ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले २ सय ३९औँ शाखारहित बैंकिङ सेवा खैरापुरमा सञ्चालनमा ल्याएको हो ।
शाखारहित बैंकिङ सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेको बैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा सावित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।
बैंकले ७३ जिल्लामा २ सय ६४ शाखा, २ सय ३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ३९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।
पनिकासँगको सम्झौता नवीकरण
ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच बैंकले प्रदान गर्ने सेवा–सुविधाहरूसम्बन्धी सम्झौता नवीकरण भएको छ । सम्झौतामा परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकका कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रूपमा संकलन हुने शुल्क तथा धरौटीबापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिविअन्तर्गतका क्याम्पसहरूले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क–रकम जम्मा गर्न मिल्ने जनाइएको छ । त्रिविका विद्यार्थीको सम्पूर्ण कारोबार यस बैंकको बल्खुस्थित काउन्टरलगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रिविको आम्दानी खातामा जम्मा गर्न मिल्ने बैंकले जनाएको छ ।