केन्द्रीय विभागहरूमा प्रयोगात्मक कक्षा सुरु भएसँगै त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा चलहपहल बढेको छ । कोभिड–१९ जोखिमका कारण अनलाइनमा सैद्धान्तिक कक्षा मात्र लिएका प्राविधिक विषयका विद्यार्थी करिब नौ महिनापछि प्रयोगात्मक कक्षा लिन पाउँदा उत्साहित देखिन्छन् ।
प्रयोगात्मक कक्षा सुरु भएकाले माथिल्लो सेमेस्टरमा अध्ययन गर्न पाइनेमा विद्यार्थी ढुक्क बनेका छन् । त्रिविका रसायनशास्त्र र भूगर्भशास्त्र केन्द्रीय विभागले प्रयोगात्मक कक्षा सुरु गरिसकेका छन् । माइक्रो–बायोलोजीलगायत विषयमा प्रयोगात्मक कक्षा सञ्चालनको तयारी छ । प्रत्यक्ष कक्षा सञ्चालनका लागि कोरोना संक्रमण हुन नदिन स्वास्थ्य सतर्कता अपनाइएको छ ।
सबैभन्दा पहिले रसायनशास्त्र केन्द्रीय विभागले प्रयोगात्मक कक्षा सुरु गरेको थियो । अघिल्लो वर्षको मागमा प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीको कोर्स दसैँअघि नै सकिनुपर्ने भए पनि लकडाउनका कारण पछाडि धकेलिएको रसायनशास्त्र केन्द्रीय विभाग प्रमुख रामचन्द्र बस्नेतले बताए । कोभिड–१९ कहिले हट्छ भन्ने अनिश्चित हुँदा विद्यार्थीको भविष्यलाई अनिश्चित हुन दिन नहुने भएकाले पढाइ सुरु गरिएको उनले बताए ।

त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका विद्यार्थी प्रयोगात्मक अभ्यास गर्दै । तस्बिर : सजित परियार/नयाँ पत्रिका
‘विद्यार्थीले भाडा तिरेर काठमाडौंमा बसिरहेका छन् । उनीहरूको भविष्यको जिम्मा हामीले लिएकाले प्रयोगात्मक कक्षा सुरु ग¥यौँ,’ बस्नेतले भने, ‘विद्यार्थी र अभिभावक निराश भएपछि जोखिम भए पनि सतर्कता अपनाएर प्रयोगात्मक कक्षा सुरु ग¥यौँ ।’ पहिले १५/१६ जना विद्यार्थीले एउटै ल्याबमा प्रयोगात्मक अभ्यास गर्थे । अहिले भने ६/७ जना विद्यार्थीको समूह बनाइएको छ । विज्ञानलगायत प्राविधिक विषयमा प्रयोगात्मक अभ्यासविना कोर्स पूरा हुँदैन ।
अनलाइन कक्षा सञ्चालन भए पनि त्यतिमै सन्तुष्ट नभएका विद्यार्थी शैक्षिक संस्थामै प्रयोगात्मक अभ्यास गर्न पाउँदा दंग छन् । रसायनशास्त्र केन्द्रीय विभागको ल्याबमा अभ्यास गरिरहेका पहिलो सेमेस्टरका विद्यार्थी अमरसिंह धामी तिनैमध्ये हुन् । लामो समयपछि प्रयोगात्मक कक्षा सुरु भएकामा उनी खुसी छन् । धामीले भने, ‘७/८ महिना घरमै बसेर पढ्यौंँ, अहिले आफ्नो सुरक्षा आफैँ गरेर प्राक्टिकल गरिरहेका छौँ, कुनै अप्ठ्यारो भएको छैन ।’
अर्का विद्यार्थी आकाश रिजालले प्रयोगात्मक कक्षा सकिएसँगै पहिलो सेमेस्टरको कोर्स सकिने बताए । उनले भने, ‘लकडाउनले समस्या भयो, घरमै बसेर पढियो, अहिले सुरक्षित भएर प्राक्टिकल गर्न पाउँदा खुसी छौँ ।’
प्रथम सेमेस्टरकै विद्यार्थी अमृता पौडेलले यस्तोवेलामा पनि प्रयोगात्मक कक्षा लिन पाउँदा खुसी लागेको बताइन् । ‘प्राक्टिकल गर्न पाइँदैन कि भन्ने थियो, पाइयो,’ उनले भनिन् ।
निरन्तर फोन सम्पर्कमा विद्यार्थी र अभिभावकमा निराशा देखिन थालेपछि अनलाइन मात्र नभई प्रयोगात्मक कक्षा पनि सञ्चालन गरिरहेको विभागीय प्रमुख बस्नेतले बताए । रसायनशास्त्र केन्द्रीय विभागले ४ मंसिरदेखि नै प्रयोगात्मक कक्षा सुरु गरेको हो ।
बिहीबार त्रिवि परिसर कीर्तिपुर पुग्दा भूगर्भशास्त्र केन्द्रीय विभागका विद्यार्थीसमेत प्रयोगात्मक कक्षामा सामेल थिए । गत आइतबारदेखि विद्यार्थीले विभागमै भेला भएर प्रयोगात्मक कक्षा लिइरहेका छन् । कतिपय विषय कक्षाभित्रै पठनपाठन हुन्छन् । कतिपयमा भने विभाग वरिपरि राखिएका चट्टानहरूको अध्ययन गराइन्छ । विद्यार्थीहरू ती चट्टानबारे अध्ययन र अवलोकनमा व्यस्त रहन्छन् ।

त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका विद्यार्थी विभाग परिसरमा ढुंगाबारे अध्ययन गर्दै ।
‘हाम्रो धेरै समय खेर नजाओस् बनेर शिक्षकहरूले प्रयोगात्मक कक्षालाई प्राथमिकता दिनुभएको छ,’ भूगर्भशास्त्रका विद्यार्थी किशोर नेपालले भने, ‘लगभग सबै विद्यार्थी सहभागी छौँ ।’ विज्ञानमा प्रयोगात्मकविना कोर्स पूरा नहुने, तर लामो समयदेखि भौतिक उपस्थितिमा पढ्न नपाउँदा विद्यार्थी र अभिभावकमा निराशा देखिएको भूगर्भशास्त्र केन्द्रीय विभागका संयोजक डा. कविराज पौडेलले बताए । ‘अहिले अवस्थाअनुसार विभिन्न मोडेलमा प्रयोगात्मक गराइरहेका छौँ,’ डा. पौडेलले भने, ‘सानो–सानो समूहमा सिकाइरहेका छौँ । फिल्ड वर्क पनि गराउने तयारीमा छौँ ।’
विरोध गर्ने प्राध्यापकहरूले पनि सुरु गरे काम
रसायनशास्त्र केन्द्रीय विभागले प्रयोगात्मक कक्षा सञ्चालन गर्ने निर्णय गरेपछि १६ जना प्राध्यापकले विरोध गरेका थिए । प्रत्यक्ष कक्षा सञ्चालन गर्दा स्वास्थ्य जोखिम हुने उनीहरूको भनाइ थियो ।
प्रयोगात्मक कक्षा नचलाउन माग गर्दै उनीहरूले डिन कार्यालयदेखि केन्द्रीय कार्यालयसम्म लबिङ गरेका थिए । विद्यार्थी, डिन कार्यालय र त्रिविका पदाधिकारी उनीहरूको मागविरुद्ध उभिएपछि बाध्य भएर कक्षा लिन थालेका छन् ।
स्रोतका अनुसार सोही विभागका एक प्राध्यापकले ल्यापटप नपाएको बताउँदै अनलाइन कक्षासमेत लिएका थिएनन् । विभागमा आएर हाजिर गर्ने, तलब लिने तर पढाउन नचाहनेलाईसमेत बाध्य पारेर प्रयोगात्मक कक्षा सुरु भएका हुन् ।
प्रत्यक्ष कक्षा सञ्चालन गर्ने त्रिविको निर्णय
त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ जोखिमबीच सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सम्भव नभएका ठाउँमा मात्र अनलाइन कक्षालाई निरन्तरता दिने निर्णय कार्यकारी परिषद्को छ ।
कोभिड–१९ का कारण गत चैतदेखि शैक्षिक संस्था बन्द थिए । त्यसको केही समयपछि अनलाइन कक्षा सुरु भएका थिए । त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले स्थानीय निकायसँग समन्वय गरी कोरोना जोखिम रोकथामका लागि पूर्वतयारी र सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्न सक्ने निर्णय गरिएको बताए ।
अनलाइन कक्षामा माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थी सहभागिता राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा एकदमै न्यून उपस्थिति थियो । तल्लो तहमा अधिकांश विद्यार्थी के–कस्तो अवस्थामा छन् भन्नेसमेत पहिचान गर्न त्रिविले सकेको थिएन । आठ महिनादेखि रोकिएका परीक्षा पनि त्रिविले धमाधम लिन थालेको छ ।
धमाधम खुल्दै काठमाडौंका विद्यालय
काठमाडौं उपत्यकाभित्रका विद्यालयसमेत धमाधम खुल्न थालेका छन् । केही स्थानीय तहले यसअघि नै कक्षा सञ्चालनमा ल्याएका थिए । केहीले भने अहिले निर्णय गरिरहेका छन् । शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण हुन नदिन स्वास्थ्य सावधानी अपनाउँदै कक्षा सञ्चालन भइरहेका छन् ।
काठमाडौं उपत्यकाबाहिरका स्थानीय तहले पनि सानो समूह र सिफ्टमा विद्यालय सञ्चालनमा ल्याएका छन् । वैकल्पिक विधिबाट कक्षा सञ्चालन प्रभावकारी नभएपछि प्रत्यक्ष पठनपाठन विधिमै फर्किनुपरेको हो ।
अनलाइन पहुँच कमजोर भएका कारण अभिभावकको सहमति लिएर स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याएका हुन् । काठमाडौंका कागेश्वरी मनहरा, शिवपुरी, गोकर्णेश्वर, शंखरापुर, चन्द्रागिरिलगायत नगरपालिकामा सानो समूहमा ‘फेस टु फेस’ कक्षा सञ्चालनमा छन् । ललितपुरका विद्यालय पनि खुल्न थालेका छन् ।
भक्तपुर नगरपालिकाले १ पुसदेखि कक्षा ८, ९ र १० मा प्रत्यक्ष पठनपाठन गराउने निर्णय गरेको छ । नगर शिक्षा समिति बैठकले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आलोपालो गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।