राष्ट्रिय सुरक्षाको नाममा आफ्नै नागरिकको हत्या

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

कारिम आफ्नै मुलुक अमेरिकाले उनलाई सफाया गर्न चाहन्छ भन्नेमा विश्वस्त थिए

 १६ नोभेम्बरमा बिलाल अब्दुल कारिमको मुद्दा कोलम्बिया डिस्ट्रिक्टको पुनरावेदन अदालतसमक्ष प्रस्तुत भयो । यो मुद्दालाई लिएर सन् २०१९ को सेप्टेम्बरमा ट्रम्प प्रशासन र संघीय न्यायाधीशले स्विकारेको जिकिर के हो भने अमेरिकी सरकार बिलाललाई लडाकु ड्रोनबाट हेलफायर मिसाइल हानी सफाया गर्न स्वतन्त्र छ । यो राष्ट्रिय सुरक्षाको मामिला भएकाले न त कारिम स्वयं, न अमेरिकाको सर्वाेच्च अदालतले यसमा हस्तक्षेप गर्न सक्छ । राज्य प्रायोजित मानवअधिकार उल्लंघनविरुद्ध लडिरहेका अधिवक्ताको संगठन ‘रिप्राइभ’ र कानुनी सहायता दिने लुइस वाच काउफमान मिडलमिसको डिसीस्थित फर्मले कारिम र अलजजिराका पत्रकार अहमद जाइदानको पक्षमा यो मुद्दा अदालत लगेका थिए ।

नागरिक अधिकारप्रति समर्पित न्युयोर्ककी एउटी महिलाद्वारा लालनपालन गरिएका कारिम केही समय स्ट्यान्ड–अप कमेडीमा लागे र पछि इस्लाममा लागेर सिरियामा युद्ध पत्रकारका रूपमा मुस्लिम अधिकारको पक्षमा उभिन पुगे । जाइदानचाहिँ अलजजिराको इस्लामाबाद ब्युरो प्रमुखका रूपमा पहिलेबाटै मिडियामा थिए । उनले ओसामा बिन लादेनबारे केही सनसनी खोज प्रसारण गरिसकेका थिए । यसै कारण सिआइएले जाइदानलाई गलत मनसायले अलकायदाको लेबल लगाएर सफायाको सूचीमा राखेको इडवार्ड स्नोडेनले लिक गरेको दस्तावेजबाट सबैले थाहा पाए । ती संघीय न्यायाधीशले जाइदान पाकिस्तानबाट दोहा फर्केलगत्तै अब उनमाथि मारिने खतरा नरहेको ठानी उनको मुद्दालाई सन् २०१८ मै खारेज गरिदिइन् । यी अश्वेत अमेरिकी नागरिकमाथि उनको आफ्नै सरकारले सफाया गर्न प्रयास गरिरहेको पाएपछि कारिमको मुद्दामा भने न्यायाधीशले उनकै पक्षमा फैसला दिइन् । सम्भवतः सिआइए उनले सिरियाली गृहयुद्धमा संलग्न मानिससँग लिएको अन्तर्वार्ता प्रसारण नहोस् भन्ने चाहन्थ्यो । त्यसैले सिआइएले कारिमलाई मार्न खोजेको थियो । एउटा विषयचाहिँ प्रस्ट छ– पाँचवटा प्रहारमा उनी बालबाल बाँचेका हुन् । उनको कार्यालय भवनमा दुईपटक ड्रोनबाट बम हानिएको थियो, अर्काे दुईपटकको हत्या प्रयासचाहिँ उनी चढेको गाडीमाथि बम प्रहार गरेर भएको थियो, जुन उनी ओर्लिएलगत्तै निसाना दागिएका थिए । पाचौँपटकको प्रहारसम्ममा कारिम उनको आफ्नै मुलुक अमेरिका उनलाई सफाया गर्न चाहन्छ भन्नेमा विश्वस्त भइसकेका थिए । आखिर त्यस बखत त्यस क्षेत्रमा हतियारलैस ड्रोन प्रयोग गर्ने एक मात्रै मुलुक अमेरिका जो थियो ।

अमेरिकी सरकार राष्ट्रिय सुरक्षाको नाममा जुनसुकै स्थानमा जोकसैलाई सफाया गर्ने अधिकार आफूसँग भएको तर्क गर्दै छ, भलै ती आफ्नै नागरिक किन नहुन्, यसले उसलाई स्वेच्छाचारी बनाउँदै छ 

राष्ट्रपति बाराक ओबामाको विरासतलाई डोनाल्ड ट्रम्पको ह्वाइटहाउसले अझै विस्तार ग¥यो । ओबामाले डिटेन्सन बिदाउट ट्रायलको स्थानमा ग्वान्टानामोको खाडीमा एक्जिक्युसन विदाउट ट्राइल सञ्चालन गरिरहेका थिए । उनले सन्दिग्ध आतंकवादीलाई कहाँ–कहाँ सिध्याउने कुनै सीमा निर्धारण नगरीकन छाडिदिएका थिए । आफ्नो पुस्तक अ प्रमिस्ड ल्यान्डमा ओबामा लेख्छन्– सन्दिग्ध आतंककारीलाई अधिकतर अफगानिस्तान र इराकका युद्धमैदान र कहिलेकाहीँ बाहिर पनि सफाया गरिन्छ । वास्तवमा उनले उक्त सफाया सूचीलाई आतंककारीलाई लक्षित गर्न मात्रैमा सीमित गरेनन् । सन् २००९ बाट सफाया सूचीमा ड्रग डिलर्सलाई पनि समावेश गर्न थालियो । आखिर हामी आतंकवादविरुद्धको लडाइँभन्दा अघिबाटै लागुऔषधविरुद्धको लडाइँमा थियौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तर्तेले कार्यकालको पहिलो वर्षमै सात हजार लागुऔषध तस्करको हत्या गरे । उनी त आफूले नै पनि एकजना लागुऔषध तस्करको हत्या गरिदिएको भनेर मखलेल भएर प्रस्तुत हुन्थे । किनकि, उनी लागुऔषध समाजका लागि आतंकवादभन्दा बढी हानिकारक रहेको ठान्छन् । अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सीले पनि तालिवानलाई अफगानी हेरोइन व्यापारबाट आर्थिक सहयोगको हवाला दिँदै सफायाको सूचीमा ड्रग डिलर्सहरूलाई पनि समावेश गरेको तथ्य एडवार्ड स्नोडेनले लिक गराएको ‘जोइन्ट प्रायोरिटिज्ड इफेक्ट लिस्ट’सम्बन्धी दस्तावेजमा खुलासा भए । यस मामिलामा डोनाल्ड ट्रम्प अझ अघि देखिए । आफ्नो राष्ट्रपतिकालको अन्तिम क्षणमा पनि ट्रम्प प्रशासनका डिपार्टमेन्ट अफ जस्टिसका अधिवक्ताहरू ओबामा डक्ट्रिनलाई तार्किक चरमतामा लगिरहेका छन् । कारिमहरूले आफ्नै सरकारले उनीहरूलाई फेरि मार्न प्रयास नगर्नेमा आश्वस्त हुन खोजेका हुन् । 

तर, कोलम्बिया जिल्लास्थित पुनरावेदन अदालतमा राष्ट्रपतिले कसको हत्या गर्न चाहेका थिए भन्ने कुनै पनि तथ्य अति गोपनीय विषय हुने ट्रम्प प्रशासनका अधिवक्ताको जिकिर थियो । साथै, उनीहरूले राष्ट्रिय सुरक्षाको विशेषाधिकारको लक्ष्मणरेखाको सम्मान गर्न पनि न्यायाधीशसँग माग गरेका छन् । र, अदालत वा अन्य कसैबाट पनि विनारोकतोक आफूहरूलाई चाहेको गर्ने अनुमति दिनुपर्ने कुरामा पनि जोड दिए । डरलाग्दो कुरा, संघीय न्यायाधीश त्यसमा सहमत भए । अमेरिकी सरकार राष्ट्रिय सुरक्षामा खतरा लागेमा जुनसुकै स्थानमा जोकसैलाई सफाया गर्ने अधिकार आफूसँग भएको तर्क गर्दै छ, चाहे ती आफ्नै नागरिक किन नहुन् । यसले उनीहरूलाई स्वेच्छाचारी बनाउँदै छ ।  

(स्मिथ मानवअधिकार कानुनविद् हुन्)
अलजजिराबाट

सुझावित समाचार