खेलाडीले आफ्नो पसिना चुहाएर राष्ट्रलाई अन्तर्राष्ट्रिय एरिनामा पदक दिलाउँछन् । त्यही पदकमै राष्ट्रले वर्षौंसम्म गर्व गर्छ । राष्ट्रले पनि खेलाडीको सम्माननिमित्त प्रोत्साहन पत्ता प्रदान गर्ने गर्छ । विकसित राष्ट्रहरूले खेलाडीको सम्मानस्वरूप मासिक भत्ता दिँदै आइरहेका छन् । नेपालमा पनि पञ्चायतकालमा खेलाडीले कुनै न कुनै रूपमा राज्यबाट सम्मानित हुने र प्रोत्साहनस्वरूप रकम पाएका थिए ।

फाइल तस्बिर : नयाँ पत्रिका
गणतन्त्रमयी बनेको नेपालमा खेलाडीले पछिल्लो चार वर्षदेखि नियमित प्रोत्साहन भत्ता राज्यबाट प्राप्त गरिरहेका छन् । ओलम्पिकमा सहभागी, एसियन खेलकुदमा कुनै पदक तथा दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेता खेलाडीलाई राज्यले प्रत्येक महिना प्रोत्साहनस्वरूप निश्चित रकम प्रदान गर्दै आइरहेको छ । ओलम्पिकमा सहभागी खेलाडीले प्रतिमहिना चार हजार, एसियनका पदक तथा सागका स्वर्ण विजेताले ६ हजार रुपैयाँ पाउने गर्छन् । प्रोत्साहन भत्तामा राज्यले १५ प्रतिशत कर काट्छ । तर, पछिल्लो पाँच महिनादेखि राष्ट्रलाई पदक दिलाएका उनै खेलाडी प्रोत्साहन भत्ताविहीन छन् ।
आर्थिक वर्षदेखि नै पाउँदै आएको प्रोत्साहन भत्ता नपाएपछि खेलाडी पटकपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा हारगुहार गरिरहेका छन् । राखेपले कार्यविधि नबनेको कारण देखाउँदै प्रोत्साहन भत्ता खेलाडीलाई तत्काल नदिइएको बताइएको छ । ‘विगत तीन–चार वर्षदेखि हामीले नियमित रूपमै प्रोत्साहन भत्ता पाइरहेका थियौँ, यस वर्षको साउनदेखि हामीले त्यो रकम पाउन सकेका छैनौँ,’ सागमा करातेबाट नेपाललाई दोहोरो स्वर्णपदक दिलाएका तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नयाँ पत्रिकालाई बताए ।
सरकारले नयाँ ऐन जारी गरेको अवस्था छ । ऐनअनुसार एक रुपैयाँ खर्च गर्नुपरे पनि कार्यविधि तयार गर्नुपर्ने भएकाले खेलाडीको प्रोत्साहन भत्ता रोकिएको बुझाइ श्रेष्ठको छ । श्रेष्ठ भन्छन्, ‘नयाँ ऐनले कार्यविधिअनुसार मात्र खर्च गर्न भनिएको छ, अब प्रोत्साहन भत्ता प्राप्त गर्न कार्यविधि पहिला बन्नुपर्छ, तर ५–६ महिना भइसक्दा पनि कार्यविधि बनेको छैन ।’ केही समयअघि मात्र खेलाडी संघले युवा तथा खेलकुद मन्त्रालयसँग यसै सम्बन्धमा छलफल गरेको उनले बताए ।
‘हामीले यसबारेमा खेलकुदमन्त्री र सचिवज्यूसँग कुरा गर्यौँ, उहाँले कार्यविधि बन्ने क्रममा रहेको जानकारी दिनुभयो,’ श्रेष्ठले भने, ‘कार्यविधि क्याबिनेटबाट पास भए मात्र प्रोत्साहन भत्ता भनिएको छ ।’ राज्यले दिँदै आइरहेको प्रोत्साहन भत्ता नदिँदा यसको असर युवा खेलाडीमाथि पर्न सक्ने श्रेष्ठले औँल्याएका छन् । भन्छन्, ‘१३औँ सागमा नेपालले ऐतिहासिक रूपमा ५१ स्वर्ण जितेको थियो, धेरैजसो युवा खेलाडीले नै पदक जिते, समयमै प्रोत्साहन भत्ता नपाउँदा उनीहरू निराश हुनेछन्, पछि त्यही जोसका साथ प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने चिन्ता छ ।’
राज्यले स्वदेशमा रहेका खेलाडीलाई मात्र प्रोत्साहन भत्ता दिन्छ । पदक विजेता भए पनि विदेशमै बसोवास गर्नेलाई प्रोत्साहन भत्ता प्रदान गरेको छैन । साग इतिहासमा लगातार तीन स्वर्णपदक जितेर तहल्का मच्चाएका धावक वैकुण्ठ मानन्धरले प्रोत्साहन भत्ता पाउने आशा मारेका छन् । ‘हामीले बरु पञ्चायतकालमै राम्रो भत्ता पाइरहेका थियौँ, पाँच महिना भइसक्यो, हामीले पाएका छैनौँ, अहिले पाउने आशा नै मारेका छौँ,’ ६९ वर्षीय मानन्धरले भने ।
जागिर नभएका खेलाडी र आर्थिक रूपले कमजोर भएका खेलाडीका नजरमा राज्यले दिने प्रोत्साहन भत्ताले धेरै सहयोग गर्ने उनले बताए । मानन्धर भन्छन्, ‘वास्तवमा जागिर नभएका हामीजस्ता खेलाडीलाई प्रोत्साहन भत्ताले निकै ठूलो अर्थ राख्छ, भत्ता पाउँदा कसैसँग पनि माग्नुपर्ने अवस्था हुँदैन ।’ करातेका श्रेष्ठजस्तै मानन्धर पनि नियमित भत्ता पाउँदा आउने खेलाडीको मनोबल उच्च हुने बताउँछन् ।
‘जब राज्यले खेलाडीको सम्मानमा नियमित भत्ता प्रदान गरिरहेको हुन्छ, आउने युवा खेलाडी पनि उत्साहित हुन्छन् र राज्यका लागि केही गरौँ भन्ने भावनाका साथ मैदानमा ओर्लन्छन्, जब केही पाउँदैनन्, त्यसपछि उनीहरू यसबाट विस्थापित हुन बाध्य हुन्छन्,’ मानन्धरले भने, ‘राज्यले खेलाडीको मिहिनेतको कदर गर्नुपर्छ ।’ साग खेलकुदमा लगातार चार स्वर्ण विजेता र एसियाडमा ब्याटु ब्याक कास्य जितेका तेक्वान्दोका दीपक विष्टले राज्यले खेलाडीलाई उचित सम्मान गर्न नसकेको बताए ।
‘राज्यले खेलाडीलाई गर्नुपर्ने सम्मानप्रति कन्जुस्याइँ गर्न हुन्न, खेलाडीले कहिले पनि सम्मान माग्दैनन्,’ विष्टले भने, ‘प्रोत्साहन भत्ता धेरै खेलाडीको जीविकोपार्जन गर्ने माध्यम पनि हो ।’ नेपाली खेलकुदको इतिहासमा छनोट चरण पार गरी पहिलोपटक ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी भएकी तेक्वान्दो खेलाडी संगिना वैद्य खेलकुद संरचना परिवर्तन भएकाले नै प्रोत्साहन भत्ता नपाएको बताउँछिन् ।
‘अहिले खेलकुद संरचना नै परिवर्तन भएको छ, नयाँ ऐनले गर्दा नै यस्तो समस्या आएकोजस्तो लाग्छ,’ वैद्य भन्छिन् । सन् २००४ मा ग्रिसमा भएको ओलम्पिकमा वैद्यले छनोट चरण पार गरी स्थान बनाएकी थिइन् । सागमा उनी दोहोरो स्वर्ण तथा एक कास्यपदक विजेता हुन् । खेलकुद परिषद्का पदाधिकारी पनि सकारात्मक भएकाले पनि छिटै आफूले पाउनुपर्ने भत्ता पाउनेप्रति वैद्य आशावादी छिन् ।
भन्छिन्, ‘यस पक्षमा राखेपका सदस्यसचिवज्यू पनि सकारात्मक हुनुहुन्छ, उहाँले यसबारेमा मन्त्रालयमा कुराकानी गरिराख्नुभएको छ, विश्वास छ छिटै हामीले प्रोत्साहन भत्ता पाउँछौँ ।’ यता २०१० को ढाकामा सम्पन्न ११औँ सागमा नेपाललाई स्वर्णपदक दिलाएका धावक राजेन्द्र भण्डारी पहिले पनि धेरै दुःख गरी राज्यबाट प्रोत्साहन भत्ता पाएको बताए ।
ओलम्पियनसमेत रहेका भण्डारीले खेलाडीकै पहलमा यसअघि भत्ता पाएको सुनाए । भण्डारी भन्छन्, ‘अघि पनि हामीले नै धेरै गुनासो गरेपछि मात्र यो भत्ता पायौँ, अहिले रोकिएको छ, पदक जित्न हामीले धेरै दुःख र दिनरात पसिना बगायौँ ।’ सम्बन्धित निकायले कार्यविधि छिटो बनाउन उनको आग्रह छ । ‘राज्यले खेलाडीको सम्मान गरे मात्र उनीहरूले भविष्यमा उत्कृष्ट प्रदर्शन गर्छन्, यदि समयमै सम्मान भएन भने युवा खेलाडीप्रति नैराश्यता आउन सक्छ, यसकारण कार्यविधि छिटै बनोस् भन्ने चाहन्छु,’ भण्डारीले भने,, ‘यहाँ राखेपले खेलकुद मन्त्रालय, मन्त्रालयले राखेपलाई दोष देखाउने मात्र भइरहेको छ ।’
राखेपका उपाध्यक्ष शिव कोइराला कार्यविधिअनुसारै खेलाडीले प्राप्त गरिरहेको भत्ता पाउने बताउँछन् । राखेप र मन्त्रालयबीच यसबारेमा निरन्तर छलफल भइरहेको उनले जानकारी दिएका छन् । ‘अहिले कस्तो किसिमको कार्यविधि बन्छ, त्यहीअनुसार नै काम गर्ने हो,’ राखेपका उपाध्यक्ष कोइरालाले भने, ‘राखेप खेलाडी तथा संघको हितकै लागि काम गर्ने संस्था हो, यसकारण खेलाडीले कार्यविधि बनेलगत्तै भत्ता पाउँछन्, राखेप खेलाडीप्रति चिन्तित छ ।’
कार्यविधि बनेपछि प्रोत्साहन पाइन्छ : शिव कोइराला, उपाध्यक्ष, राखेप
अहिले कस्तो किसिमको कार्यविधि बन्छ, त्यहीअनुसार नै काम गर्ने हो, राखेप खेलाडी तथा संघको हितकै लागि काम गर्ने संस्था हो, यसकारण खेलाडीले कार्यविधि बनेलगत्तै भत्ता पाउँछन्
साउनदेखि रोकियो : दीपक श्रेष्ठ दोहोरो स्वर्ण, साग
विगत तीन–चार वर्षदेखि हामीले नियमित रूपमै प्रोत्साहन भत्ता पाइरहेका थियौँ, यस वर्षको साउनदेखि त्यो रकम पाउन सकेका छैनौँ, अब प्रोत्साहन भत्ता प्राप्त गर्न कार्यविधि पहिला बन्नुपर्छ, तर ५–६ महिना भइसक्दा पनि कार्यविधि बनेको छैन
राज्यले कन्जुस्याइँ गर्नु हुन्न : दीपक विष्ट, तेक्वान्दो, चार स्वर्ण साग
राज्यले खेलाडीलाई गर्नुपर्ने सम्मानमा कन्जुस्याइँ गर्नुहुन्न, खेलाडी कहिले पनि सम्मान माग्न हिँड्दैनन्, प्रोत्साहन भत्ता धेरै खेलाडीको जीविकोपार्जन गर्ने माध्यम पनि हो
खेलाडीको उच्च मनोबल बनाउने माध्यम : वैकुण्ठ मानन्धर, धावक तेहरो स्वर्ण, साग
वास्तवमा जागिर नभएका हामीजस्ता खेलाडीलाई प्रोत्साहन भत्ताले निकै ठूलो अर्थ राख्छ, भत्ता पाउँदा कसैसँग पनि माग्नुपर्ने अवस्था हुँदैन नियमित भत्ता पाउँदा आउने खेलाडीको मनोबल उच्च हुन्छ
नयाँ खेलकुद संरचनाले नै समस्या आएको हो : संगिना वैद्य, ओलम्पियन तथा दोहोरो स्वर्ण, साग
अहिले खेलकुद संरचना नै परिवर्तन भएको छ, नयाँ ऐनले गर्दा नै यस्तो समस्या आएकोजस्तो लाग्छ, सम्बन्धित निकाय सकारात्मक भएको पाएको छु, विश्वास छ, छिटै हामीले प्रोत्साहन भत्ता पाउँछौँ