शुक्रबार दिनभरका मुख्य खबर

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

सरकारी अस्पतालका शय्या खाली, तर बिरामीलाई सधैँ सास्ती

देशभरका १५ सरकारी अस्पतालका ४४.३६ प्रतिशत शय्या सधैँ खाली हुने भएपनि बिरामीले भने शय्या नपाएर हैरानी ब्यहोर्दै आएका छन्

संघीय सरकारमातहत देशभर १५ वटा अस्पताल छन् । तीमध्ये अधिकांशमा तीन सयभन्दा बढी शय्या छन् । विपन्न, असहाय र अशक्त बिरामीले सेवा लिने ती अस्पतालका औसत ४४ दशमलव ३६ प्रतिशत शय्या भने वर्षभरि खाली रहन्छन् । शय्या खाली भएर के भो त, कर्मचारीले सधैँ भरिएको बताउँछन् र विपन्न बिरामी महँगा निजी अस्पतालतिर दौडिन बाध्य हुन्छन् । देशभरका १५ वटा सरकारी अस्पतालमा चार हजार तीन सय ३७ वटा शैय्या छन् । तीमध्ये एक हजार नौ सय २४ वटा शय्या वर्षैभरि खाली देखिएका छन् । ५५ दशमलव ६४ प्रतिशत शय्या मात्र भरिएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २५–२९ मंसिरमा सम्पन्न वार्षिक समीक्षामा प्रस्तुत तथ्यांकमा यो तथ्य देखिएको छ । 

राज्यमन्त्री रामवीर मानन्धरले लामो समय गीत गाएर रेकर्ड राखे

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्वरेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार चार घन्टा पाँच मिनेट २० सेकेन्ड समय गीत गाएर  विश्वरेकर्ड कायम गरेका हुन् । उनले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्र हलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्वरेकर्ड कायम गरेका हुन् । मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्वरेकर्ड कायम गरेका छन् । 

मन्त्रिपरिषद् हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषदबाट बिदा भएका छन् । थपिएका र जिम्मेवारी हेरफेर भएका मन्त्री :

टोपबहादुर रायमाझी-ऊर्जा
मणि थापा- खानेपानी
प्रभु साह- सहरी विकास
प्रेम आले- वन 
गणेश ठगुन्ना- सामान्य प्रशासन 
गौरीशंकर चौधरी- श्रम
दावा लामा- युवा तथा खेलकुद
जुलीकुमारी महतो- महिला, बालबालिका
विमला विश्वकर्मा- उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन  (जिम्मेवारी हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य  (जिम्मेवारी हेरफेर)
लीलानाथ श्रेष्ठ- कानुन (जिम्मेवारी हेरफेर)
शिवमाया तुम्बाहाङ्फे- भूमिसुधार (जिम्मेवारी हेरफेर)
पद्मा अर्याल- कृषि (जिम्मेवारी हेरफेर)
कृष्णगोपाल श्रेष्ठ- शिक्षा (जिम्मेवारी हेरफेर)

कुन पक्ष आधिकारिक हो ? निर्वाचन आयोगको निर्णयको प्रतीक्षा : नेकपा प्रचण्ड–नेपाल समूहले २९७ केसको हस्ताक्षर बुझायाे

नेकपा प्रचण्ड–नेपाल समूहले दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेकपाको आधकिारिक पक्ष आफूहरू रहेको दाबी पेस गरेको छ । नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले आयोगको कार्यालय पुगेर पत्र बुझाएका हुन् । पत्रमा दुई सय ९७ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षर रहेको प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी दिइन् ।

संसद् विघटनको कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सरकारका नाममा संसद् विघटनको कारण देखाऊ आदेश जारी गरेको छ । आज संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । इजलासले मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनका लागि सिफारिसका लागि गरेको निर्णयसहित उपस्थित हुन आदेश दिएको छ । साथै अविश्वासको प्रस्तावका लागि पेस भएका कागजातका साथै कुन प्रक्रियाद्वारा अविश्वासको प्रस्ताव दर्ता भएको छ त्यो पनि मगाउन अदालतले आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘नेपाल बार एसोसिएसनबाट तीनजना र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुईजना वरिष्ठ अधिवक्ता र अधविक्ताहरु मध्येबाट अदालतको सहयोगी ‘एमिकस क्युरी’ माग गर्नु ।'

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव : नेकपाका ८० मध्ये ४५ सहभागी (नामावलीसहित)

केन्द्रमा नेकपा विभाजन भएसँगै प्रदेशमा पनि यसको परकम्प बनेर देखापर्न थालेको छ । बागमती प्रदेशका नेकपाका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । जसमा नेकपाका प्रदेशमा रहेका कुल ८० सांसदमध्ये ४५ जना सांसदले हस्ताक्षर गरेका छन् । जुन ५९ प्रतिशत संख्या हो । प्रदेशमा कुल एक सय १० सांसद छन् । त्यसमध्ये ८० जना नेकपाबाट विजयी भएका हुन् । अविश्वास प्रस्तावविरुद्ध हस्ताक्षर गर्ने र नगर्ने सांसदको नामावली –

बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटनमन्त्री अरुण नेपालले सामूहिक राजीनामा दिएका हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पूरा गऱ्याे पाँच वर्ष, अझै पूरा हुन सकेन भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण

०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पहरूबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ । यस पाँच वर्षको अवधिमा भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अझै पूरा हुन भने सकेको छैन । यो अवधिमा प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा ठूलो संख्यामा भूकम्प प्रतिरोधी संरचनाहरू तयार पारिसकेको जनाएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म निजी आवासको पुनर्निर्माणको काममा ९० प्रतिशतभन्दा बढी प्रगति भएको छ । अन्य संरचनाहरूको पुनर्निर्माणमा पनि उल्लेख्य प्रगति भएको प्राधिकरणको भनाइ छ । 

क्युआर कोडमार्फत देशभरका तरकारी बजारमा तरकारी खरिद गर्न सकिने

नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडको प्रयोग गर्ने अभियान सुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरूमा क्युआर कोडबाट भुक्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशैभरका तरकारी बजारमा क्युआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताए  । 

कांग्रेस बैठक १९ पुससम्म स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आठ दिनका लागि स्थगित भएको छ । प्रतिनिधिसभा विघटन भएपछि आधिकारिक धारणा र रणनीति बनाउन गत मंगलबारदेखि जारी बैठक १९ पुससम्मका लागि स्थगित भएको हो । अब अर्को बैठक १९ पुसको दिउँसो १ बजे बस्नेछ । बैठकले सरकारले गरेको कार्य असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भएको भन्दै त्यसका विरुद्ध सोमबार एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको छ । यस्तै, १६ पुसमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवससमेत देशैभरि विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबारको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. मीनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाईं र कल्पना चौधरीले धारणा राखेका छन् । 

केपी ओली गणतन्त्रविरोधी मान्छे हो : नेपाल  (भिडियोसहित)

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली गणतन्त्रविरोधी भएको बताएका छन् ।

प्रचण्ड भने- न्यायालयले संविधानको मर्म र जनभावनाविपरीत निर्णय गर्दैन (भिडियोसहित)

प्रचण्ड-नेपाल नेतृत्वकाे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयले संविधानको मर्म र जनभावनाविपरीत निर्णय नगर्ने बताएका छन् । 

कोभिडलाई कारण देखाएर खेल नरोक्ने एन्फाको भनाइ

विश्वभर महामारीको रूप लिएको कोभिड– १९ को असर नेपाली फुटबलमा पनि देखियो । चैत ४ बाट रोकिएको ‘बी’ डिभिजन लिग सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो देखाइसकेको छ । सँगै ‘सी’ डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्नेसमेत बताएको छ । सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट सुरु हुने सर्वविदित नै भएको छ । 

कारकाे बाम्बारी कब्जा गर्ने विद्रोहीको प्रयास नेपाली सेनाद्वारा असफल

नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)को चौथो ठूलो सहर बाम्बारीलाई कब्जा गर्ने विद्रोहीको प्रयासलाई असफल बनाइदिएका छन् । यही १२ पुसमा हुने आमनिर्वाचनमा पूर्वराष्ट्रपति फ्रान्सोइस बोजिजे उम्मेदवार हुनबाट वञ्चित भएपछि सुरु भएको विद्रोहले उग्र रूप लिँदा सहर कब्जा गर्ने कोसिस भएको थियो । बाम्बारी सहर नियन्त्रण गर्ने प्रयास शान्ति सैनिकहरूले असफल पारेका हुन् । कारमा नेपाली सेनाको रणशेर गण शान्ति स्थापक मिसनमा खटिएको छ । सेनाका प्रमुख सेनानी मीनराज तिवारीको नेतृत्वमा एक सय २० जना सैनिक प्रहरी (एमपी) कार्यरत छन् । त्यसबाहेक ११ जना स्टाफ अफिसर र पाँचजना सैन्य पर्यक्षकसमेत कारस्थित शान्ति स्थापक मिसनमा कार्यरत छन् । 

घरधनीलाई ढोका थुनेर घरमा गरियाे आगलागी

सुन्दरहरैँचा नगरपालिका– १० को एक घरमा घरधनीलाई कोठामा थुनेर चोरले आगो लगाएका छन् । सन्तोष थापाको ४ तले घरमा राति १२ः४५ बजेतिर चोरले आगो लगाएको पारिवारिक स्रोतले जनाएको छ । थापाको घरको चौथो तलामा टिन लगाइएको छ । टिन काटेर भित्रबाट लगाएको ताला खोलेर चोर घरमा प्रवेश गरेको सुन्दरहरैँचा– १० का वडा सदस्य नगेन्द्रप्रसाद सुवेदीले बताए । उनका अनुसार चोरले बैठक कोठामा पसेर केही सामग्री झिकेर परिवार सुतिरहेको कोठामा बाहिरबाट ढोकाको चुकुल लगाएर आगो लगाई प्यासेजको ढोका खोलेर भागेका थिए । 

सुझावित समाचार