विभिन्न चार राजनीतिक दलका महिला संगठनहरूले संसद् विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
बिहीबार अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादवले बताइन् ।
सरकारको कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैरजिम्मेवारी र नालायकीपन ठहर गर्दै आन्दोलनको घोषणा गर्नुपर्ने उनको भनाइ थियो ।
सरकारको कदमविरुद्ध नेपाल बार एसाेसिएसनका पदाधिकारीसँग छलफल गर्ने, संविधानविद्हरूसँग अन्तर्क्रिया गर्ने, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी जनप्रदर्शन गर्ने गरी संघर्षका कार्यक्रम घोषणा गरिएको पनि अध्यक्ष यादवले बताइन् ।
प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धि संस्थागत नभई प्रतिगामी शक्तिहरू सल्बलाउने भन्दै महिला संगठनहरूले सरकारको यो कदम नस्विकार्ने बताएका छन् ।
देश कोरोना कहर र आर्थिक संकटबीच गुज्रिरहेकोले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धराशायी बन्ने निष्कर्ष उनीहरूको छ ।
