कोरोना भाइरसको खोपको विकासका क्रममा अभूतपूर्व काम भएका छन्, तर त्यसका लागि औषधि उद्योगप्रति कृतज्ञ हुनु जरुरी छैन
विज्ञानले एक हिसाबमा चमत्कार नै गर्यो, परिणामस्वरूप कोरोना भाइरसविरुद्धको खोप अभूतपूर्व गतिमा विकास भएको छ । चर्चामा एम–आरएनए खोप छ । विगतमा परीक्षण नभएको यो प्रविधिले सोचेभन्दा धेरै राम्रो काम गरेको देखियो । नत्र केही महिनाअघिसम्म पनि धेरै विश्लेषकले सन् २०२१ को शरद ऋतुअघि कुनै खोप आउन नसक्ने अनुमान गरेका थिए । विगतका अनुभवअनुरुप अनुमान स्वाभाविक पनि थियो । नयाँ खोपले परीक्षणको समयमा जस्तै काम गर्यो भने यसलाई जोनास सल्क र अल्बर्ट सबिनले आविष्कार गरेको पोलियो खोपभन्दा ठूलो सफताको रूपमा स्मरण गरिनेछ । यदि नयाँ प्रकारको खोपले अन्य भाइरसविरुद्ध पनि काम गर्यो भने यसलाई लुई पास्चर र एडवार्ड जेनरको आविष्कारबराबर खोप विज्ञानको युगान्तकारी उपलब्धिका रूपमा लिइनेछ । तर, पछिल्लो वैज्ञानिक प्रविधिमा देखिएको खुसीमा एउटा अनौठो कुरा देखिँदै छ । हामी विगतका ऐतिहासिक सफलता सम्झिँदा, कुनै वैज्ञानिक वा प्रयोगशालालाई सम्झन्छौँ, जबकि कोभिड–१९ विरुद्धको खोपको सफलताको सम्पूर्ण श्रेय औषधी कम्पनीले पाइरहेका छन् ।
मिडियामा ठूला ब्रान्डको ठूलो चर्चा छ । प्रत्येक दिन पिफाइजर खोप (पिफाइजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकको सहकार्यमा बनेको), मोडेर्ना खोप (मोडेर्ना र नेसनल इन्स्टिच्युट अफ हेल्थ र मोडेर्नाको सहकार्यबाट बनेको) र एस्ट्राजेनेका खोप (गैर एम–आरएनए खोपमध्ये सबैभन्दा अगाडि रहेको यो खोप अक्सफोर्डका वैज्ञानिकले निर्माण गरेका हुन् भने एस्ट्राजेनेकाले विकास तथा वितरण गरेको खोप) को समाचार छुट्दैन । आफ्नो छवि सुधार गर्न व्यग्र कम्पनीहहरूका लागि यी समाचारले उत्साहप्रद पिआरको काम गरिरहेका छन् । जबकि अघिल्लो महिना मात्रै अमेरिकालाई नराम्ररी प्रभावित बनाएको ओपियड संकटका लागि पुर्ड फर्मा दोषी देखिएको थियो । ओपियड संकटमा कम्पनीको भूमिकाका लागि अदालतले फर्मालाई आठ अर्ब डलरभन्दा बढी जरिवाना तिराएको छ । ठूला औषधी कम्पनीका गलत अभ्यासविरुद्ध धेरै मुद्दा परिरहेका हुन्छन् । पिफाइजरले सन् २००३ मा पेनकिलर तथा अन्य औषधीमा गलत व्यापारिक अभ्यास गरेकोमा २.३ अर्ब डलर जरिवाना तिरेको थियो ।
विकासोन्मुख मुलुकमा सन् २०२१ को अन्त्यसम्म जम्मा २० प्रतिशत जनसंख्याले खोप पाउनेछन् । अनुमान गर्नुस्, त्यो समयसम्म थप कति धेरैले ज्यान गुमाउलान् ?
अघिल्लो वर्षको एक सर्वेक्षणमा अमेरिकामा औषधी कम्पनीहरू सबैभन्दा घृणा गरिने उद्योगमा गणना भएका थिए । प्रदूषक भनेर बदनाम ठूला तेल कम्पनीभन्दा पनि औषधी कम्पनी बदनाम थिए । तर, सेप्टेम्बरमा खोप आउनुअघिसम्म त्यो आमधारणामा सुधार आउन सुरु भइसकेको थियो । कम्पनीहरूले यसलाई नबुझेका होइनन् । एकजना वित्तीय विश्लेषकले न्युयोर्क टाइम्सलाई बताएअनुसार कोरोना भाइरसविरुद्ध खोप विकासमा पिफाइजरको संलग्नता आफैँमा ‘वित्तीय फाइदाका साथसाथै जनसम्बन्ध (पिआर)’ का लागि पनि थियो । अप्रिलमै कम्पनीका प्रमुख कार्यकारी इली लिलीले लगानीकर्तासँगको संवादमा महामारीले ‘शताब्दीमा एकपटक आउने खालको कम्पनीको छवि सुधार्ने अवसर प्रदान गरेको’ बताएका थिए । लामो पर्खाइपछि खोप आउन लागेकाले त्यससँग जोडिने कम्पनीप्रति सकारात्मक भावना आउन लागेको हुनुपर्छ । तर पनि भन्नैपर्छ, ठूला औषधी उद्योगले आममानिस बचाउने कार्यलाई इमानदारिताका साथ पूरा गरिरहेका छैनन् । अहिले प्रयोगमा आउन लागेका सबैजसो खोपको विकासमा धेरैको संलग्नता छ । खोपहरू जटिल वैज्ञानिक सहकार्यबाट बन्छन् । तिनको विकासमा विभिन्न देशका सरकारले उल्लेख्य सहयोग गरेका छन् । यो बुझेर पनि खोपको विकासका लागि प्रशंसाका अतिरिक्त तिनको नियन्त्रण अधिकार पूर्णतः औषधी कम्पनीको हातमा दिनु ठूलो भुल हुनेछ । अहिले नै औषधी कम्पनीले खोपको पहुँचमा एकाधिकार कामय गर्न सुरु गरेका छन्, यसले विकासोन्मुख देशको खोपमाथिको पहुँच महिनौँ पछाडि धकेलिनेछ ।
सबैभन्दा आशाका साथ हेरिएको एम–आरएनए खोपहरू विकासको हरेक चरणमा करदाताले राज्यलाई तिरेको रकम खर्च भएका छन् । सरकारी सहयोगविना तिनको अस्तित्व नै सम्भव हुँदैनथ्यो । खोप निर्माणसम्बन्धी प्रतिस्पर्धा सुरु भएपछि अमेरिकी सरकारले ‘अपरेसन वार्प स्पिड’ ल्यायो । अमेरिकी कम्पनी मोडेर्नाले यस कार्यक्रमअन्तर्गत २.५ अर्ब डलर पाएको थियो । त्यसबाहेक अमेरिकी सरकारको जनस्वास्थ्य अनुसन्धानको प्रमुख निकाय नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)ले मोडेर्नासँग विगतमा विकास भएका कोरोना भाइरस खोपको प्रविधि पनि हस्तान्तरण गरेको थियो । अहिलेको अनुमानअनुसार पश्चिमा समृद्ध मुलुकका जोखिममा नरहेका जनसंख्याले खोप लगाउन सन् २०२१ को अन्त्यसम्म पर्खिनु पर्नेछ । विकासोन्मुख मुलुकमा सन् २०२१ को अन्त्यसम्म जम्मा २० प्रतिशत जनसंख्याले खोप पाउनेछन् । अनुमान गर्नुस्, त्यो समयसम्म थप कति धेरैले ज्यान गुमाउलान् ? यस्तो हुनु हुँदैन ।
(विज्ञान पत्रकार बुरान्यी युरोपियन बिजनेस स्कुलका भिजिटिङ लेक्चरर हुन्)
न्युयोर्क टाइम्सबाट