चौतर्फी आलोचनापछि प्रधानमन्त्री केपी ओली मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टी नेताहरूसँगको छलफलपछि ओली अध्यादेश फिर्ता गर्न तयार भएका हुन् ।
आज स्थायी कमिटी बैठकअघि ओली र अर्का अध्यक्ष प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो।
साेही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र नेकपाका असन्तुष्ट सांसदले विशेष अधिवेशनका लागि शीतलनिवास पुर्याएको निवेदन दर्ता नगर्ने सहमति भएको एक नेताले बताए ।
स्रोतका अनुसार ओली र प्रचण्डबीच भएको छलफलमा भदौ २६ पछि गरिएका सबै त्रुटिपूर्ण निर्णय फिर्ता लिन प्रधानमन्त्री ओली तयार भएका छन् । यस्तै नयाँ समझदारीपछि कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ को सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन र ओलीले त्यसको जवाफमा मंसिर १३ मा दर्ता गराएकाे प्रतिवेदनसमेत फिर्ता लिने समझदारी बनेको छ।
भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका दुई अध्यक्षको जिम्मेवारी स्पष्ट पारेको थियो। अध्यक्षद्वयबीच भएको दाेस्रो चरणको छलफलमा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
अध्यक्षद्वयबीच भएको यो सहमतिपछि बालुवाटारमा डाकिएको स्थायी कमिटीको बैठकमा ओली पनि सहभागी भएका छन् ।