सडक संघर्षका लागि अदालतलाई नकुरौँ : गगन थापा

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण
सडक संघर्षका लागि अदालतलाई नकुरौँ : गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमको विरोधका लागि अदालतलाई कुर्न नहुने धारणा राखेका छन् । ‘सरकारको कदम असंवैधानिक हो भनेर पहिल्यै भनिएकै हो, यो कदमबाट सरकार सच्चिनुपर्छ, प्रतिनिधिसभा ब्युँताइनुपर्छ,’ उनले भने, ‘तर, त्यो कदम असंवैधानिक भनिसकेपछि विरोधका लागि अदालतले के भन्छ ? निर्वाचन आयोगले के भन्छ ? भनेर पर्खिने हाेइन, सडक संघर्षमा जाने हो ।’

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा बुधबार थापाले कांग्रेस चुनावमा जाने वा नजाने भन्ने छलफलको विषय नै नभएको टिप्पणी गरे । ‘एउटा राजनीतिक दल भएपछि चुनावमा जान सधैँ तयार हुनुपर्छ, त्यसमाथि प्रतिपक्षी भएको हिसाबले चुनावमा नजाने भन्ने कुरै होइन, तर चुनावमा जाऔँ भन्ने नाममा जनताको अभिमतको अपमान गर्ने केपी ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग मिल्नुपर्ने कुनै कारण छैन, उनको संवैधानिक अपराधलाई जोगाउनुपर्ने कुनै कारण छैन,’ थापाले भने । 

नेता थापाले नेकपा सरकारले लिएको असंवैधानिक कदमको निरुपण पहिलो विषय भएको बताए । ‘सभापतिज्यूले अदालत के भन्छ ? निर्वाचन आयोग के भन्छ ? त्यसपछि मात्रै आन्दोलनमा जाऔँ भन्ने प्रस्ताव फ्याँक्नुभएको छ,’ थापाले भने, ‘अदालतले निर्णय दिएपछि कांग्रेसले आफ्नो कुरा भन्ने हाेइन, अदालतलाई कांग्रेसले आफ्ना कुरा सुनाउने हो ।’ 

‘मानौँ एउटा झगडा भयो, त्यहाँ पक्ष–विपक्ष हुन्छन् । झगडियाले त्यहाँ आफ्ना कुरा भन्छ, वकिल राख्छ, बहस हुन्छ,  र मात्रै निर्णय हुन्छ । सके हामीले रिट लिएर जानुपर्ने थियो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले भने, ‘यो घटनामा हामी विपक्ष हौँ, त्यसैले पक्षले गरेको दोष हामीले देखाउने हो, पक्ष–विपक्षको कुरा सुनेपछि अदालतले निर्णय दिने हो ।’ 

थापाले सडक संघर्षलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । ‘सडक सधैँ खाली हुँदैन, भरिन्छ, साँघुरो हुन्छ, अरूले सडक कब्जा गरेपछि कांग्रेस सडकमा जानुको अर्थ हुँदैन,’ उनले भने । 

मंगलबारदेखि जारी बैठकमा बुधबार केन्द्रीय सदस्य रामशरण महतले सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानमै नभएको अवैध काम गरेकाले त्यसको विरोध गर्नुपर्ने धारणा राखे । ‘यो कदम गलत छ, यसलाई सच्याउनुपर्छ, सरकारले चुनाव घोषणा गऱ्याे भन्दैमा फुरुक्क भइहाल्नु ठीक हाेइन,’  उनले भने, ‘र, आन्दोलन प्रचण्ड–नेपाल वा अरूसँग मिलेर हाेइन, कांग्रेस एक्लैले गर्नुपर्छ, यो संकटबाट बचाउनुपर्छ ।’ उनले संवैधानिक परिषद्का सिफारिस कांग्रेसले मान्न नहुने बताए । 

यस्तै, केन्द्रीय सदस्य बलबहादुर केसीले सडक आन्दोलन चर्काउनुपर्ने धारणा राखे । अर्का केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने संसद् विघटन गैरसंवैधानिक भए पनि आन्दोलन किन र केका लागि भन्ने विषयमा छलफल गर्नुपर्ने धारणा राखे । 

मंगबारदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।  बिहीबार दिउँसो १ बजे पुनः बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सुझावित समाचार