सशस्त्र प्रहरीका गणको स्तरोन्नति, झापामा महानिरीक्षकद्वारा उद्घाटन

आइतबार, १९ पुष, २०७७
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलले तराईका जिल्लाका गणको स्तरोन्नति गर्दै लगेको छ । सीमा सुरक्षा बलियो बनाउन गणमा जनशक्ति थपिएको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले झापाको नेपाल नंं. २ गण हे.क्वा. उद्घाटन गरेका छन् । तराईका जिल्लामा दुई सय ३७ जनाको संख्या रहने गरी स्थापना भएका सीमा सुरक्षा कार्यालयहरू  स्तरोन्नति गरिएको हो । 

सो गण ६ सय २१ जनाको संख्यामा रहने गरी स्तरोन्नति गरिएको हो ।  उद्घाटन कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई इमान्दार, अनुशासित, बफादार, नैतिकवान र व्यावसायिक भई नागरिकको सेवा, सुरक्षा, सहयोग  तथा उद्धारमा उच्च मनोबल र दृढ संकल्पका  साथ परिचालित हुन निर्देशन  दिए । 

देश र संगठनबाट आफूले के पाएँ भन्ने भन्दा पनि देश र संगठनलाई मैले के दिएँ भन्ने भावनाका साथ परिचालित भएमा सच्चा राष्ट्रसेवकको कर्तव्य निर्वाह हुने उनको भनाई थियो । 

उद्घाटन कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

महानिरीक्षक खनालले आजै झापा जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरी जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए ।  साथै झापा जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोस्टहरूको स्थलगत निरीक्षण तथा अवलोकन गरी बिओपीमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

सुझावित समाचार