नेकपा स्थायी कमिटीको निर्णय : ओलीलाई अनुशासनको कारबाही, केन्द्रीय कमिटीबाट अनुमोदन गरिने (भिडियोसहित)

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेकपाले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गरेको छ । नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेपछि नेकपाले अनुशासनको कारबाही गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिनिध सभा विघटन गरिसकेकी छिन् । 

यस्तै स्थायी कमिटीको रिक्त एक पदमा कृष्णबहादुर महरालाई मनोनीत गर्ने प्रस्ताव पनि केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको श्रेष्ठले जानकारी दिए । 

केन्द्रीय कमिटी बैठक आगामी ७ पुसका लागि बोलाइएको पनि उनले जानकारी दिए । 

स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले भने– 
आज हाम्रो पार्टीको स्थायी कमिटी बैठकले निम्न दुईबुँदे प्रस्ताव पारित गरेको छ। 
१. स्थायी कमिटीको यो बैठक आज २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र राजनीतिक स्थिरता, जनादेश एवं जनभावनाविपरीत स्वेच्छाचारी कदम ठहर गर्दै यसको तीव्र विरोध एवं भर्त्सना गर्दछ । यसले नेपाली जनताले ठूलो बलिदानीपूर्ण संघर्षद्वारा प्राप्त गरेको राजनीतिक परिवर्तन एवं उपलब्धिमाथि कठोर प्रहार गरेको छ । 

संविधानतः संविधानको रक्षकको समेत भूमिकामा रहनुभएका राष्ट्रपतिज्यूबाट असंवैधानिक कदमलाई स्वीकार गरिनु पनि गम्भीर रूपमा आपत्तिजनक रहेको छ। संविधान र लोकतन्त्र पक्षधर शक्तिहरूका लागि यो कदम स्वीकार्य हुन सक्दैन । तसर्थ हाम्रो पार्टी यसलाई सम्पूर्ण रूपमा अस्वीकार गर्दछ र यसको राजनीतिक प्रतिवाद गर्दै कानुनी उपचार खोज्नेछ । हाम्रो पार्टीका सबै नेता, कार्यकर्ता र पार्टीपंक्तिलाई संविधानको प्रावधान, मूल्य–मान्यता एवं मर्मविपरीतको यस असंवैधानिक, अलोकतान्त्रिक एवं निरंकुश कदमको विरोध गर्न र पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका गतिविधि तथा कार्यका विरुद्धमा एकताबद्ध भई पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा जुट्न आह्वान गर्दछ ।

हाम्रो पार्टी संसद्भित्र र बाहिरका सबै राजनीतिक पार्टीहरू, नागरिक समाज र लोकतन्त्र पक्षधर शक्तिहरू र आमजनसमुदायलाई यो असंवैधानिक एवं निरंकुश कदमको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकताबद्ध भएर उभिन तथा भूमिका खेल्न अपिल गर्दछ ।
 
२, पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री श्री केपी शर्मा ओलीले यही पुस ५ गते स्वेच्छाचारी किसिमले हठात् प्रतिनिधिसभा विघटनको सिफरिस गरी नेपाली जनताले कठोर र बलिदानीपूर्ण संघर्षबाट स्थापित जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने प्रतिनिधिसभामाथि निर्मम प्रहार गर्नुभएको छ । पार्टी स्थायी कमिटीको बैठक जारी रहेको र संसद्को अधिवेशन बोलाउनुपर्ने वेलामा दुई ठूला पार्टीको ऐतिहासिक एकता, पार्टीमाथि जनताले गरेको विश्वास र भरोसामाथि प्रहार गर्दै देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने र नेपालको संविधानलाई असफल पार्ने कुकृत्य गर्नुभएको छ । यसरी उहाँले जनता, देश र पार्टीमाथि गर्नुभएको विश्वासघात र प्रहार नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ को ‘क’ मा व्यवस्थित विभिन्न प्रावधानविरुद्धमा भएकोले उहाँमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव लैजाने निर्णय गर्दछ । यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बोलाउने निर्णय भएको छ । 

साथसाथै आजको स्थायी कमिटीको बैठकले स्थायी कमिटीको एक रिक्त स्थानमा हाम्रो पार्टीका कमरेड कृष्णबहादुर महरालाई लैजाने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा गर्ने निर्णय पनि गरेको छ ।

सुझावित समाचार