कोरोना ठीक भएको कम्तीमा ६ महिनासम्म पुनः संक्रमण हुँदैन : अध्ययन

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणमुक्त अर्थात् संक्रमण निको भएका व्यक्तिहरूमा कम्तीमा ६ महिना पुनः संक्रमणको जोखिम नहुने अध्ययनबाट देखिएको छ । यो अवस्था भनेको कोरोना भाइरसविरुद्धको खोप लगाएपछिको अवस्था जत्तिकै हुने अध्ययनको निष्कर्ष छ । 

अमेरिकी राष्ट्रिय क्यान्सर संस्थानका निर्देशक डा. नेड सार्पलेसका अनुसार अध्ययनकर्ताले कोरोनामुक्त हुने व्यक्तिको शरीरमा एन्टिबडीको मात्रा प्रचुर रहेको पाएका थिए । जसका कारण कम्तीमा पनि ६ महिना उनीहरूमा कोरोना संक्रमण हुने सम्भावना रहँदैन । यसले खोपकै बराबरको काम गर्ने उनको भनाइ छ ।

अध्ययनका क्रममा दुई तरिकाको परीक्षण गरिएको थियो । पहिला एन्टिबडीको लागि रगत जाँच र दोस्रो संक्रमणबारे पत्तालगायन नाकबाट संकलित नमुनाको अध्ययन गरिएको थियो ।

यसमध्ये एक अध्ययनको परिणाम न्यु इंग्ल्यान्ड अफ मेडिसिनमा बुधबार प्रकाशित भएको छ । यस अध्ययनमा बेलायतको अक्सफोर्ड युनिभर्सिटी हस्पिटलका १२ हजार पाँच सय स्वास्थ्यकर्मी सहभागी थिए । अध्ययनमा सहभागीमध्ये १२ हजार २६ जनामा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी थियो । पछिल्लो ६ महिनामा उनीहरूमध्ये जम्मा दुईजनामा कोरोना संक्रमण भएको थियो । अध्ययनमा सहभागीमध्ये ११ हजार तीन सय ६४ जनामा सुरुमा एन्टिबडी थिएन । 

यसबाहेक राष्ट्रिय क्यान्सर संस्थानको अध्यनमा ३० लाखभन्दा बढी व्यक्तिले सहभागिता जनाएका थिए । उनीहरूको अमेरिकाका निजी प्रयोगशालामा एन्टिबडी परीक्षण गरिएको थियो । त्यसमध्ये ०.३ प्रतिशतमा मात्रै एन्टिबडी हुँदाहुँदै पनि कोरोना संक्रमण भएको पाइएको थियो । यस्तै तीन प्रतिशतमा भने एन्टिबडी नै थिएन ।   
 

सुझावित समाचार