ उनले भने, ‘अब यसपछि प्रदेश सभा हटाउँछन् र देशमा संकटकाल लगाउँछन् । संकटकालबाट पनि आन्दोलन नरोकिए सेनालाई जिम्मा दिएर संविधान भंग गराएर अघि बढ्न खोज्छन् ।’पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर ओलीले संघीयता फाल्न चाहेको उनको आरोप छ ।
जसपा कार्यकारणी परिषद् सदस्य लक्ष्मणलाल कर्णले कम्युनिस्ट पार्टीभित्र भएको पदको विवादले प्रतिनिधिसभा विघटन भएको भन्दै मान्य नहुने बताए ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नेपालमा ओलीतन्त्र हाबी हुने कदम मान्य नहुने बताए ।