सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तालिका रहेको छ ।
यस बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राखेका छुट्टाछुट्टै राजनीतिक प्रस्ताव स्थायी कमिटीमा पेस हुने कार्यक्रम रहेको छ ।
यसअघि सचिवालय बैठकमा दुवै अध्यक्षले बेग्लाबेग्लै राजनीतिक प्रस्ताव राखेका छन् । सो प्रस्तावबारे सचिवालयमा निर्क्याेल नभएपछि स्थायी कमिटीमा छलफलका लागि लगिन लागिएको छ ।
हिजो शनिबार बसेको सचिवालय बैठकमा सहमति नभएपछि उक्त प्रस्ताव स्थायी कमिटीमा नै लगेर छलफल गर्ने निर्णय स्थायी कमिटीका बहुमत सदस्यले गरेका थिए ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयका विभिन्न बैठकमा दुवै प्रस्ताव फिर्ता लिएर सहमतिको प्रस्ताव अघि लैजान प्रस्ताव गर्दै आएका थिए ।
तर, कार्यकारी अध्यक्ष दाहालले उक्त प्रस्तावबारे अस्वीकार गरेपछि दाहाल पक्षको अग्रसरतामा बहुमत सचिवालय सदस्यको निर्णयले स्थायी कमिटीमा छलफल गर्ने निर्णय भएबमोजिम आज ती प्रस्तावबारे छलफल हुने स्रोतले जनाएको छ ।
यसअघिका सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले अध्यक्ष ओलीविरुद्ध विभिन्न गम्भीर आरोपसहितका १९ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले दाहालमाथि पनि गम्भीर आरोप लगाउँदै ३८ पृष्ठ लामो आफ्ना प्रतिवेदन पेस गरेका थिए ।
यसपछि नेकपाका शीर्ष नेताहरूबीचको द्वन्द्व र टकराव लिखित तथा औपचारिक रूपमा देखापरेको हो भने त्यसयता निरन्तर आराेप–प्रत्यारोपका क्रम चलिरहेका छन् ।
कार्यकारी अध्यक्ष दाहालले नेतृत्व गरेको समूह बहुमत सदस्यका साथ उभिएको छ भने अध्यक्ष अल्पमतमा देखिएका छन् ।
सत्तारुढ दलभित्र देखिएको टकरावले झन्डै दुईतिहाइ मतसहित बनेको सरकारको कार्यक्षमता झन्डै शून्यजस्तै बन्न पुगेको छ । झन् कोरोना महामारीका वेला सरकारले उच्च सक्रियताका साथ भूमिका निभाउनुपर्नेमा पार्टीभित्रको द्वन्द्वले ठूलो अन्याेलता सिर्जना गरेको राजनीतिक विश्लेषकहरूले ठहर गर्दै आएका छन् ।