सत्ता र शक्तिको चरित्रले सधैँ समर्पणको माग गर्छ, चाहे त्यो झुकाबले प्राप्त होस् या त्रासले
‘हे महापुरुषहरू ! हे विद्वान् आचार्य गुरुवर ! खै, कहाँ छ तपाईंहरूको सभ्यता ? खै, कहाँ छ तपाईंहरूको विद्वता ? के यही हो तपाईंहरूको पुरुषत्व ? ए महान् महारथी, महावीरहरू हो, सक्छौ भने प्रदर्शन गर आफ्नो बहादुरी ? होइन भने बन्द गर, आफैँलाई वीर भन्न र विद्वान् ठान्न ! तिमीहरू सबै कायर हौ, कायर !’ एक से एक वीर, महारथी र तिनको बहादुरीलाई ललकार्दै निरन्तर अघि बढिरहेको यो स्त्री बागी आवाज हो, महाभारतकी द्रौपदीको ।
एउटा भव्य र आलिसान महल । स्वर्ण दिवारहरू । जहाँ चिरपरिचित वीर, महारथी, महायोद्धा, महागुरुदेखि विद्वान्सम्मको भव्य उपस्थिति छ । स्वर्णमुकुट पहिरिएर स्वर्णवस्त्रमै सजिएका राजा–महाराजा, युवराज र राजकुमारहरूको भव्य सभाबीच एकाएक गुञ्जिँदै छ, एउटा नारी क्रन्दन । क्रन्दनले सिंगो पुरुषसभाको कथित भद्रतालाई दुत्कार्दै छ । लज्जाबोधले झुकेका छन्, समस्त वीर र विद्वान् कहलिएका महापुरुषहरूका आँखा । हजारौँ सवालबीच जवाफविहीन छन्, तिनका ओठहरू ।
‘भद्र’ पुरुषहरूको त्यो भिडबाट अचानक गुञ्जिन्छ अहंकार र दम्भले भरिएको आवाज, ‘यसको वस्त्रहरण गरेर नग्न बनाइदेओ ।’ स्त्री चिच्याई–चिच्याई अनुनय–विनय गर्छिन् । डर र भयले अलापविलाप गर्छिन् । सारा पुरुषहरूको पुरुषत्वमाथि प्रश्न उठाउँछिन् । आक्रोशित भएर प्रतिकार गर्छिन् । आफ्नो बचाउ र सुरक्षामा हरसम्भव प्रयास गर्छिन् । याचना गर्छिन् । तर, विडम्बना ! त्यो पुरुष भिडमा कोही देखिँदैन, उनको अस्मिता र नारी संवेदनाको रक्षा गर्ने । सुनिँदैन उनको बचाउका लागि एक शब्दसम्म बोलिदिने स्वर । वीर वा बहादुर कहलिएका कसैले उठाउँदैन सहयोगको हात । र, अन्ततः उठ्छन् पुरुष हातहरू– उनको वस्त्रहरण गर्न ।
उनी चिच्याइरहँदा वीर योद्धा, सेनापति, धनुर्धर, विद्यापति, धर्मरक्षक, राजा र मन्त्रीहरूका आँखा भुइँमा सुतिरहन्छन् । म्यानमा निदाउँछन्, तिनका तरबार । मौन रहन्छन्, सिलाइए जस्ता पुरुष ओठहरू । पुरुषसभा एक स्त्रीलाई नग्न बनाउँदै जान्छ । तर, क्रोध र उत्तेजनाले कस्सिएका हातहरू खुल्दैनन् । तरबारको बिँडसम्म पुगेका हातहरू एकाएक रोकिन्छन् । ताँदो चढ्दैन धनुषमा ।
महाभारत ग्रन्थमा समेटिएको यस प्रसंगले त्यस युगमा महिलाको स्थिति र पुरुष चरित्रको मात्रै वर्णन गर्दैन । समस्त पितृसत्ताको मुहार नै उदांगो पार्छ । दुराचारी प्रवृत्तिले महिला अस्तित्वमाथि धाबा बोल्दा पनि समाजका सचेत भनाउँदो तप्काले कत्ति पनि आपत्ति जनाउँदैन भने यो सबैभन्दा घातक विषय हो । अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘समाज भयावह हुनुमा जति खराब आचरणको भूमिका हुन्छ, त्यसभन्दा बढी विद्वान्हरूको तटस्थता जिम्मेवार हुन्छ ।’ यसकै एउटा दृष्टान्त हो, द्रौपदी वस्त्रहरण । दुशासन उनको वस्त्र उतार्न पुग्दा त्यहाँ उपस्थित भद्र–भलादमी तथा विद्वान्हरू मौन बनिदिन्छन् । सत्ता र शक्तिको दम्भअघि कोही बिकाउ हुन्छन् त कोही लाचार । हामी बाँचेको समाज पनि यसबाट अछुतो छैन । जब न्यायप्रेमीहरू तटस्थ बनिदिन्छन्, अन्याय र अत्याचार मुखर बन्दै जान्छ । अनि पुरुषसत्तामा वस्त्रहरणका निम्ति जन्माइन्छन्, हजारौँ द्रौपदीहरू । धज्जी उडाइन्छ, नारी अस्मिताको ।
एकातिर पितृसत्ता महिलाको निजत्वमाथि आफ्नो नियन्त्रणको पर्खाल ठड्याइरहेको छ भने अर्कोतर्फ उदीयमान सोच र चिन्तनमा बन्ध्याकरण चाहिरहेको छ । यतिवेला महिलाको स्थिति चौतर्फी संकटमा छ ।
सत्ता र शक्तिको चरित्रले सधैँ समर्पणको माग गर्छ, चाहे त्यो झुकाबले प्राप्त होस् या त्रासले । तर, न्यायका निम्ति त्यस्तो समर्पण सधैँ घातक हुने गर्छ । जब न्याय बिकाउ हुन्छ, जब जिम्मेवार ओहदामा बस्ने मानवको मानवता पनि द्विविधामा अल्झिन्छ । देशको न्यायप्रणालीसमेत मृत व्यक्तिलाई दोषी सिद्ध गर्न कुनै कसर बाँकी छाड्दैन । यसका उदाहरण हुन् श्रीमती हत्याका अभियुक्त पूर्वडिआइजी रन्जन कोइरालाकी मृतक पत्नी गिता ढकाल । मृत व्यक्तिलाई नै दोषी करार गरेर अभियुक्तको सजाय मिनाह गर्नुले स्पष्ट पार्छ कि देशको न्याय प्रणाली कसको हातमा र कस्तो प्रकृतिको छ । अझैसम्म जहीँको त्यहीँ छ, निर्मला पन्तका निम्ति उठेका न्यायका फिरादहरू ।
सामाजिक मानकहरू : आमनारीवादीले भन्दै आएजस्तै ‘पुरुषभन्दा महिला मानसिक र शारीरिक रूपमा अत्यन्तै कमजोर हुन्छन्’ भन्ने समाजको बुझाइ छ । समाजले नै महिला तथा पुरुषका फरक–फरक मापदण्डहरू निर्धारित गरिदिएको छ । पुरुष वीर अथवा बलवान् मान्छे हो भने महिला शारीरिक रूपमा सुन्दर वस्तु हो । पुरुष भोग्ने हो भने महिला भोग्या हो । सिमोन द बोउवारका अनुसार ‘साहित्य, संस्कृति, इतिहास र परम्परा पुरुषद्वारा निर्माण गरिएका हुन् । र, पुरुषद्वारा निर्मित विधानमा स्त्रीहरूलाई सधैँ दोस्रो दर्जामा राखियो ।’ यी मानकहरू समाजमा हालसालै निर्माण गरिएका होइनन् । प्राचीन समयदेखि नै चल्दै र मानिँदै आएका मान्यता हुन् । वास्तवमै पुरुषहरूले निर्माण गरेका शास्त्र वा पौराणिक ग्रन्थमा महिलालाई केवल पुरुष पात्रको छाया बनाएर सदियौँदेखि दोस्रो दर्जामा सीमित गरियो । कतै महिलालाई वस्तुको रूपमा चित्रित गरियो, कतै राज्य विस्तार गर्न गरिने राजनीतिको मोहरा बनाइयो, जितेर प्राप्त गरिने सगुनको रूपमा प्रयोग गरियो ।
महाभारतकालमा राजा ययातिकी पुत्री माधवीको कथा नारी शोषणको अर्को नमुना हो । शास्त्रका नारी पात्रहरू पुरुष प्रभुत्वको सत्तामा साँच्चै उत्पीडन झेल्न बाध्य पारिएका छन् । तिनलाई भौतिक सम्पत्तिसँगै बेचेर अलग–अलग राजाहरूको यौनप्यास मेटाउने र सन्तान उत्पादन गर्ने साधनको रूपमा प्रयोग गरिएको छ । यस्ता कथामार्फत पनि आकलन गर्न सकिन्छ इतिहासमा नारीले भोगेको पीडाको आयतन ।
त्यस्तै भारतीय जीवनको एउटा जीवन्त चित्र हो– आचार्य चतुरसेनको कृति ‘वैसाली की नगरवधू’ । यसमा पनि नारी शोषणको अत्यन्तै भयानक परिदृश्य भेटिन्छ । नगर र व्यवस्थालाई अस्थिर हुनबाट जोगाउन एक स्त्रीलाई नगरवधू बन्न बाध्य पारिन्छ । सैन्य गणको मनोरञ्जनको साधन बनाइन्छ । अम्रपालीको सुन्दरता नै पितृसत्ताले अभिशाप बनाइदिन्छ । द्रौपदीलाई पनि पाँच पतिकी सामूहिक पत्नी बनाइन्छ । समाज स्त्रीहरूका अघिल्तिर छनोटको विकल्प नै दिँदैन । दिन्छ भने पनि खराब र अति खराबमध्ये कुनै एक चुन्नुपर्ने सर्त राख्छ । यस्ता पुरातन कथाहरू नारी शोषणका दृष्टान्त हुन् । शोषणका आयाम अनेक रूपमा आज पनि हाम्रो समाजमा विद्यमान छँदै छन् ।
विद्रोहका दृष्टान्त : कमला भसिनको शब्दमा ‘पुँजीवादी समाजमा पुरुष दुईखाले महिला चाहन्छ । एउटी सेक्स वर्कर अर्थात् यौनकर्मी र अर्की सती सावित्री ।’ जुडिथ बट्लरलगायतले मान्छन्, ‘छोरीहरू जन्माइँदैन, समाजद्वारा निर्माण गरिन्छ ।’ एउटी आमाको गर्भबाट जब सन्तानले जन्म लिन्छन्, जैविक रूपमा उनीहरू केही शारीरिक भिन्नतासहितको मानवाकृति लिएर जन्मिन्छन् । तर, जन्मपश्चात् उनीहरूलाई सामाजिक रूपमा स्त्री र पुरुष बनाउने शिक्षा दिइन्छ । छोरालाई मर्द वा शक्तिशाली हुन सिकाइन्छ भने छोरीलाई सुन्दर र सुशील गुडियाजस्तै बन्न प्रेरित गरिन्छ । छोरीलाई पुरुषको सहारामा बाँच्न सिकाइन्छ । समाज तथाकथित संस्कार एवम् मर्यादाको घुम्टोभित्र लुकाएर स्त्रीलाई वास्तविक स्वास्नीमान्छे करार गराउन अभ्यस्त छ । तिनलाई शारीरिक तथा मानसिक रूपमा पुरुषभन्दा कमजोर छौँ भन्ने भावनासहित हुर्काइन्छ।
अब सोच्नुपर्ने विषय यो हो कि, किन समाज सधैँ छोरी बुहारीमा सीता र सतीको माग गर्छ ? किन त्याग र समर्पणको सर्त राख्छ ? यसका पछाडिको सामाजिक मनोविज्ञान बुझिनसक्नुको छ । समाज महिलाको हक र अधिकारका लागि गरिने संघर्षलाई वर्जित गर्छ । ऊ चाहन्छ, पछि गएर कुनै पनि महिलाले विद्रोह नगरून् । महिलालाई द्रोह गर्ने अधिकार छैन भन्ने प्रशस्त उदाहरण हिजोआज हाम्रै अघिल्तिर छरपस्ट छन् । यहाँ एउटी गायिकाले ‘यसपालिको तिज नो व्रत प्लिज’ भनेर गीत गाएकै आधारमा पितृसत्तामा ठूलै खैलाबैला मच्चिन्छ, पुरुष अहंकारको टाउको दुख्छ । समाजभँडुवा, कुलच्छिनीलगायत चरित्र इंगित गर्ने छुद्र गाली प्रहार गरिन्छ ।
एउटी अभिनेत्री, जो सामाजिक तथा आर्थिक पुँजीले सम्पन्न पुरुषद्वारा आफूमाथि भएको उत्पीडनको खुलासा गर्दै न्यायको अपिल गर्छे वा पुरुष प्रवृत्तिविरुद्ध लड्ने अठोट गर्छे, पितृसत्ताका पहरेदारहरू उनीमाथि संरचनात्मक प्रहारमा उत्रिन्छन् । एउटी साधारण स्त्री, जो कसैको ‘प्रस्ताव अस्वीकार गरेकै कारण’ तेजाब आक्रमणको सिकार हुन्छिन् । कुनै स्त्री गलत परम्परा र कुसंस्कारविरुद्ध आवाज उठाउने प्रयत्न गर्छिन् भने उनी विविध लाञ्छनाको सिकार किन हुनुपर्छ ? के स्त्री हुनु र प्रस्ट भाषा बोल्नु समाजको आँखामा कसिंगर बन्नु हो ?
जब कुनै घरमा एक पत्नी वा बुहारी आफूमाथिको उत्पीडनविरुद्ध मुख खोल्ने हिम्मत गर्छिन्, तब किन सवाल उठाइन्छ, उनको चरित्रमाथि ? किन स्त्रीहरूको सन्दर्भमा सधैँ विद्रोहलाई वर्जित गरिन्छ ? किन स्त्रीहरूले सधैँ ‘स्वीकारोक्ति’ नै दिनुपर्छ ? प्रतिवाद गर्नु हुँदैन, प्रतिरोधी बन्नु हुँदैन ? पतिको दुर्व्यवहारको प्रतिरोध गर्ने पत्नीलाई समाज किन तिरष्कार गर्छ ? आफूमाथिको उत्पीडनविरुद्ध बोल्दा बदनामीको त्रास देखाएर किन गराइन्छ मुख बन्द उल्टो पीडितको ? उत्पीडनको सिलसिला जारी राख्न किन दिइन्छ मनोवैज्ञानिक दबाब महिलामाथि ?
हामीले यो बुझ्न जरुरी छ कि पितृसत्ता एउटा त्यस्तो हतियार हो, जो सधैँ अनेक तरिकाद्वारा महिलाको मनोबलमाथि प्रहार गर्छ र दोस्रोपटक विद्रोह गर्न नसक्ने गरी घाइते बनाउँछ । हाम्रो समाजमा अत्यन्तै कम महिला छन्, जो समाजले निर्धारण गरेका मापदण्डविपरीत खराब प्रवृत्तिविरुद्ध बोल्ने हिम्मत जुटाउँछन् । तर, तिनीहरू नै चौतर्फी प्रहारको सिकार बन्छन् । सामाजिक सञ्जालमा एउटा त्यस्तो पुरुषवादी गिरोह छ, जो समाजको लैंगिक विभेदकारी चिन्तन र आचरणमाथि औँला उठाउन हिम्मत गर्ने हरेक स्त्रीलाई निकृष्ट तरिकाले सामूहिक गालीमा उत्रिन्छ ।
एकातिर सामन्तवादले महिलालाई वस्तु र पुरुषको सेवक बनाएर घरघरमा दासी बनायो र अहिले अर्कोतिर पुँजीवादले ‘माल’ बनाएर बजारमा बेचिरहेको छ । एकातिर पितृसत्ता महिलाको निजत्वमाथि आफ्नो नियन्त्रणको पर्खाल ठड्याइरहेको छ भने अर्कोतर्फ उदीयमान सोच र चिन्तनमा बन्ध्याकरण चाहिरहेको छ । यतिवेला महिलाको स्थिति चौतर्फी संकटमा छ । चारैतर्फ अवरोधहरू खडा गरिएको छ । जर्मनीकी कम्युनिस्ट नेतृ रोजा लक्जेम्बर्ग भन्छिन्, ‘जबसम्म हिँड्ने प्रयास हुँदैन, तबसम्म साङ्लोमा बाँधिएको महसुस नहुन सक्छ ।’ ठ्याक्कै यही स्थितिमा हामी गुज्रिरहेका छौँ आज । हामी हिँड्ने प्रयासमा छौँ र आफ्ना खुट्टामा बाँधिएको साङ्लो महसुस गर्दै छौँ । आज बोल्न खोज्दै छौँ र बल्ल थाहा हुँदै छ– पितृसत्ताले हाम्रो घाँटी अँठ्याइरहेको छ ।
अब हामीसँग केवल एउटै मात्र विकल्प छ, विद्रोह अर्थात् वर्जित बाटोको यात्रा । महिला मुक्ति आन्दोलनकी अग्रणी एवम् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी एक संस्थापक क्लारा जेट्किनले भनेझैँ ‘पुरुषहरू मौन हुन्छन् भने हाम्रा आदर्शको पक्षमा हामी आफैँले मात्र पनि आवाज उठाउनु हाम्रो दायित्व हो ।’ जब पुरुषहरूले हिंसा गर्छन्, जीवनरक्षाका लागि लड्नु हाम्रो अनिवार्यता हो । जहाँ उत्पीडन, दमन र हिंसा हुन्छ, त्यहीँबाट प्रतिरोधको आवाज गुन्जिनैपर्छ । र, अब हुनैपर्छ, द्रौपदी र माधवीहरू उत्पादन गर्ने सिलसिलाको अन्त्य । रोकिनैपर्छ, नारी अस्तित्वको उपहास । यसको लागि चाहिन्छ– प्रतिरक्षाको लडाइँ, अस्तित्वको लडाइँ र पितृसत्तात्मक संरचनाविरुद्ध केन्द्रित लडाइँ । जबसम्म हामी जागरुक हुँदैनौँ, तबसम्म उन्मुक्ति एक शब्द मात्र बनेर रहनेछ । याद गरौँ, पिँजडाको ढोका खुल्दैमा पक्षी स्वतन्त्र हुँदैन, जबसम्म उसले स्वयंका पखेटाहरू फटफट्याउने हिम्मत गर्दैन । अब हामीले पनि सदियौँदेखि बाँधिरहेको उत्पीडनको पिँजडा तोडेर हौसलाका पखेटाहरू फटफटाउँदै उन्मुक्तिको अनन्त आकाशमा उडान भर्न हिम्मत गर्नैपर्ने समय आएको छ !