मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी
प्रदेश १ सरकारका तीनजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रचण्ड-नेपाल समूहका तीनजना मन्त्रीले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिएका मन्त्रीहरूले मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा बस्न नैतिकताले नदिएकाले पदबाट राजीनामा दिनुपरेको बताएका छन् । राजीनामा दिनेहरूमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन् ।
सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले आइतबार बिहान राजीनामा दिएका हुन् ।
आफूविरुद्ध हस्ताक्षर अभियान चलाएको भन्दै मुख्यमन्त्री राईले शनिबार प्रचण्ड-नेपाल समूहका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए ।
प्रदेश १ सरकारमा मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, उद्योग वन तथा वातावरणमन्त्री जगदीश कुसैत, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ओली समर्थक हुन् ।
झलनाथ खनालनिकट मानिने कृषि, भूमि तथा सहकारी राज्यमन्त्री राम रानाले पनि राजीनामा दिएका छैनन् । प्रदेश १ सभामा आज प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको छ ।
