एक महिनाको अन्तरालमा नेप्सेले पुनः नयाँ उचाइ बनाएको छ । १७ मंसिरमा यसअघिको उच्च बिन्दु २ हजार ७१ मा पुगेर केही समय साइडवेज बिन्दुमा देखिएको नेप्सेले लगभग यो प्रवृत्ति अन्त्य गरेको देखिएको छ । यसो भएमा नेप्से थप वृद्धि हुने सम्भावना बढेको छ । नेप्से साताको अन्तिम दिन बिहीबार २ हजार ८७ बिन्दुमा आइपुगेको हो । नेप्सेमा २५ अंकको वृद्धि भएको हो ।
यस दिन व्यापारमूलक र सामूहिक लगानी कोष समूह मात्रै अन्त्यसम्म अन्तरदिनको उच्च नजिक नै रहेर बजार बन्द भयो । कारोबारमा आएका निर्जीवन बिमाबाहेक सबै समूहगत परिसूचक भने अघिल्लो दिनको भन्दा बढेको छ । यस दिन नेप्से परिसूचकमा उच्च उतारचढाव देखिए पनि अघिल्लो उच्च बिन्दु माथिबाट कारोबारमा आएर माथि रहेरै बजार बन्द भयो । यद्यपि, बजार तल तान्ने पक्ष पनि दरिलै देखिएको छ ।
यस दिन बजारमा कारोबार रकममा थप सुधार भएको छ । कारोबार रकम ५ अर्ब ७० करोड रुपैयाँ पुगेको हो । १ हजार रुपैयाँमाथिकै सेयरमा लगानीकर्ताले खरिददारी बढाएका छन् । कारोबार रकमका आधारमा प्रमुख १० भित्र रहनेमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ, नागरिक लगानी कोष, नेपाल टेलिकम, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमाजस्ता १ हजार मूल्यमाथिका कम्पनी छन् । एनआइसी एसिया, एभरेस्ट, प्राइम कमर्सियल र सिद्धार्थ बैंक पनि यही १० को सूचीमा अटाएका छन् । यस दिन लगानीकर्ताको सम्पत्तिको बजार मूल्य २८ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।
२ सय ७ धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा १ सय १ को मूल्य बढेको र ८५ वटाको मूल्य घटेको छ । यस दिन पनि केही कम्पनीहरूको लाभांशले मूल्य समायोजन भएको छ । साधना लघुवित्त, नेपाल बैंक, कामना सेवा विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, वरुण हाइड्रो, साइन रेसुंगा डेभलपमेन्ट, साना किसान लघुवित्तलगायतको मूल्य समायोजन भएको हो ।
नाडेप लघुवित्त विकास बैंकको सेयर कारोबार रोक्का गरिएको छ । डिप्रोक्स लघुवित्तले प्राप्ति गर्न लागेसँगै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो ।
एनसिसी बैंकले ९ माघमा साधारणसभा बोलाएको छ । बैंकले १० दशमलव २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ । २१ पुसमा बैंकको बुक क्लोज रहेको छ ।