क्यानडेली सरकारअन्तर्गतको ट्रेड कमिसनर सर्भिसेज (टिसिएस)ले नेपालका युवा व्यवसायी द्विराज शर्मालाई ट्रेड एड्भाइजर नियुक्त गरेको छ । क्यानडाले नेपालमा लगानी भित्र्याउने तथा दुई देशबीचको व्यापार बढाउने उद्देश्यले ट्रेड कमिसनर सर्भिसेजले अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष शर्मालाई ट्रेड एड्भाइजर नियुक्त गरेको हो ।
क्यानेडियन सरकारले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न र व्यापार बढाउन, समन्वय गर्न तथा सम्बन्ध बढाउन चाहेकाले ट्रेड एड्भाइजर नियुक्त गरेको जनाइएको छ । ट्रेड एड्भाइजर नियुक्त भएसँगै अब क्यानडाले नेपालमा लगानी गर्न तथा नेपालले क्यानडामा व्यापार बढाउन बाटो खुला भएको शर्माले बताए । भारतमा क्यानडाको ट्रेड कमिसनको कार्यालय रहे पनि नेपालमा अहिलेसम्म कार्यालय थिएन ।
क्यानडाले नेपालको कृषि, शिक्षा, एभिएसन, पूर्वाधार र क्लिन टेक्नोलोजीमा प्राथमिकता दिएको जनाइएको छ । नेपालमा प्रत्यक्ष रूपमा लगानी भित्र्याउन समेत क्यानडाले चाहना देखाएको शर्माको भनाइ छ । ट्रेड एड्भाइजर नियुक्तसँगै क्यानेडियन सरकार र नेपाल सरकारका सम्बन्धित निकायबीचमा समन्वय गर्ने, क्यानडाका कम्पनीलाई नेपालमा व्यापार र लगानीका विषयमा आवश्यक परामर्श तथा समन्वयका लागि पहल हुने जनाइएको छ ।
शर्माले नेपालमा विभिन्न क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव भएको र ग्लोबल एक्स्पोजर भएका कारण ट्रेड एड्भाइजरमा नियुक्त गरेको दाबी गरेका छन् । उनी अन्तर्राष्ट्रिय शिक्षा, ऊर्जा, पर्यटन, ट्रेडिङ, रियल इस्टेटमा लामो अनुभव भएका युवा व्यवसायी रहेको जनाइएको छ । शर्माले अस्ट्रेलिया, युरोप तथा भारतका लागि शैक्षिक परामर्श दिने व्यवसायी संघका अध्यक्ष रहेरसमेत काम गरिरहेको जनाइएको छ ।