नोभेम्बरमा चुनिनुअघि जो बाइडेनले ‘परिवर्तनको उनको सूत्र’ अर्थतन्त्रलाई सुधार गर्नका लागि ‘गरिबी अन्त्य’ गर्नु हुने बताएका थिए । उनले १५ डलर न्यूनतम ज्यालाको पक्षमा प्रतिबद्धता जनाएका थिए । त्यस्तै, उनले सम्पूर्णको पहुँच हुने स्वास्थ्य सेवा ल्याउन तथा संरचनात्मक विभेदलाई सम्बोधन गर्न संघीय कदम चाल्ने वचन दिएका थिए । आर्थिक संकट, महामारी तथा नश्लीय न्यायको माग भएको समयमा न्यून आय भएका अफ्रिकी–अमेरिकी, एसियाली, ल्याटिन समुदाय मात्र होइन, श्वेत अमेरिकीहरूले पनि बाइडेनलाई उल्लेख्य मत दिएर जिताउन सघाए ।
डेमोक्रेट्सले कंग्रेसनल क्षेत्रमा ट्रम्पको मतमा वृद्धि भएको बताइरहेका छन् । त्यस्तै, केहीले बाइडेन प्रशासनले रिपब्लिकनहरूको मागमा सम्झौता गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गरेका छन् । तर, बाइडेन तथा ह्यारिसको जितमा आर्थिक तथा नश्लीय न्यायको माग गर्ने विभिन्न समुदायको ठूलो भूमिका छ । तिनको सहयोगका लागि दुई नेताले साहसी नीति ल्याइनुपर्छ ।
सन् २०१६ को तुलनामा कम्तीमा ६० लाखभन्दा बढी न्यून आय भएका मानिसले यस निर्वाचनमा मत हाले । प्रारम्भिक मतसर्वेक्षणअनुसार घरको कुल आय ५० हजार डलरभन्दा कम आय हुनेबाट बाइडेनले ११.५ बिन्दुले अग्रता लिएको देखाएको थियो । जुन अघिल्लो चुनावभन्दा ३० प्रतिशतले बढी हो । मतदाताहरूले धनाढ्यमाथिको कर बढाउने, श्रमिकको सुरक्षा गर्ने, घरबारसम्बन्धी मुद्दा सम्बोधन गर्ने र घरबारविहीनताको सम्बोधन गर्ने, यातायातमा लगानी, गरिबीको अपराधीकरण सम्बोधन गर्नेजस्ता कम्तीमा १४ चुनावी अग्रसरतालाई पनि समर्थन जनाए । देशभरका मतदाताले स्वास्थ्य सेवा, जीवन धान्ने ज्याला तथा तिनको समुदायको अपराधीकरण गर्ने प्रवृत्ति रोक्ने माग गरेका छन् । ६३ प्रतिशत अमेरिकी सबैलाई स्वास्थ्य सेवा पुर्याउने जिम्मेवारी सरकारको भएको बताउँछन् । मिचिगन, पेन्सिलभेनिया तथा नेभाडा राज्यका बाइडेनका समर्थकमध्ये दुईतिहाइले संरचनात्मक नश्लवाद ठूलो समस्या भएको बताए । उही दरका अमेरिकीले १५ डलरको न्यूनतम ज्यालाको समर्थन गरेका छन् ।
अमेरिकाका झन्डै १४ करोड जनसंख्या विपन्न र न्यून धनयुक्त नागरिक छन्, यो समूहलाई सहयोगको अत्यन्त आवश्यकता देखिन्छ । मेदेखि यता मात्रै कम्तीमा ८० लाख मानिस गरिबीको रेखामुनि पुगेका छन् । घरबार मूल्य तिर्न नसकेर आगामी महिनाहरूमा घरबाट निकालिन सक्ने अमेरिकीको संख्या त्योभन्दा बढी हुनेछ । न्यून आय भएका परिवारले ठूलो संख्यामा रोजगारी गुमाएका छन् । त्यसैले अहिले ठूलो संख्यामा मानिसले दशकौँसम्म लागू भएर धेरै मानिसलाई असफल बनाएको नवउदारवादी ट्रिकल–डाउन नीतिविरुद्ध मत जाहेर गरे ।
सन् २०२० को चुनावी मतलाई सम्मान गर्ने हो भने बाइडेन र ह्यारिसले बजेट कटौतीको राजनीतिलाई अस्वीकार गर्नुपर्छ । त्यसपछि तिनले मानवीय आवश्यकता पूर्ति गर्ने नीतिहरूप्रतिको तिनको प्रतिबद्धता पूरा गर्नुपर्छ । हुन त जर्जियामा हुन लागेको सिनेट चुनावले डेमोक्रेट्सहरूले सिनेटमा बहुमत पाउँछन् कि पाउँदैनन् भन्ने निर्धारित गर्छ । तर पनि नयाँ प्रशासनले ठूलो संख्याका अमेरिकीहरूको जीवनस्तर सुधार्ने नीतिप्रति बलियो अडान प्रस्तुत गर्न सक्छ । हामीलाई कोरोना भाइरसबाट सबैभन्दा प्रभावित अश्वेत, आदिवासी, गरिबलक्षित रिलिफको आवश्यकता छ । त्यसका अतिरिक्त असमानताको मूल जरोलाई सम्बोधन गर्ने कार्यक्रमको पनि आवश्यकता देखिन्छ ।
यो प्रशासनले गरिबी मापन गर्ने नयाँ विधि ल्याउनुपर्ने देखिन्छ । अबका दिनमा शिक्षा, आवास तथा यातायातको खर्चलाई पनि ध्यान दिएर गरिबीको संख्या निकाल्नुपर्छ । यसले संघीय रोजगारी कार्यक्रम, विद्यार्थीलाई ऋण मिनाहा गर्ने कार्यक्रम सुरु गर्नुपर्नेछ ।
केहीले कोरोना भाइरसका कारण अर्थतन्त्र कमजोर भएकाले सरकारले महत्वाकांक्षी कार्यक्रम ल्याउन नसक्ने भन्नेछन् । तर, यस्तो कार्यक्रम नल्याउँदाको जोखिम झन् उच्च हुनेछ । ट्रम्प प्रशासनले अति धनीले तिर्ने करको दरमा कटौती गर्नेदेखि अमेरिकी कर्पोरेसनलाई सघाउन सहायता रकम दियो । ठूलो संघीय लगानीले स्टक बजार उचालिएको हामीले देख्यौँ । अब उही स्तरको लगानीले अमेरिकी जनताको जीवनस्तर उचालिएको हेर्ने समय आएको छ ।
हरेक देशको स्वास्थ्य त्यहाँको सबैभन्दा कमजोर मानिसको कल्याणसँग जोडिएको हुन्छ । यो देशका करोडौँ विपन्न तथा न्यून आय भएका मानिसले यो वर्ष आफ्नो मत जाहेर गरे । अब अमेरिकाको नेतृत्वमा आएका बाइडेन र ह्यारिसले तिनको भलाइका लागि बलियो कार्यक्रम ल्याउने साहस गनुपर्छ ।
विलियम बारबर र लिज थिओह्यारिस पुअर पिपुल्स क्याम्पेनका सह–अध्यक्ष हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य