ट्रम्पले किन चुनावी परिणाम उल्टाउन सकेनन्

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

ट्रम्प अन्य तानाशाही प्रवृत्तिका नेताभन्दा कम लोकप्रिय र राजनीतिक हिसाबले पनि तुलनात्मक रूपमा कमजोर थिए 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावी परिणाम किन उल्टाउन सकेनन् भन्नेमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । केहीले ट्रम्पका आधारहीन दाबीलाई अस्वीकार गर्ने न्यायाधीशले ट्रम्पको प्रयासलाई असफल बनाएको बताएका छन् । अर्काथरीले अमेरिकाका निर्वाचन अधिकारी, न्यायाधिवक्ता तथा निजामती कर्मचारीले महत्वपूर्ण समयमा विधिको शासनमा अडिग रहेकाले ट्रम्प सफल हुन नसकेको बताएका छन् । एउटा अर्को विश्लेषणअनुसार ट्रम्पको अक्षमताका कारण यो कार्य सुरुदेखि नै असफल हुने पक्का थियो । तर, यी धारणामा एउटा महत्वपूर्ण पाटो छुटिरहेको छ । चार वर्षदेखि प्रजातान्त्रिक मूल्यमा क्षति पुर्याउने ट्रम्पको प्रयास किन असफल भयो ? ट्रम्प अन्य तानाशाही प्रवृत्तिका नेताभन्दा कम लोकप्रिय र राजनीतिक रूपमा पनि तुलनात्मक रूपमा कमजोर थिए । लोकप्रियता कम भएका केही राजनीतिज्ञले पनि लोकतन्त्रमा क्षति नपुर्याएका होइनन् । तर, आधुनिक कालमा तानाशाही हुने मार्गमा रहेका अधिकांश नेता जनमानसमा अत्यधिक लोकप्रिय हुन्छन् । यही लोकप्रियताको बलमा तिनले विधायिकीमा अत्यधिक मत हासिल गर्छन् ।

जनमतको बलमा उनीहरू प्रतिपक्षीहरूलाई धम्काउनसमेत सक्छन् । बिस्तारै संस्थागत सन्तुलन कमजोर हुँदै जान्छ । एक अलोकप्रिय नेताले चुनावलाई अमान्य गराउन खोज्दा त्यति लोकतन्त्रमा जोखिम पर्दैन, जति एक लोकप्रिय नेताले तत्कालीन लोकप्रियतालाई प्रयोग गेर दिगो संस्थानमा धक्का पुर्याउँदा पर्छ । हंगेरीका तानाशाह भिक्टर ओरबन, टर्कीका रिसेप तयप एर्दोगान, भेनेजुयलाका ह्युगो चाभेज र रुसका भ्लादिमिर पुटिन सबै नेता लोकतान्त्रिक चुनावबाट सत्तामा आएका थिए । तर, तिनले आफ्नो लोकप्रियताको बलमा देशको प्रजातान्त्रिक नियन्त्रण र सन्तुलनको स्थिति बिगारे । ओर्बनको पार्टीले सन् २०१० मा संसद्मा दुईतिहाइ बहुमत हासिल गर्यो । त्यही बलमा उसले न्यायपालिका र केन्द्रीय बैंकलाई कमजोर बनाउने कदम चाल्न थाल्यो । त्यस्तै त्यहाँ प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने राज्य निकाय पनि बनाइए । 

शासक अत्यधिक लोकप्रिय छैनन् भने संसद्, न्यायाधीश, सेना तथा ठूला व्यवसायीले तिनलाई पूर्ण रूपमा साथ दिँदैनन्, ट्रम्पलाई अन्य समकालीन पपुलिस्ट नेताजस्तो लोकप्रिय जनमत तथा एलिटको पूर्ण समर्थन थिएन 
 

सन् २०१६ को असफल कुपछि एर्दोगानले ६८ प्रतिशतको आमस्वीकृति दर र संसद्को बलियो स्थितिलाई प्रयोग गरेर संवैधानिक परिवर्तन गरे । त्यस्तै सन् २०१७ मा एर्दोगानले जनमत संग्रह गराएर प्रधानमन्त्रीबाट राष्ट्रपतिमा अधिकार प्रत्यायोजित गरे । अब उनी सन् २०२९ सम्म शासनमा रहने बाटो खुलेको छ । 

सत्तामा आएको पहिलो वर्ष ह्युगो चाभेजको जनसमर्थन ८० प्रतिशत थियो । त्यसलाई प्रयोग गरेर उनले संविधानमा बदलाव ल्याए । यस बदलावले उनको कार्यकारी अधिकार उलेख्य बढ्यो । चाभेजले संविधान संशोधनको अधिकार दिइएको नयाँ राष्ट्रिय संविधानसभा आफ्ना समर्थकले भरिदिए । त्यस सभाले गरेको परिवर्तनमध्ये एउटा प्रावधानले राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाउने पनि थियो । त्यस्तै नेसनल एसेम्बलीको एक अंग भंग नै गरियो । पहिलो कार्यकालमा भ्लादिमिर पुटिनप्रतिको जनसमर्थन औसतमा ७४ प्रतिशत थियो । सन् २००४ मा उनी ठूलो मतले पुनः निर्वाचित भएका थिए । त्यसपछि उनले निर्वाचनका नियममै बदलाव गरेर विपक्षीहरूलाई नै कमजोर बनाए र क्रेमलिनमा राजनीतिक शक्ति केन्द्रित गरे । सोही समयमा तेलको मूल्य आकासिँदा रुसको आर्थिक वृद्धिमा उलेख्य वृद्धि भयो । एकातर्फ लोकप्रियता बढ्ने, अर्कोतर्फ प्रतिपक्षी कमजोर हुँदै जाने हुँदा ती नेताले आफ्ना राजनीतिक सहयात्रीलाई समेत डरधम्कीमा राख्न सके । बिस्तारै न्यायालय पनि कमजोर हँुदै जाने र मिडियाको अधिकार कटौती हुँदै जाने अवस्था सिर्जना भयो । 

यदि शासक त्यति लोकप्रिय छैनन् भने संसद्, न्यायाधीश, सेना तथा ठूला व्यवसायीले तिनलाई पूर्ण रूपमा साथ दिँदैनन् । केही हदसम्म ट्रम्पमा पनि उल्लिखित नेतामा जस्तै खुला प्रेस तथा कार्यकारी शक्तिमाथिको सन्तुलनमाथि हस्तक्षेप गर्ने चाहना देखिन्थ्यो । तर, उनमा अन्य समकालीन तानाशाही नेतामा जस्तै लोकप्रिय जनमत तथा एलिटको समर्थन थिएन । 

तर, विगत चार वर्षमा ट्रम्पको निगरानीमा लोकतन्त्रमाथिको क्षतिलाई नजरअन्जाद गर्न सकिँदैन । अन्य चिजका अतिरिक्त, ट्रम्प र उनका रिपब्लिकन समर्थकले देशमा भ्रष्टाचार तथा नातावादलाई व्यापक बढाए । त्यस्तै उनीहरूले सार्वजनिक बहसलाई नै दूषित बनाउने काम गरे । अमेरिकी चुनावमा पहिले नभएको स्तरमा बाह्य हस्तक्षेप माग भएको देखियो । त्यस्तै राष्ट्रपतीय माफीको अधिकारको व्यापक दुरुपयोग भयो । नोकरशाहको अमेरिकी इतिहासमै सबैभन्दा ठूलो राजनीतीकरण भयो । त्यस्तै चुनावको हार तत्कालै स्विकार्न नमान्ने ट्रम्पको शैली धेरै तानाशाहीका लागि सुमधुर लाग्न सक्छ । यी सबका बाबजुद प्रजातन्त्रलाई कमजोर बनाउने ट्रम्पको प्रयास असफल भयो । वास्तवमा लोकतन्त्रमा जनअभिमत तथा राजनीतिक शक्ति उदाउँदो तानाशाहलाई नियन्त्रण गर्ने सबैभन्दा ठूलो अस्त्र हो । 

(टिमोथी फ्रे कोलम्बिया विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्)
सिएनएनबाट

सुझावित समाचार