स्टार्ट अपको प्रशस्त सम्भावना, तर पुँजी र नीतिको अभाव

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

नेपालमा डिजिटल प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि पुँजी, ज्ञान र सञ्जालको पहुँच विस्तार आवश्यक रहेको विज्ञहरूले बताएका छन् । एसियाली विकास बैंक (एडिबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार संयुक्त रूपमा आयोजना गरेको ‘नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण’ विषयक भर्चुअल कार्यक्रममा सहभागीहरूले प्रविधिमा आधारित साना तथा मझौला व्यवसायहरू उच्च वृद्धि भइरहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले डिजिटल प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि सरकारले आर्थिक र नीतिगत सहयोग गरेर मात्र नहुने बताउँदै त्यसलाई प्रवद्र्धन गर्न हौसला पनि दिनुपर्नेमा जोड दिए । नेपालका लागि एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्ट अप बिजनेसमा अवसर भएको उल्लेख गर्दै त्यसका लागि अनुकूल वातावरण बनाउन सुझाब दिए ।

नेपाली स्टार्ट अपले क्षेत्रीय र विश्वव्यापी रूपमै पनि आफ्नो पहिचान बनाउन सक्ने सम्भावना रहेको सहभागीको भनाइ थियो । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले उद्यमशीलता विकासका लागि आवश्यक पुँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल भइरहेको बताए । नेपालमा उद्यमशीलताका लागि विदेशी पुँजी ल्याउने विषयमा केही छलफल भए पनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पूरा गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ । 

वान टू वाचका संस्थापक एवं प्रबन्ध निर्देशक विलेम ग्रिमिकले नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पुँजी लगानी गर्ने प्रवृत्ति धेरै नभएको बताए । संकटको समयमा प्रविधिमा आधारित व्यवसायहरू नयाँ तरिकाबाट प्रवेश गरेकाले उद्यमशीलता विस्तार हुन सक्ने सम्भावना भने धेरै रहेको उनको तर्क थियो ।

पुँजीबजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले नेपालमा वित्तीय पहुँचको अभाव उद्यमशीलताका लागि सबैभन्दा ठूलो अवरोध बन्दै आइरहेको बताइन् । सफल पार्टनर्सका प्रबन्ध निर्देशक आसुतोश तिवारीले रेमिट्यान्सको रकमलाई उद्यमशीलतामा प्रयोग गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । बिजनेस अक्सिजनकी लगानी प्रबन्धक ऋतु प्रधान मल्लले पुँजी जुटाउने विषयमा धेरै प्रक्रियागत झन्झटहरू उद्यमशीलता विकासमा तगारो बनिरहेको बताइन् ।

सुझावित समाचार