चार वर्षपछि धितोपत्र बोर्डले सेयर ब्रोकरहरूले पाउने कमिसनमा ३३ प्रतिशत घटाएको छ । कारोबार रकमका आधारमा विभिन्न दर भए पनि यसअघि औसत शून्य दशमलव ५ प्रतिशत कमिसन तिर्दै आएका लगानीकर्ताले अब शून्य दशमलव ३३ प्रतिशत तिरे पुग्ने भएको हो । आइतबारबाट नयाँ कमिसन दर लागू हुनेछ ।
‘हामीले सेयर किन्दा पनि, बेच्दा पनि कमिसन तिनुपर्छ,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘अहिले ८५ प्रतिशतले अनलाइनमार्फत सेयर कारोबार गर्छन्, राफसाफको काम पनि विद्युतीय रूपमै भइरहेकाले ब्रोकरको संलग्नता निकै कम छ, त्यसैले पनि अझै घट्नुपर्छ भन्ने हो ।’
लगानीकर्ताले एकमुस्ट सेयर किन्न आदेश दिँदासमेत टुक्रेर आउने र यसले पटक–पटक कमिसन तिर्नुपर्ने अवस्था रहेको रौनियार बताउँछन् । सेयर बजारमा रहेका अन्य लगानीकर्ता संघहरू पनि नयाँ निर्णयबाट सन्तुष्ट छैनन् । ‘अहिले प्राथमिक सेयरमा मुस्किलले १० कित्ता पर्छ, त्यस्ता सेयर कारोबार गर्ने लगानीकर्तालाई अहिलेको दर उच्च भयो,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, ‘बरु, धेरै रकमको कारोबारमा धेरै र कम रकमको कारोबारमा कम दर लगाइदिएको भए हुन्थ्यो ।’
हाल लगानीकर्ताले न्यूनतम शून्य दशमलव ४ देखि शून्य दशमलव ६ प्रतिशतसम्म कमिसन तिर्नुपर्छ । अब भने न्यूनतम शून्य दशमलव २७ देखि शून्य दशमलव ४ प्रतिशतसम्म तिर्नुपर्ने भएको छ । ऋणपत्रको कारोबारमा भने शून्य दशमलव शून्य २ देखि शून्य दशमलव १० प्रतिशत र सामूहिक लगानी कोषको इकाइको करोबारमा शून्य दशमलव १० देखि शून्य दशमलव १५ तिर्नुपर्ने भएको छ ।
ब्रोकर कमिसनबापत नेप्सेले र धितोपत्र बोर्डले पाउने कमिसन दर भने यथावत् छ । कमिसनबाट उठेको रकममा धितोपत्र बोर्डले ०.६ प्रतिशत, नेप्सेले १९ प्रतिशत र सिडिएससीले १ प्रतिशत पाउँछन् । ब्रोकरहरूले समेत आफ्नो दर मात्र घटाएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हामीले पाउने मात्र घट्ने रहेछ,’ ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले भने, ‘हामीले अहिलेको दरमा चलुन्जेल चल्ने र चल्न नसक्ने अवस्थामा सेवा बन्द गर्नुको विकल्प रहेन ।’
ब्रोकरहरूले आफूले पाउने कमिसन रकममा ३० प्रतिशतसम्म आय कर तिर्नुपर्ने भएकाले अहिले निर्धारण गरिएको दरले व्यवसाय सञ्चालन गर्न समस्या पर्ने बताएका छन् । पछिल्ला साताहरूमा बजारमा दैनिक औसत ६ अर्ब रुपैयाँसम्म सेयर कारोबार हुने गरेको छ । लगानीकर्ताले कमिसन मात्रै करिब ६ करोडभन्दा बढी तिर्नुपरेको थियो । कमिसनबाट उठेको रकममा धितोपत्र बोर्डले ३ लाख ७२ हजार, नेप्सेले १ करोड १८ लाख १९ प्रतिशत र सिडिएससीले ६ लाख २१ हजार पाउँदै आएका छन् ।