नवलपरासीको (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासमा ट्रयाक्टरचालकको मृत्युपछि बिहीबार रातिदेखि स्थानीयले अवरुद्ध गरेको पूर्व–पश्चिम राजमार्ग शुक्रबार बिहानबाट खुलेको छ।
प्रहरीको कुटाइबाट ट्रयाक्टरचालक २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको आरोप स्थानीयले लगाएका छन्। स्थानीयको प्रदर्शको कारण बिहीबार राति १ बजेदेखि नै दुम्कीबास क्षेत्र तनावग्रस्त बनेको थियो।
विनयी त्रिवेणी–२ को पहेलीभित्तास्थित विनयीखोलामा बिहीबार राति ११ बजे बालुवा लिन गएको लु.३त ८१७५ नम्बरको ट्रयाक्टरचालक यादवको मृत्यु भएको हो।
प्रहरीको कुटाइबाट यादवको मृत्यु भएको आरोप स्थानीयले लगाए पनि प्रहरीले त्यसलाई अस्वीकार गरेको छ। राति प्रहरीलाई देखेर भाग्ने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको दाबी प्रहरीले गरेको छ।
घटनाको विरोधमा स्थानीयवासीले बिहीबार राति १ बजेदेखि इलाका प्रहरी कार्यालय दुम्कीबासमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए।
त्यसक्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । राति भिडलाई तितरबितर पार्न १३ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान प्रहरीले प्रदर्शनकारीलाई हटाएर राजमार्ग खुलाएको हो।
स्थानीयवासीले घटनाको छानबिनको माग गरेका छन्। ज्यान गुमाउने यावदको स्थायी घर दाङको राजापुर गाउँपालिका–४ हो । उनी दुम्कीबासमा बसेर ट्रयाक्टर चलाउँदै आएका थिए। यादवको शव भरतपुर अस्पतालमा राखिएको छ।
शवको परीक्षण गरिने र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक विकास बमले जानकारी दिए।
स्थानीयवासीले भने घटनाको छानबिन गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिए पुनः आन्दोलन गर्ने बताएका छन्। राति अवैध रूपमा खोलामा गिटी–बालुवा लोड गर्दै गरेको अवस्थामा चारवटा ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तीनवटा भने खोलामै फसेका छन्।