फाइजर भ्याक्सिनको साइडइफेक्ट न्यून

४० हजारजनामा गरिएको क्लिनिकल ट्रायलमा चारजनामा ‘वेल्स पाल्सी’

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

फाइजर–बायोन्टेकको कोभिडविरुद्धको भ्याक्सिनलाई अमेरिकामा प्रयोग गर्ने गरी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले १० डिसेम्बरमा स्वीकृति दिइसकेको छ । हुन त यसअघि नै बेलायत, बहराइन, साउदी अरेबियाले यो भ्याक्सिन प्रयोगमा ल्याइसकेका थिए । भ्याक्सिन प्रयोगमा आएसँगै कोरोना महामारी नियन्त्रणमा ल्याउने आधार निर्माण भएको विज्ञहरूको विश्वास छ । 

भ्याक्सिन आमप्रयोगमा आउनुअघिको क्लिनिकल ट्रायलमा ४० हजारभन्दा बढी व्यक्ति सहभागी थिए । तीमध्ये केही व्यक्तिमा साइडइफेक्ट देखिन थालेको छ । भ्याक्सिनले बेलायतका दुईजना स्वास्थ्यकर्मीमा एलर्जीका कारण हुने एनाफिलिक्स देखिएको एफडिएले जनाएको थियो । योसँगै थप चारजनामा भ्याक्सिन प्रयोगपछि ‘वेल्स पाल्सी’ अर्थात् अनुहारको पक्षघात भएको छ । परीक्षणको क्रममा चारजनामा प्राथमिक ‘वेल्स पाल्सी’ देखिएको, तर प्लेसबो लिएका व्यक्तिमा कुनै साइडइफेक्ट देखिएको छैन । जसमध्ये एकजना उपचारपछि निको भइसकेका छन् । यसबारे थप अध्ययन भइरहेको छ । 

चिकित्सकहरूका अनुसार ‘वेल्स पाल्सी’ र कोभिड भाइरसको सम्बन्धबारे कुनै तथ्य भेटिएको छैन । विज्ञहरूले साइडइफेक्टको रूपमा वेल्स पाल्सी देखिनुलाई संयोग मात्रै रहेको बताएका छन् । ४० हजारजनामा क्लिनिकल ट्रायल भए पनि चारजनामा अनुहारको पक्षघात देखिनुलाई सामान्य रूपमा लिएका छन् । केही दशकअघि पनि फ्लुको भ्याक्सिन प्रयोग गरेपछि केही व्यक्तिमा वेल्स पाल्सी देखिएको इतिहास पाइन्छ । तथापि हालसम्म वेल्स पाल्सी र भ्याक्सिनबारे कुनै स्पष्ट तथ्य भने सार्वजनिक भएको छैन ।

यसकारण अनुहारको पक्षघात 
अनुहारको पक्षघात सातौँ क्रेनियल नर्भ अर्थात् अनुहारको एक स्नायुको कमजोरीका कारण हुने गर्छ । खासगरी अनुहारको पक्षघात ट्रमा अर्थात् कुनै भाइरल इन्फेक्सनका कारण हुने गर्छ । तर, कोभिड भाइरस उत्पन्न भएको सार्स कोभिडका कारण भने वेल्स पाल्सी भएको कुनै इतिहास पाइँदैन । न्युरोलोजिस्टहरूका अनुसार अनुहारको पक्षघात जुनसुकै उमेर समूहमा हुन सक्छ, तर खासगरी गर्भवती, उच्च रक्तचाप, मोटोपना, मधुमेह, श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू जोखिम समूहमा पर्छन् । 

वेल्स पाल्सीले सामान्यतया अनुहारको एक भागमा मात्र प्रभावित गर्छ, तर कतिपय अवस्थामा वेल्स पाल्सीले पूरै अनुहारमा असर पार्न सक्छ । यसको असर सामान्यतया अचानक देखापर्छ र ७२ घन्टाभित्र गम्भीर रूप लिने गर्छ । सामान्यतया केही व्यक्तिमा अनुहारको स्नायुहरू कमजोर हुने र बिस्तारै पूर्ण रूपमा नचल्ने हुन्छन् । तर, उपचारबाट वेल्स पाल्सी निको पार्न सकिन्छ । स्टेरोइड र एन्टिवाइल औषधिको प्रयोगबाट वेल्स पाल्सीको उपचार गर्न सकिन्छ । तर, कतिपय अवस्थामा उपचारपछि पनि आइलिडमा समस्या भएर आँखा पूर्ण रूपमा बन्द नहुुने हुन्छ । तसर्थ आँखा ओसिलो राख्न र अन्य चोटपटकबाट बचाउन विशेष ध्यान दिनुपर्ने हुन्छ । 
–एजेन्सीको सहयोगमा 
 

सुझावित समाचार