कोरोना महामारी र सरकार

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

०७६ पुसतिरको समय हो, विश्व महाशक्ति बन्ने होडमा चीनले जैविक अस्त्र तयार पारेको छ, जुन विश्वभर फैलाइनेछ भन्ने हल्ला सुनियो । दिन बित्दै जाँदा फलानो देशमा यति र फलानो देशमा त्यतिजनाको मृत्यु भयो भन्ने समाचार आउन थाले । तिनताका लाग्थ्यो, हाम्रो देशमा कोरोना आयो भने यसले ठूलो क्षति पुर्याउनेछ । पछि मानिसले कोरोना जितेको खबर पनि आउन थालेपछि थोरै मनोबल बढ्न थाल्यो । कोरोनाले महामारीको रूप लिन थालेपछि देश–विदेशबाट मानिसहरू आ–आफ्नो घर फर्कन थाले । कोरोनाले आफ्नो बाहुपास फैलाउन थालेपछि सरकारले विज्ञका सुझाबका आधारमा लकडाउन गर्ने निर्णय लियो । सबै गतिविधि ठप्प हुँदा बाहिरबाट आउने नेपाली दाजुभाइलाई गन्तव्यसम्म पुर्याउनु ठूलो चुनौती हुन गयो । चुनौतीकै बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, पार्टी महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका संरक्षक विष्णु रिमाल, अर्थमन्त्री युवराज खतिवडा तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपाल ल्याउनका लागि ठूलो सहयोग गर्नुभयो । त्यसैको परिणाम हो कि इतिहासमा पहिलोपटक नेपाली झन्डा फहराउँदै नेपालको विमान बहराइनसम्म पुगेर नेपाली श्रमिकलाई लिएर आयो । 

त्यति नै वेला प्रधानमन्त्रीले बेसार र तातो पानी खाएर कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिनुभयो । उहाँको अभिव्यक्तिलाई मिडिया हुँदै सामाजिक सञ्जालसम्म आलोचनाको विषय बनाइयो । हुँदाहुँदा कार्टुन बनाएर, फोटो खिचेर समेत प्रधानमन्त्रीलाई आलोचनाको तारो बनाइयो, तर पछि सबैले उनकै बाटो पछ्याउँदै बेसार र तातो पानी खाएर ज्यान जोगाए । समाजमा कोरोनाको उच्च संक्रमण नदेखिए पनि त्यसले हाम्रो मानसिकतामा भने निकै गहिरो प्रभाव पारेको थियो । त्यसैले त्यसबाट जोगिनका लागि के–के गर्ने भन्नेबारे पनि अनेकन अफवाह फैलिए । कति साथीहरूले स्यानिटाइजर शरीरबाहिर लगाएर मात्रै हुँदैन, भित्र पनि लगाउनुपर्छ भनेपछि झ्वाइँखट्टे खोज्न हिँडेको सम्झना छ । यसै क्रममा विराटनगरका जिफन्ट प्रदेश अध्यक्ष किशोर धमला, क्युपेक नेपालका अध्यक्ष नरनाथ लुइँटेल, आम्दाका खेम अर्याललगायतलाई पोजिटिभ देखियो । पछि त जिफन्टका अध्यक्ष विनोद श्रेष्ठसहित घरका १७ जनामा संक्रमण देखियो भन्ने सूचना आयो । त्यति वेला जिफन्ट लुम्बिनी प्रदेशका उपाध्यक्ष टोलराज पौडेललाई श्वासप्रश्वासमा समस्या देखियो । पछि उहाँलाई अस्पताल नै भर्ना गर्नुपर्यो । पिसिआर रिपोर्टमा नेगेटिभ देखिए पनि उहाँलाई बचाउन सकिएन । 

जनताको काममा हिँड्दाहिँड्दै आफैँलाई कहिले संक्रमण भएछ भन्ने नै पत्तो पाइएन, तर उच्च मनोबलका साथ तातो पानी, बेसारपानी, गुर्जो खाएर कोरोनालाई बिदा गरियो

यसबीच, सरकारको तर्फबाट र संगठनको तर्फबाट अप्ठेरोमा परेका सबैलाई कसरी सहयोग गर्न सकिन्छ भनेर प्रयास गरियो । त्यही प्रयासको परिणाम भन्नुपर्छ, समाजमा जुन स्तरमा कोरोनाको संक्रमण हुने थियो, त्यो हुन सकेन । सोहीबीचमा यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, स्वास्थ्यकर्मी युनियनका चन्द्र थापासहितका साथीभाइलाई कोरोना पोजिटिभ देखियो । पछि उहाँहरू पनि निको हुनुभयो । त्यसैबीच, टे«ड युनियन आन्दोलनकी साथी देवी गोदारको कोरानाकै कारण देहावसान भयो । बितेका यी आठ महिनामा कतिवेला उत्साहित भएर त कतिवेला निकै दुःखका साथ मानसिक रूपमा आफूलाई सशक्त पार्दै जनताको काममा निरन्तर लागियो । कोरोनाले सबैभन्दा बढी समस्यामा पारेको वर्ग भनेकै मजदुर वर्ग हो । मजदुर, श्रमिकहरू लामो समय कामको अभावमा बेरोजगार हुने हो भने प्रत्यक्ष आश्रित परिवार र त्यो परिवार हुँदै त्यसले समग्रमा देशको अर्थतन्त्रलाई नै प्रभावित पर्नेछ भन्ने पहिलेदेखि नै चिन्तन नगरिएको होइन । 

अनेकन कठिनाइ पार गर्दै लकडाउनकै बीचमा उद्योग प्रतिष्ठान खोलिनुपर्छ भन्ने मत माथिल्लो कमिटीमा राख्दै, त्यसको पक्षमा लबिङ गरियो । सुरक्षाका सम्पूर्ण विकल्प अपनाउँदै उद्योग प्रतिष्ठान खोल्न सकिने हो भने त्यसले देशको अर्थतन्त्रलाई कालान्तरमा सकारात्मक परिणाम दिनेछ र तत्कालका लागि श्रमिक, मजदुर तथा गरिखाने वर्गलाई सहयोग गर्नेछ भन्ने लागि नै रहेको थियो । शीर्ष नेतृत्वसँग यसबारे कैयौँपटक छलफल र अन्तरक्रिया गरियो । जे होस्, परिणाम सकारात्मक आयो र प्रतिष्ठानहरू खुले । पहिलेदेखि नै लकडाउनको अधिकार केन्द्रमा होइन कि प्रदेशमा हुनुपर्छ भन्ने मत राख्दै आएको थिएँ । विभिन्न चाडपर्व लकडाउनकै बीचमा विनाउत्साह बिते । जनताको काममा हिँड्दाहिँड्दै आफैँलाई कहिले संक्रमण भएछ भन्ने नै पत्तो पाइएन । तर, उच्च मनोबलका साथ तातो पानी, बेसारपानी, गुर्जो आदि खाएर बाफ लिँदै कोरोनालाई जीवनबाट बिदा गरियो । कोरोना लागेपछि जिब्रोमा स्वाद हुन छोड्ने तथा खाना नरुच्ने हुनाले केही समय अप्ठेरोजस्तो भए पनि पछि बलपूर्वक बाँच्नकै लागि पानीले बगाएर खानेकुरा खान थालियो । अन्ततः कोरोनालाई मैले मेरो जीवनबाट त बिदा गरेँ, अब मुलुकले पनि यसलाई परास्त गरेर पूर्ववत् ढंगले अघि बढ्नुपर्नेछ । 

(गौतम जिफन्टका केन्द्रीय उपाध्यक्ष हुन्)

सुझावित समाचार