पछिल्लो समय मेकअपलाई सुन्दरताभन्दा पनि व्यक्तित्व र आत्मविश्वाससँग जोडेर हेर्न थालिएको पाइन्छ । हरेक मानिसले आफ्नो व्यक्तित्व विकासका लागि हरदम प्रयास गरिरहेका हुन्छन् । जसमध्ये मेकअप, सुहाउँदो ड्रेसअप पनि मुख्य पाटो हो । मेकअप सबैका लागि महत्वपूर्ण छ । आफूमा आत्मविश्वास बढाउन पार्टी, अफिस, भेटघाट, भोजभतेर विभिन्न ठाउँमा सहभागी हुँदा समय र परिस्थितिअनुसार मेकअप गर्न सकिन्छ ।
पछिल्लो समय न्युड मेकअप ट्रेन्डमा रहेको छ । अधिकांशले न्युड अर्थात् प्राकृतिक देखिने खालको मेकअप गर्न मन पराउँछन् । न्युड मेकअपले सुन्दर देखिन गोरो अथवा चम्किलो देखिनुपर्छ भन्ने मान्यता पनि बिस्तारै हटाउँदै लगेको छ । विवाहको मौसम चलेकाले छालाको ध्यान राख्दै मेकअप गर्नुपर्ने आवश्यकता देखिन्छ । खासगरी अविवाहित महिलालाई विवाह, पार्टीमा जान ड्रेसअप सुहाउँदो मेकअप गर्न न्युड मेकअप उपयुक्त हुन सक्छ ।
सामान्यतः चिसो मौसममा छाला फुट्ने वा सुख्खा हुने भएकाले अत्यधिक मेकअप प्रसाधनको प्रयोग गर्दा थप समस्या बल्झिन सक्छ । न्युड मेकअपले प्राकृतिक देखाउँछ । मेकअप गर्दा प्रयोग गरिने सामग्रीहरूको कलर हलुका हुने भएकाले मेकअप भद्दा देखिँदैन । टाढाबाट हेर्दा मेकअप गरेजस्तो नदेखिने भएकाले हेर्दा भद्र देखिन्छ । युवापुस्तामा न्युड मेकअप लोकप्रिय हुनुको मुख्य कारण नै व्यक्तित्व सुहाउँदो हुनु हो ।
कसरी गर्ने न्युड मेकअप ?
न्युड मेकअपमा मेकअपका सबै सामान प्रयोग गर्न सकिन्छ । जस्तै, फाउन्डेसन, ब्लर्सस, इल्युमिनेटर्स, फेस ब्रन्जिङ लोसन, क्रिम पाउडर, बनाना पाउडर आदि अनुहारको मेकअपमा प्रयोग गर्न सकिन्छ ।
यस्तै आँखालाई आकर्षक देखाउन आइस्याडो, आइलाइनर, आइब्रो पेन्सिल, गाजल तथा मस्कारा, आई पाउडरहरू प्रयोग गरिन्छ । मेकअप गर्दा यी सबै सामान प्रयोगमा ल्याउनुपर्छ भन्ने छैन, आफूलाई सुहाउँदो अर्थात् परिस्थितिअनुकूल कुनै पनि खालको मेकअप गर्न सकिन्छ । र, मेकअपका कुनै पनि सामानको रङ सकेसम्म हलुका हनुपर्छ । जसले गर्दा गाढापन र भद्दा देखिने हुँदैन ।
लिपिस्टिकको प्रयोग गर्दा अलिकति ध्यान दिनुपर्ने हुन्छ । न्युड मेकअपमा लिपिस्टिकको कलर भने गाढा लगाउन सकिन्छ । यसले मेकअपलाई आकर्षक देखाउन मद्दत गर्छ ।
ओठ सजावटका लागि लिपिस्टिक, लिप पेन्सिल, लिप प्लम्पर्स वा वाम आदि आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।
मेकअपसँगै नेलआर्टको पनि उत्तिकै महत्व हुने गर्दछ । न्युड मेकअप गरेर ब्राइट खालको नेल पोलिस तथा आर्ट गर्दा नमिल्ने खालको हुन्छ । हलुका कलरमा सकेसम्म ड्रेसअपसँग सुहाउने कलर लगाउन सकिन्छ ।
– एजेन्सीको सहयोगमा