नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसमा अन्तरिम नेतृत्व चयनको प्रस्ताव गरेका छन् । पोखरामा प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
अघिल्लो महाधिवेशनका प्रतिनिधिबाटै अन्तरिम नेतृत्व चयन गर्ने उनले विकल्प प्रस्ताव गरे ।
ती प्रतिनिधिले बढीमा डेढ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने र त्यही नेतृत्वले विधिवत् अधिवेशन गर्न उपयुक्त हुने उनको भनाइ छ ।
मंगलबार आएको अध्यादेश लोकतन्त्रमाथिकै प्रहार भएकाले यसविरुद्ध लड्नुपर्ने उनको ठहर छ । यो वेला नेपाली कांग्रेस एक–आपसमा अल्झिनुभन्दा एकढिक्का भएर सरकारको कदमविरुद्ध लाग्नुपर्ने उनले धारणा राखे ।
अध्यादेशलाई उनले ‘घोर अप्रजातान्त्रिक, निन्दनीय, लोकतन्त्रका आधारभूत संस्थाहरूलाई ध्वस्त पार्ने र सम्पूर्ण रूपमा पद्धतिलाई सर्वसत्तावाद उन्मुख गर्ने प्रयास’ भनेका छन् ।
‘नेपाली कांग्रेस अहिले आफ्नो महाधिवेशनको तयारीमा छ । यो वेला यता केन्द्रित हुने अवस्था रहेन । सरकारले लोकतान्त्रिक मूल्यमान्यता सबै ध्वस्त पाऱ्याे । त्यसका विरुद्ध लड्न महाधिवेशनभन्दा पनि अब आन्दोलनकेन्द्रित गर्नुपर्ने भएकाले अन्तरिम नेतृत्व चयन गरौँ भन्ने मेरो प्रस्ताव छ । यो प्रस्ताव म पार्टीको केन्द्रीय कार्यसमितिमा राख्छु,’ उनले भने । पार्टीको विधान र वैधानिकतालाई ध्यान दिँदै अस्थायी खालको नेतृत्व चुन्नुपर्नेमा उनको जोड थियो ।
नेपाली कांग्रेस नेकपा विभाजन नहोस् भन्ने पक्षमै रहेको उनले बताएका छन् । जनतालाई स्थिरताको नारा दिएर आएको सरकार ढाल्ने पक्षमा या नेकपा फुटोस् भन्ने पक्षमा कांग्रेस नरहेको उनले प्रस्ट्याए ।
‘लोकतन्त्र भनेको वाद, प्रतिवाद र संवादको प्रक्रियाबाट चल्ने हो । नेकपा पनि यसरी नै अगाडि बढोस् भन्ने हाम्रो चाहना छ । सकेसम्म उहाँहरू मिल्नुपर्छ र जनताको म्यान्डेटअनुरूप अगाडि बढ्नुपर्छ । हामी अस्थिरता ल्याउने कारक बन्न सक्दैनौँ । यदि उहाँहरू फुटेमा जुन शक्ति लोकतन्त्रप्रति प्रतिबद्ध रहन्छ त्यसलाई समर्थन मात्र गर्छौँ, तर कांग्रेस रकारमा जाँदैन,’ उनले भने ।