नेकपाको सांगठनिक कार्य विभाजन गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन (भिडियोसहित)

आइतबार, १९ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टीभित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । 

कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरू, केन्द्रीय संगठनहरू, मोर्चा संगठनका पदाधिकारीहरू र सांगठनिक एकीकरणका बाँकी काम सम्पन्न गर्ने अधिकार पाएको छ । पत्रकारहरूलाई बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र सोमबार बस्ने बैठकले कार्यदललाई अन्तिम रूप दिने बताए । 

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सबै नेता–कार्यकर्तालाई अपिल गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा सरकारले प्रतिनिधिसभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि श्रेष्ठले बताए । 

बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरूसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णयसमेत गरेको छ । स्थायी कमिटीको अर्को बैठक सोमबार मध्याह्न १२ बजे बस्ने श्रेष्ठले जानकारी दिए ।
 

सुझावित समाचार