नेपाली सेना, सशस्त्र प्रहरी र चितवन राष्ट्रिय निकुञ्जको टोलीले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न रहेका तीनजनालाई अखेटोपहारसहित पक्राउ गरेको छ । निकुञ्जमा सञ्चालित ‘अपरेशन महाहन्ट’अन्तर्गत खटिएको संयुक्त टोलीले उनीहरूलाई कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।
नेपाली सेनाका अनुसार उनीहरू सालकको खपटा अन्दाजी ३७५ ग्राम र सुकुटी अन्दाजी ३०० ग्रामसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चितवन माडीका ५६ वर्षीय केशरबहादुर तामाङ र शुक्रप्रसाद तामाङ तथा पञ्चलाल प्रजा छन् । प्रजा विगतमा चितुवा मारी चितवन राष्ट्रिय निकुञ्जको फरार प्रतिवादीको सूचीमा थिए ।
‘अपरेशन महाहन्टअन्तर्गत भइरहेका प्रयासहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरूको सुरक्षा थप प्रभावकारी भई चोरी सिकारीका घटनाहरू नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।