आर्थिक वर्ष ०७७/७८ को चार महिनामा ४६ हजार २ सय ७० निजी घरहरू पुनर्निर्माण भएका छन् । त्यसैगरी, २७ विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकको समीक्षा गर्दै प्राधिकरणले लक्ष्यमा राखिएका बाँकी कामहरूलाई समयमै सकाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
चार महिनामा ६ हजार ६ सय पुनर्निर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने ५ हजार १ सय १४ ले तेस्रो किस्ता लिएका छन् । यसै अवधिमा थप ६ सय ८५ प्रबलीकरण लाभग्राहीले सम्झौता गरेका छन् । जसमध्ये ४ सय ५० ले पहिलो किस्ताबराबर ५० हजार रुपैयाँ बुझेका छन् । यो अवधिमा १ सय १० जना लाभग्राही थपिएको र १ हजार ३ सय ५० ले अनुदानका लागि सम्झौता गरेका छन् ।
यसै अवधिमा पुनर्निर्माण सम्पन्न भई रानीपोखरीको उद्घाटन भएको तथा धरहराको १९ तलासम्मको ढलान कार्य सम्पन्न भएको छ । यस अवधिमा समग्र पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको पनि समीक्षा बैठकमा जानकारी दिइएको छ ।
समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनहरूमाथि टिप्पणी गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले सक्रिय रूपमा काम गर्ने अवधि साढे सात महिनाभन्दा कम रहेको उल्लेख गर्दै सम्पूर्ण प्रयास केन्द्रित गरेर तोकिएका लक्ष्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिए । ज्ञवालीले निजी आवास अनुदानका किस्ताहरू लिने अन्तिम समयसीमा किटान भएकाले घर बनाउन बाँकी रहेका लाभग्राहीसम्म पुगी घर निर्माण सुरु गर्न प्रोत्साहित गर्न पनि निर्देशन दिए ।
त्यस्तै, चालू आर्थिक वर्षका चार महिनाको अवधिमा भूमिहीन लाभग्राहीको व्यवस्थापनमा काम भई १ हजार ४ सय ४८ जनालाई हाल बसिरहेको ठाउँमा घर पुनर्निर्माण गर्न स्वीकृति दिइएको छ । त्यस्तै, ७७ जनालाई जग्गा खरिद गर्न २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
प्रथम चौमासिकमा ग्रामीण सडक पुनर्निर्माणमा पनि काम भएको छ । यस अवधिमा २० वटा स्थानीयस्तरका ३ सय ५ किलोमिटर सडकमा विभिन्न चरणका काम भइरहेका छन् ।
यस महिनाको अवधिमा पुनरावेदन गर्ने लाभग्राहीको संख्या उल्लेखनीय बढेको छ । १८ हजार २ सय २१ व्यक्तिहरूले पुनरावेदन गरेका पत्रहरू पुनरावेदन समितिमा दर्ताका लागि संकलन भएका छन् । यसबीचमा १ हजार ३ सय ६८ वटा निवेदनहरूको फैसला भएको छ ।