अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारीका कारण ओलम्पिक खेल आयोजना गर्नेसम्बन्धी यसअघि गरिएका तयारी स्थगन गरिए पनि अब चाँडै यसबारेमा प्रयत्न थालिने सो राज्यका अधिकारीहरूले बताएका छन् ।
राज्यकी मुख्यमन्त्री अनास्तासिया पालास्जुकले ओलम्पिक कार्यदल गठन प्रक्रिया थालनी गरिएको जानकारी दिइन् । उनले कार्यदलको सुझाबबमोजिम क्विन्सल्यान्डमा ओलम्पिक खेल ल्याउन प्रयत्न गरिने बताइन् ।
उनले कार्यदलका सदस्यहरूले सन् २०२१ को जुलाई २३ का लागि तय भएको टोक्यो ओलम्पिकका गतिविधिलाई नजिकबाट नियालिरहेको जानकारी पनि दिइन् । उनले भनिन्, ‘कोरोना भाइरसको संकटपछिको विश्वमा टोक्यो ओलम्पिकको विकासक्रमलाई हामीले ध्यान दिनुपर्छ ।’
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अस्ट्रेलियाली ओलम्पिक कमिटीका अध्यक्ष जोन कोट्ससँग सोमबार नै मुख्यमन्त्री पालास्जुकले भेटवार्ता गरेकी छिन् ।
कोट्सका अनुसार सन् २०३२ को ओलम्पिक आयोजनाका लागि हालसम्म मोटामोटी पाँचवटा देशले चासो देखाएका छन् । कोट्सले अस्ट्रेलियामा कोरोना भाइरस संक्रमण लगभग नियन्त्रणमा आइसकेकाले सबै अस्ट्रेलियावासीले ओलम्पिक खेलको आयोजनाबारे सकारात्मक रूपमा सोच्न सक्ने बताइन् ।
उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले जापानका प्रधानमन्त्री योसिहिडे सुगासँग गत महिना टोक्योमा भेटवार्ता भएको र टोक्यो ओलम्पिक निर्धारित मितिमै हुनेमा दुवै नेता सहमत भएको पनि जानकारी दिए ।