जेनेट एलेनको चयनले उब्जाएको आशा

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

एलेनले विश्वलाई थप राम्रो बनाउन नेतृत्व गर्न सक्छिन्, तर उनले नवउदारवादी विचारधारा विस्थापित गर्नुपर्छ 

राष्ट्रपति पदको निर्वाचनमा विजयी भएर शपथग्रहण पर्खिरहेका जो बाइडेनले जेनेट एलेनलाई अमेरिकाको अर्थ मन्त्रालयको काम गर्ने डिपार्टमेन्ट अफ ट्रेजरीको भावी नेतृत्व सुम्पने घोषणा गरेका छन् । जेनेटको आगमन अमेरिकाका लागि मात्र होइन, विश्वकै लागि सुखद समाचार हो । अमेरिकाले चार वर्षसम्म एकजना बेइमान राष्ट्रपतिलाई झेल्नुप¥यो । विधिको शासनप्रति सम्मान नभएका ट्रम्पमा लोकतान्त्रिक कार्यपद्धति, बजार अर्थतन्त्र र सामान्य मानवीय शिष्टताप्रति समेत कुनै आदरभाव देखिँदैनथ्यो । राष्ट्रपतीय चुनाव सकिएकै रातबाट ट्रम्पले तथ्यहीन चुनावी धाँधलीको कुरा उछालिरहेका छन् । उनले आफ्नो पार्टीको ठूलो हिस्सालाई यो झुटमा सहमत गराएको देखिन्छ । यसमार्फत ट्रम्पले अमेरिकी लोकतन्त्रको कमजोरी खुलासा गरिदिए । 

ट्रम्पको पालामा भएको क्षतिलाई उल्टाउन सजिलो छैन । अबको केही साता वा महिनाभित्रै एकभन्दा बढी कैयौँ खोपको प्रयोग सुरु हुनेछ । त्यस परिप्रेक्षमा सबैभन्दा पहिले गर्नुपर्ने काम अर्थतन्त्रलाई हालको संकटबाट पुनरुत्थान गर्नु हुनेछ । महामारीपछिको अर्थतन्त्र कस्तो बनाउने भन्ने कुरा अहिलेका कदमले निर्धारण गर्छन् । अर्थतन्त्रको पुनरुत्थान भावी एजेन्डाको पहिलो स्थानमा हुनुपर्छ । ‘भी अकारको आर्थिक पुनरुत्थान’का लागि धेरै ढिलो भइसक्यो । धेरै व्यवसाय टाट पल्टिसकेका छन् र आगामी महिनासम्म यो क्रम जारी रहनेछ । धेरै घरपरिवारको आयस्रोत नै टुटेको अवस्था छ । समाचारमा आउने तथ्यांकले संकटको गहिराइलाई कम देखाउने जोखिम पनि छ । महाव्याधिले आयआर्जनका आधारमा समाजको तल्लो तहमा रहेका वर्गमाथि सबैभन्दा ठूलो आघात पु¥याएको छ । साथै, आर्थिक वितरणको अवस्था पनि नराम्ररी बिथोलिएको छ । विभिन्न आर्थिक नीति तथा योजनाबाट सहयोग लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरूको ऋण बढेकोबढ्यै छ र केही समयमा त्यसमध्येबाट पनि धेरै धराशायी हुने सम्भावना छ ।

ट्रम्पले मे महिनामा कोभिड–१९ आफैँ हराएर जाने बताइरहेका थिए । संकटको विकरालता स्विकार्ने राष्ट्रपति भएको भए अहिले अमेरिकाको अवस्था बिल्कुल अलग हुने थियो होला । सुरुमा ल्याइएको सहायता कार्यक्रम पछि लम्ब्याइएन, जसले गर्दा पन्छाउन सकिने आर्थिक क्षति पनि अहिले विकराल समस्या बनेर आएको छ । रेस्टुराँ तथा यात्रा उद्योगको क्षतिले अधिकांशको ध्यान तानेको छ, तर समग्र अर्थतन्त्रको समस्या देखिएभन्दा निकै विकराल हुन सक्छ । शैक्षिक संस्था विशेषतः कलेज तथा विश्वविद्यालयहरू सबैभन्दा बढी प्रभावित भएका छन् । राज्य तथा स्थानीय सरकारको हातखुट्टा सन्तुलित बजेट कानुनले बाँधिएका छन् । तिनीहरू आममानिसको आयमा आइरहेको विकराल ह्रासलाई टुलुटुलु हेरेर बस्नुपर्ने अवस्थामा छन् । संघीय सहायताविना तिनले आफ्ना कर्मचारी तथा सार्वजनिक कार्यक्रमको समेत कटौती गर्नुपर्नेछ । यसले समग्र अर्थतन्त्रलाई थप कमजोर बनाउनेछ ।

अमेरिकाले चार वर्षसम्म निर्लज्ज झुट बोल्ने बेइमान राष्ट्रपति झेल्यो र अहिले यसका सामु महामारीपछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने कठिन जिम्मेवारी आइपरेको छ । सौभाग्यवश ! बाइडेनले चुनेकी भावी ट्रेजरी सेक्रेटरी आजको आर्थिक चुनौती सामना गर्न सबैभन्दा बढी सक्षम व्यक्ति हुन् । 

अमेरिकालाई अहिले सबैभन्दा कमजोर परिवार तथा क्षेत्रको सहयोग गर्ने ठूलो सहायता कार्यक्रमको आवश्यकता छ । त्यसबाट बढ्ने खर्चले निम्त्याउने ऋणलाई लिएर धेरै चिन्ता गर्नु हुँदैन । ब्याजदर झन्डै शून्यमा झरेको र अझै कैयौँ वर्ष सोही अवस्थामा रहने सम्भावनामाझ नयाँ ऋणले पार्ने भार न्यून नै हुनेछ । त्यसबाहेक अर्थतन्त्रलाई दिगो, बलियो तथा ज्ञानको आधार अघि बढाउने कार्यक्रम ल्याएर धेरै अत्यावश्यक पुनरुत्थान कार्यक्रमको योजना बनाउन सकिन्छ । हुन त धेरै कुरा अमेरिकी कंग्रेसमा पनि निर्भर हुनेछ, तर सहायता बढाउँदाको आर्थिक फाइदा भने स्पष्ट छ र जेनेट यो कुरा बुझाउन सक्ने सक्षम व्यक्ति हुन् । कैयौँ कुरा आर्थिक उठानमा पनि भर पर्नेछ । यसमा नयाँ आउन लागेको प्रशासनले गर्न सक्ने धेरै छ । अहिले विश्वव्यापी रूपमा पाँच सय अर्ब डलर स्पेसल ड्रइङ राइट्सको प्रत्याभूतिप्रतिको समर्थन देखिन्छ । आइएमएफको निगरानीमा रहने सबै राष्ट्रमा मान्य हुने मुद्रा हो, स्पेसल ड्रइङ राइट्स । यसले थुप्रै संघर्षरत अर्थतन्त्रलाई सघाउन सक्छ । ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो विकल्पलाई निस्तेज गरिदिएका थिए । अब यसलाई पनि भावी एजेन्डाको शीर्ष स्थानमा राख्नुपर्छ । 

त्यसका अतिरिक्त आगामी दिन धेरै देश आफ्ना ऋण तिर्नुपर्ने दायित्व पूरा गर्न अक्षम हुनेछन् । यसलाई मध्यनजर राखेर तत्कालै एउटा गहन पुनर्संरचना कार्यक्रम ल्याएमा धेरै सघाउ पुग्नेछ । यस प्रक्रियालाई अगाडि बढाउनका लागि बाइडेन प्रशासनले सार्वभौम उन्मुक्तिले अमेरिकाकै राष्ट्रिय स्वार्थलाई सहयोग पु¥याउँछ भनेर स्पष्ट भन्नुपर्छ । यसअघि नै सन् २०१५ मा सार्वभौम उन्मुक्तिलाई संयुक्त राष्ट्रसंघका बहुसंख्यक देशले अनुमोदन गरेका थिए । विश्वव्यापी आर्थिक पुनरुत्थानका लागि ऋण पुनर्संरचना आवश्यक छ र यो मानवीय कार्यमा पर्छ । अभूतपूर्व कदम चाल्ने उपयुक्त समय यदि कुनै थियो भने त्यो अहिले नै हो । 

बहुपक्षीयतातर्फको पुनरागमनले निश्चित रूपमा सघाउ पुग्नेछ । विगत चार वर्षसम्म अमेरिका र बाँकी विश्वबीच कैयौँ विवाद बल्झाइयो । यी विवादले विश्व अर्थतन्त्रमा अनिश्चितताको बादल पारेको छ । आर्थिक क्षेत्रमा आइपर्ने अनिश्चितताले व्यापारलाई असर गर्छ र यो लगानीलाई पनि यो वातावरणले क्षति पु¥याउँछ । अमेरिकाले सामान्य अवस्थामा फर्किने प्रयास ग¥यो भने अनिश्चितताको बादल हटाउन सहयोग पुग्छ । अमेरिकाले पुनः पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनमा पुनरागमन गरेर यसको सुरुवात गर्न सक्छ । त्यसबाहेक पनि विश्व व्यापार संगठनसँगको अन्तरक्रियालाई पनि अमेरिकाले वृद्धि गर्नुपर्नेछ । 

तर, सामान्य अवस्थातर्फको फिर्तीको अर्थ नवउदारवादतर्फको फिर्ती होइन । व्यापार तथा २१औँ शताब्दीको आर्थिक ढाँचा, नीतिगत एजेन्डाहरू पुनरावलोकन गरिनुपर्छ र आवश्यक ठाउँमा सुधार गरिनुपर्छ । तर, यस मार्गमा जो बाइडेन कति अगाडि जान तयार हुन्छन्, हालसम्म स्पष्ट भएको छैन । तर, कम्तीमा यतिमा विश्वस्त हुन सकिन्छ कि आगामी प्रशासनले ट्रम्पको प्रशासनमा मूल सिद्धान्तजस्तो भएको हरेक कुरामा लेनदेनको तर्क अघि सार्नेछैन । विश्वव्यापी स्थिरता प्रत्याभूत गर्नका लागि जलवायु परिवर्तन, महामारी तथा अन्य जोखिमविरुद्ध सघन सहकार्यको आवश्यकता पर्छ । मुख्य चुनौती आफ्नो मूल्यमा पूर्णतः तथा मौखिक रूपमा प्रतिबद्ध रहँदै अगाडिको मार्ग पहिल्याउनेमा हुनेछ । हुन त ट्रम्पले अन्तर्राष्ट्रिय सम्बन्ध तथा आर्थिक नियमहरूमाथि गम्भीर प्रहार गरे, तर तिनमा पहिलेदेखि नै चिरा देखिन थालिसकेको थियो । 

आखिरमा सन् २००८ को वित्तीय संकटले आर्थिक क्षेत्रमा कुनै नियम/बन्धन नहुने अवस्थाको माग गर्ने नवउदारवादलाई अप्रासंगिक घोषित गरिदियो । त्यसपछि देखिएको युरो संकटमा अपनाइएको आर्थिक मितव्ययिताले पनि काम नगर्ने प्रमाणित भइसकेको छ । नवउदारवादले न्यून आर्थिक वृद्धि गराएको, असमानता उच्च बनाएको र यो विचारधारा पछिल्लो समय देखिएका धेरै सामाजिक तथा राजनीतिक दुरवस्थाको कारक भएको स्पष्ट भएको छ । अहिले आएर महामारीले नवउदारवादलाई अन्तिम धक्का दिएको छ । नवउदारवादी अर्थतन्त्रको ठूला धक्का सहने क्षमता कम हुने र राज्यले पनि संकटविरुद्ध प्रभावकारी कार्य गर्न नसक्ने देखियो । एलेनले महामारीपछिको विश्वलाई थप राम्रो बनाउने कार्यको नेतृत्व गर्न सक्छिन् । यसमा सफल हुनका लागि धेरैलाई मार पारेर थोरै हिस्साको सेवा गर्ने विचारधारालाई परित्याग गरेर प्रजातान्त्रिक मूल्यमान्यतामा आधारित र वितरण गर्ने विचारधारा अंगीकार गर्नुपर्छ । 

(विश्व बैंकका पूर्व वरिष्ठ उपाध्यक्ष जोसेफ ई. स्टिग्लिस अर्थशास्त्र विधामा नोबेल पुरस्कार विजेता पनि हुन् ।)

सुझावित समाचार