हाम्रा सरकारी अस्पतालमा बिरामीको जसरी उपचार गरिन्छ, त्यो हेरेर त्यहाँबाट सबै भाग्न खोज्नु स्वाभाविक हो
पछिल्लो तीन शताब्दीयता राज्य निकै शक्तिशाली भएर उदाएको छ । यो शक्तिले उसलाई नागरिकको जीवनमै दखल दिने असीमित अधिकार प्रदान गरेको छ । त्यसैगरी राजनीतिक सीमाभित्र बस्ने नागरिकका अपेक्षा पनि यति धेरै चुलिएका छन् कि सुरक्षा, यातायात, शिक्षा अथवा स्वास्थ्यजस्ता प्रत्येक मामिलामा ऊ राज्यको सकारात्मक हस्तक्षेपको अपेक्षा राखिरहेको हुन्छ । यो राज्यको प्रभावकारी दखलकै परिणाम हो कि कोभिड–१९ महामारीमा प्लेग, हैजा अथवा स्पेनिस फ्लुमा जस्तो अवस्था सिर्जना हुन सकेन । पुराना अनुभवका आधारमा एक दशकमा तयार हुने भ्याक्सिन पनि एक वर्षभन्दा पहिले नै निर्माण हुन सक्यो । भारतमा पनि पछिल्ला केही वर्षमा राज्य बलियो भएको छ र नागरिकका अपेक्षा पनि बढेका छन् ।
बितेका केही हप्तामा हजारौँ मान्छे लन्डनबाट भारत आए र आशंका गरिएअनुरूप तीमध्ये केहीमा कोरोना पोजेटिभ पनि देखियो । विमानस्थलमा उनीहरूको जाँचका लागि र संक्रमित बिरामीलाई अस्पतालसम्म लानका लागि एम्बुलेन्सको व्यवस्था पनि गरिएको थियो । तर, अमृतसर बेङलुर विमानस्थलमा जे भयो, त्यो भयावह थियो । दुनियाँको कुनै पनि सभ्य समाजमा आफू बिरामी अथवा संक्रमित भएको थाहा पाउने व्यक्ति जतिसक्दो छिटो डाक्टरको सम्पर्कमा जान चाहन्छ । यहाँ के भयो भने धेरैमा कोभिड संक्रमण भएको पत्ता लाग्यो, तर उनीहरू डाक्टरसँग मुख लुकाएर भाग्नतर्फ लागे । यो अविश्वसनीय व्यवहार बेलायतबाट फर्किएका नागरिकको थियो ।
निजी क्षेत्र मुनाफाका लागि मात्रै काम गर्ने भएकाले आममानिसका अप्ठ्यारा बढेका छन्, खासमा निजी अस्पताल, सरकारी शिक्षण अस्पताल र शिक्षण संस्थानहरू आममानिसको पहुँचबाहिर छन् ।
कोरोनाकाल कैयौँ अर्थमा देशको स्वास्थ्य सेवाका लागि चुनौतीजस्तै रह्यो । पहिलो चरणमै के थाहा भइसकेको थियो भने हामीले बितेका ७० वर्षमा चिकित्सा क्षेत्रमा आवश्यक लगानी गरेका छैनौँ । र, हाम्रो अवस्था कुनै ठूलो महामारीका वेला त्यसलाई थेग्ने खालको छैन । दोस्रो चरण ती उपकरणको अभावको पहिचान गर्ने थियो कि कुन संक्रामक रोगसँग लड्नका लागि उपयुक्त छन् । केही हप्तामै अस्पतालमा बेड, भेन्टिलेटर वा डाक्टरका लागि पिपिई किटजस्ता आवश्यक सामग्री त जोहो गरियो, तर ती प्रयोगमा ल्याउन सकिने खालका भने छैनन् ।
सन् ५०–६० को दशकमा कुम्भमेलामा फैलिएको हैजाको समयमा त्यसका सुई देखेर बिरामी भागेजस्तै अहिलेको अवस्था हुन गयो । यसलाई बुझ्नका लागि केही उदाहरण पर्याप्त छन् । उत्तर प्रदेशको राजधानी लखनउको सबैभन्दा प्रतिष्ठित चिकित्सा संस्थानमा राज्यका मुख्यमन्त्री र पूर्वक्रिकेटर चेतन चौहानमाथि अस्पतालकर्मीको यस्तो खाले व्यवहार भयो, उनीहरू त्यहाँबाट भाग्नै उचित हुने निर्णयमा पुगे । हाम्रा सरकारी अस्पतालमा बिरामीको जसरी उपचार गरिन्छ, त्यो हेरेर त्यहाँबाट सबै भाग्न खोज्नु स्वाभाविक हो । यो परिस्थिति बुझ्नका लागि पूर्वआइएएस अधिकारी र नामुद मानवअधिकारकर्मी हर्ष मन्दरको अनुभव पढ्नु नै उचित हुन्छ । हर्ष कोरोना बिरामीका रूपमा राजधानीको एउटा राष्ट्रिय महत्वको संस्थानमा भर्ना भए ।
मनै विचलित बनाउने उनको अनुभव सामाजिक सञ्जालमा डुलिरहेको छ । उनका अनुसार यी संस्थानका लागि बिरामी भेडाबाख्राभन्दा बढी केही पनि होइनन् । उनीहरूलाई वार्डरूपी जेलमा बन्द गरेर संस्थानका कर्मचारी हराउने गर्थे । होटेल बन्द भएपछि बेरोजगार भएका कैयौँलाई यस्ता संस्थानमा नियुक्त गरिएको छ, जो विनाकुनै प्रशिक्षण, पापी पेटका लागि बिरामीको जीवनसँग खेलबाड गरिरहेका छन् । प्रत्येक दुई दिनमा कुनै न कुनै समाचार च्यानलमा ज्ञान बाँड्दै गरेका निर्देशकहरूलाई सोध्नुपर्ने हुन्छ– तलबका रूपमा मोटो रकम बुझ्दै गरेका डाक्टर र नर्सहरूले बिरामीलाई हेर्न किन नमानेका होलान् ? यदि महँगो सुरक्षा उपकरण लगाएर पनि यिनको ज्यान जोखिममा छ भने अस्पतालकर्मीले कसरी बिरामीलाई हेर्न सक्छन् ?
भारतीय नागरिकको राज्यप्रति अपेक्षा र राज्यका संस्थाबाट प्राप्त हुने निराशा दिन–प्रतिदिन यसकारण पनि बढिरहेको छ, किनभने लोकतन्त्रले उनीहरूको आकांक्षा बढाइदिएको छ । तर, त्यसै स्तरमा कुनै पनि संस्थाको विकास हुन सकेको छैन । आमजनता अहिले पनि याचक नै हुन् । प्रहरीले साधारण मानिससँग दुव्र्यवहार गर्ने गर्छ । न्यायालयले मुद्दा लिन मान्दैन । सरकारी कार्यालयमा कर्मचारी ढिला नै आउने गर्छन्, त्यसमा कसैलाई पनि आश्चर्य लागेको छैन । निजी क्षेत्र मुनाफाका लागि मात्रै काम गर्ने भएकाले आममानिसका अप्ठ्यारा बढेका छन्, खासमा निजी अस्पताल, सरकारी शिक्षण अस्पताल र शिक्षण संस्थानहरू आममानिसको पहुँचबाहिर छन् ।
(लेखक पूर्वआइपिएस अधिकारी हुन्)
हिन्दुस्तानबाट