अमेरिकामा कोरोना भ्याक्सिन सुरुमा ह्वाइट हाउसका कर्मचारीलाई दिइने भनिएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पूर्ववत् निर्णय परिवर्तन गर्दै ह्वाइट हाउसका कर्मचारीले अब अन्तिममा मात्र भ्याक्सिन पाउने बताएका छन् । ‘अतिआवश्यक परे मात्र राष्ट्रपति कार्यालयका कर्मचारीले भ्याक्सिनको खोप पाउनेछन्, पहिलो प्राथमिकता भनेको नै जनता हुन्,’ ट्रम्पले भने ।
ट्रम्प प्रशासनले यसै सातादेखि फाइजर भ्याक्सिन प्रयोगमा ल्याउने घोषणा गरेको थियो । जसअनुसार सोमबारदेखि खोप अभियान सुरु भएको छ । ‘यदि कसैलाई जरुरी नभएको अवस्थामा कर्मचारीले पछि मात्र खोप पाउनेछन्,’ ट्रम्पले ट्विटरमा लेखेका छन् ।
अमेरिकी वैज्ञानिकहरूले फाइजर भ्याक्सिनले ९५ प्रतिशतसम्म प्रभावकारी काम गर्ने दाबी गरेका छन् । अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनेस्ट्रेसन (एफडिए)ले बायोन्टेक र फाइजर कम्पनीबाट उत्पादित भ्याक्सिनको काम गर्ने क्षमता अन्य भ्याक्सिनभन्दा तुलनात्मक रूपमा सुरक्षित भएको जनाएको छ ।
अमेरिकामा सुरुवातमा ३० लाख भ्याक्सिनको खोप ५० राज्यमा वितरण गरिनेछ । आइतबार भ्याक्सिनको पहिलो खेप मेसिनबाट निकालिएको थियो । सोमबारबाट स्वास्थ्यकर्मी तथा उमेर भएका व्यक्तिलाई खोप दिइने अमेरिकन एजेन्सीहरूले उल्लेख गरेका छन् । ‘अहिले हामीले पहिलो चरणमा ३० लाख भ्याक्सिनको डोज पुर्याउने लक्ष्य राखेका छौँ,’ एफडिएका जनरल गुस्ताव पर्नाले भने ।
अमेरिकामा शनिबार मात्र एकैदिन कोरोना भाइरसका कारण तीन हजार तीन सय व्यक्तिले ज्यान गुमाएका थिए । जोन्स हप्किन्स विश्वविद्यालयले दोस्रो चरणको कोरोना भाइरस लहर तीव्र गतिमा फैलिएसँगै यसको संक्रमण तथा मृत्युदर बढेको उल्लेख गरेको छ । विश्वविद्यालयका अनुसार पछिल्लो पाँच दिनमा विश्वमा ४४ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।
जनवरीदेखि सुलभ
सोमबारदेखि ५० राज्यमा भ्याक्सिन वितरण हुने भनिए पनि अमेरिकाको सबै क्षेत्रमा जनवरीमा मात्र पुग्ने जनरल पर्नाले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । ‘हामीले सोमबारसम्म १४५ स्थानमा भ्याक्सिन पु¥याउने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘मंगलबार ४२५ स्थान तथा बुधबार थप ६६ स्थानमा भ्याक्सिन पुग्नेछ ।’ उनले भ्याक्सिन सुरक्षित तरिकाले बन्दोबस्त भएको बताएका छन् ।
अमेरिकाको सबै क्षेत्रमा भ्याक्सिन नपुग्दासम्म काम नरोकिने जनरल पर्नाको भनाइ छ । ‘अहिले भ्याक्सिनको अवस्था निकै राम्रो छ, सबै राज्यमा भ्याक्सिन पुर्याउने लक्ष्य हो, त्योवेलासम्म यो संस्थाको काम निरन्तर चलिरहन्छ ।’ बेलायत, क्यानडा, बहराइन तथा साउदी अरेबियाले फाइजर भ्याक्सिन प्रयोगको अनुमति दिइसकेका छन् ।
अमेरिकाले १० करोड भ्याक्सिन अर्डर गरेको छ । अमेरिकाले मोर्डना कम्पनीसँग गत जुलाई महिनामा एक लाख डोज किनेको थियो । अमेरिका थप ३० लाख भ्याक्सिन डोज किन्ने तयारीमा छ । अहिले संक्रमित व्यक्तिलाई कम्तीमा दुई खोप दिनुपर्ने अवस्था छ । यसैकारण अमेरिकालाई तत्काल १५ करोड डोज आवश्यकता छ । अमेरिकाको जनसंख्या ३३ करोड छ ।
इजरायलमा २७ डिसेम्बरबाट खोप
इजरायलले २७ डिसेम्बरबाट भ्याक्सिन खोप सुरु गर्ने भएको छ । स्वास्थ्यमन्त्री युली एडलिस्टनले सवै प्रक्रिया पूरा भइसकेको बताएका छन् । उनी भन्छन्, ‘अहिले देशभर भ्याक्सिन खोप पुर्याउने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ, सम्भवतः २७ डिसेम्बरदेखि खोप सुरु भइसक्नेछ ।’ इजरायलमा पहिलो चरणमा ६० हजार व्यक्तिले खोप पाउन सक्छन् । गत साता मात्र फाइजर भ्याक्सिनको पहिलो अर्डर इजरायलमा पुगेको थियो । यहाँ तीन लाख संक्रमित छन् । कोभिड–१९ ले इजरायलमा २९ सय ९० जनाको निधन भएको छ ।
न्युजिल्यान्ड विदेशी कैदीबाट हैरान
न्युजिल्यान्डमा कोभिडको समस्यासँगै विदेशी कैदी व्यवस्थापनको चुनौती थपिएको छ । विभिन्न कारण जेलमा परेका विदेशी कैदीलाई कोरोना महामारीको समयमा कसरी व्यवस्थापन गर्ने र उनीहरूलाई कसरी आफ्नै घरमा पठाउने भन्ने निर्णय सरकारले लिन सकिरहेको छैन । जेलबाट छुटेकाहरू १० महिना बित्दा पनि स्वेदश फर्कन पाएका छैनन् । न्युजिल्यान्डले ९५ प्रतिशत अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेको छ ।
एजेन्सीहरूको सहयोगमा