सरकारविरुद्ध चार कम्युनिस्ट पार्टीको मोर्चाबन्दी, विदेशीको इसारामा प्रतिनिधिसभा विघटन गरेको दाबी

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

विदेशीको इसारामा प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै चार कम्युनिस्ट पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेका हुन् । ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको उनीहरूको ठहर छ । 

चार पार्टीको प्रेस वक्तव्य जस्ताको तस्तै
संविधानसभाले निर्माण गरेको भनिएको वर्तमान संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, दमन र उत्पीडन गर्दै आएको छ । 
कथित नयाँ संविधानअनुसार भएको चुनावबाट खड्गप्रसाद ओलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको छ । वर्तमान सत्ता, व्यवस्था र सरकारले गर्दै आएका जनघात, राष्ट्रघात र चरम भ्रष्टाचारी कदमहरूको हामीले विरोध र प्रतिवाद गर्दै आएका छौँ । त्यही क्रममा संसदीय राजनीतिले मान्दै आएको दुईतिहाइ बहुमत रहेको भनिएको कम्युनिस्टको खोल ओढेको केपी सरकारले पुस ५ गते संसद् विघटन गरेको छ । पछिल्ला घटनाहरूप्रति हामी तपसिलका पार्टीहरूको गम्भीर ध्यानाकर्षण भएको छ । 

१. वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवी जनताबीचको अन्तर्विरोध चर्किंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पुँजीवादका विभिन्न गुटहरूका बीचमा पनि अन्तर्विरोध चर्कंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ रहेको छ । 

२. केपी ओलीको कदम निरंकुश एवं फासीवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो । 

३. अहिले देश र जनताले भोगेका समस्याको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र–वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।

४. केपी वली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी चार पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ । 

विप्लव  
महासचिव, नेपाल कम्युनिस्ट पार्टी

किरण 
महासचिव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

ऋषिराम कट्टेल                         
 अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी   

आहुति

संयोजक,  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी

मिति : १४ पुस, २०७७

सुझावित समाचार