कांग्रेस बैठक १९ पुससम्म स्थगित

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण
कांग्रेस बैठक १९ पुससम्म स्थगित

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आठ दिनका लागि स्थगित भएको छ । प्रतिनिधिसभा विघटन भएपछि आधिकारिक धारणा र रणनीति बनाउन गत मंगलबारदेखि जारी बैठक १९ पुससम्मका लागि स्थगित भएको हो । अब अर्को बैठक १९ पुसको दिउँसो १ बजे बस्नेछ । 

बैठकले सरकारले गरेको कार्य असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भएको भन्दै त्यसका विरुद्ध सोमबार एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको छ । 

यस्तै, १६ पुसमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवससमेत देशैभरि विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबारको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. मीनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाईं र कल्पना चौधरीले धारणा राखेका छन् । 

मंगलबारबाटै बैठक सुरु भए पनि सरकारको कदमविरुद्ध विरोध कार्यक्रम गर्ने वा नगर्ने भन्ने मतभेदका कारण बैठकको तेस्राे दिन बिहीबार मात्रै विरोधका कार्यक्रम गर्ने निर्णय भएको थियो । 

केन्द्रीय समिति बैठकमा बोल्न चाहने नेताहरूलाई समयसीमा निर्धारण नगरी बोल्न दिएका कारण कांग्रेसको बैठक लम्बिएको हो । सोमबार कांग्रेसले देशैभरि संसदीय निर्वाचन क्षेत्रस्तरीय समितिको आयोजनामा सडकमा विरोध प्रदर्शन र विरोध सभा गर्ने कार्यक्रम राखेको छ । 

सुझावित समाचार