लमजुङको बेसीसहरस्थित नेकपाको पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन) मा प्रधानमन्त्री तथा नेकपा केन्द्रीय अध्यक्ष केपी ओलीनिकट राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताले अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् ।
राष्ट्रिय युवा संघका जिल्ला संयोजक ऋषि बस्नेतले पार्टी कार्यालयमा बसेर सरकारविरोधी कार्य गर्न नदिन ताला लगाएको बताए । उनले भने, ‘तत्कालीन नेकपा एमालेले बनाएको कार्यालयमा बस्ने अनि प्रधानमन्त्री र आफ्नै अध्यक्षलाई असफल बनाउन खोज्नेहरू कार्यालयमा बस्न आवश्यक छैन ।’
नेकपाकी जिल्ला अध्यक्ष मधुमाया अधिकारीले दुई घन्टासम्म आफूलाई कार्यकक्षमा थुनेको नयाँ पत्रिकासँग बताइन् । उनले भनिन्, ‘अध्यक्षको कार्यकक्षमा बसिरहेको अवस्थामा तत्कालीन नेकपा एमालेले बनाएको कार्यालयमा बस्न नपाउने भन्दै एक्कासि ताला लगाइयो, दुई घन्टासम्म थुनिएँ ।’
बस्नेतले अध्यक्षलाई नथुनेको र बाहिर आउन आग्रह गरेर ताला लगाएको दाबी गरे । नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेतृ मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो ।
सोमबार नै प्रधानमन्त्री एवं नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट युवा र विद्यार्थीका साथै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा र विद्यार्थीले बेसीसहरमा छुट्टाछुट्टै ऱ्याली निकालेका छन् । ओली पक्षका युवा र विद्यार्थीले ओलीको समर्थन गरेका छन् भने प्रचण्ड र नेपाल पक्षले ओलीले चालेको कदमको विरोध गर्दै ऱ्याली निकालेका हुन् ।
बेसीसहरको भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै प्रचण्ड र नेपाल समूहका युवा, विद्यार्थीलगायतले शेराचोकसम्म नाराबाजी गर्दै ऱ्याली निकालेका थिए । त्यसपछि ओली पक्षका युवा र विद्यार्थीले नाराबाजी गर्दै ऱ्याली निकालेका थिए ।