रामचन्द्र पौडेलको आग्रह–ओलीले सहीसलामत चुनाव गराउँदैनन्, जनप्रदर्शनमा उत्साहजनक सहभागी बनौँ

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सहीसलामत चुनाव नगराउने भन्दै देशव्यापी जनप्रदर्शनमा उत्साहजनक सहभागी बन्न आग्रह गरेका छन् । 

उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘अब हामीलाई उहाँ (प्रधानमन्त्री)ले देशमा सहीसलामत चुनाव गराउनुहुन्छ भन्ने पनि विश्वास छैन । बरु न्यायमूर्तिहरूबाट असंवैधानिक कदमलाई सच्याई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु । अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस् भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ।  सम्पूर्ण साथीहरूलाई उत्साहजनक सहभागिताका लागि अनुरोध गर्दछु ।’

पौडेलले ओलीको संविधानवाद र लोकतन्त्रउपर विश्वास नदेखिएको समेत बताएका छन् । उनले भनेका छन् ‘उहाँ (ओली)ले हालै लगातार चालेका तीनवटै कदम संविधानको मर्म र भावनाविपरीत छन् । अध्यादेशद्वारा संवैधानिक परिषद्को ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरू आफूअनुकूल बनाउने लुकीचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदैनदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरि कामचलाउ मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लंघन गर्नुभयो ।’
 

सुझावित समाचार