लमजुङमा कुकुर व्यवस्थापन गर्न निःशुल्क बन्ध्याकरण शिविर

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

लमजुङको बेसीसहरमा कुकुर व्यवस्थापन गर्न निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तीन दिनसम्म आयोजना हुने शिविरमा घरपालुवा तथा सडकमा रहेका भाले र पोथी कुकुरको बन्ध्याकरण गरिने भएको हो ।

बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले सडकमा रहेका छाडा कुकुरका कारण नागरिकले समस्या भोग्दै आएकोले बध्याकरण गरी व्यवस्थापन गर्न अभियान थालिएको बताए । घरपालुवा कुकुरलाई मात्र नभई शिविरमा सडकमा रहेका छाडा कुकुरहरूले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि रेविजविरुद्धको खोप दिने र बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर रुपेश श्रेष्ठले बताए ।

उनले भने- अब सडकमा हिँडडुल गर्ने नागरिक कुकुरबाट सुरक्षित हुनेछन्, रेबिज रोगको जोखिम कम हुनेछ  । शिविरमा दुई सय कुकुरलाई बन्ध्याकरण गर्ने योजना रहेको उनको भनाइ छ । आइतबारदेखि मंगलबारसम्म हुने बन्ध्याकरण शिविरमा सडकमा रहेका कुकुरलाई समातेर रेबिजविरुद्धको खोप लगाई बन्ध्याकरण गरिने भएको छ भने घरपालुवा कुकुरधनीहरूलाई बन्ध्याकरणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसम्म ल्याउन अनुरोध गरिएको  छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, बेसीसहर नगरपालिका र रिफरल पशु चिकित्सक काठमाडाैंको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।

सुझावित समाचार