संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन्। समन्वय नभएको, गृहकार्य नपुगेको र पूर्वतयारी पनि नभएको भन्दै सभामुख नजाने निर्णय भएको बताइएको छ।
परिषद्को बैठकबारे सभामुखलगायतका सदस्यहरूसँग छलफल पनि नगरी बैठक बोलाएको बताइन्छ । परिषद् अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले समन्वय नगरीकनै बैठक बोलाएपछि सभामुख नजाने निर्णयमा पुगेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
अहिले विभिन्न निकायमा गरेर ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र दुई आयुक्त गरी तीन पद खाली छ । त्यस्तै, निर्वाचन आयोगमा दुई आयुक्त पद रिक्त छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार आयुक्त पद रिक्त छ । राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित पाँच पद रिक्त छ । राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित पाँच पद रिक्त छ । समावेशी आयोगमा अध्यक्षसहित चार पद रिक्त छ ।
आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित पाँच पद रिक्त छ । मधेसी आयोगमा चार आयुक्त पद रिक्त छ । थारू आयोगमा चार आयुक्त पद रिक्त छ ।
मुस्लिम आयोगमा चार आयुक्त पद रिक्त छ । राष्ट्रिय मानव अधिकार आयोगमा केही समयअघि मात्रै अध्यक्षसहित चार आयुक्तको पद एकैपटक रिक्त भएपछि त्यहाँ पनि अध्यक्षसहित पाँच पद रिक्त छ । यसरी विभिन्न आयोगहरूमा लामो समयदेखि पदपूर्ति हुन सकेको छैन ।