जन्ती बोकेको गाडी दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ घाइते

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।     

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु.प.प्र. ०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झन्डै दुई सय मिटर तल खसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका– ३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका– ६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।    

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।     

 

सुझावित समाचार