ट्राफिक नियम नमान्ने गर्नुभएको छ ? पर्नुहोला है फेला

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी गरी कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन गरेको छ ।

उपत्यकाको व्यस्त सडकहरूमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरूमा हुने तीव्रगतिलाई नियन्त्रण गर्न उपयोगी हुने गरी महाशाखाले टोली परिचालन गरेको हो । 

प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटिभी क्यामेराले करिब दुई सय मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिए । 

‘पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लंघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्छ,’ उनले भने । 

भ्यानमा खटिने पाँचजना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहरूलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरेको छ । 

यसले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने र आमचालकलाई प्रमाणसहित कारबाही गर्न र थप सचेत जगाउन सहयोगी हुने अपेक्षा रहेको महाशाखाले जनाएको छ ।

उक्त कार्यक्रममा ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई एसएसपी भट्टराईले पुरस्कृत र सम्मान गरेका थिए। 

ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । 

पुरस्कृत हुनेहरूमा प्रसनि देवीराम भण्डारी, प्रसनि रामेश्वर उप्रेती, प्रहशंकर वन सन्न्यासी, प्रह विनोद गोतामे, प्रज भुवन भण्डारी, प्रज केदारप्रसाद भण्डारी, प्रज नैनसिंह राना, प्रज रविन घिमिरे, प्रज धनञ्जयसिंह रावत (डाँगा), प्रज मीनाकुमारी आचार्य, प्रज नीरज थापा, प्रज केशव विष्ट, प्रज रमेशसिंह बुडाल, प्रज भानुभक्त ढकाल, प्रज राकेशकुमार साह, प्रज शान्ता श्रेष्ठ, प्रज ईश्वर पछाई र प्रज सन्दीपकुमार यादव रहेका छन ।

पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारीचालकलाई पक्राउ गरी कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको महाशाखाले जनाएको छ ।

सुझावित समाचार