जगदम्बा स्टिलको भट्टी पड्किँदा ४ घाइते

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२, सिमरामा रहेको जगदम्बा स्टिल प्राइभेट लिमिटेडको भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । शनिबार राति १ बजे फलाम गलाउने भट्टी पड्किँदा भट्टीमा काम गरिरहेका ४ जना घाइते भएका हुन् । 

घाइते हुनेमा सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव, भारत मोतीहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नइमुदिन आलम, भारत शिवान जिल्ला बस्ने ४८ वर्षीय जनकदेव यादव र सर्लाही बरथवा नगरपालिका–५ बस्ने २८ वर्षीय मुकेश साह रहेका छन् ।

जसमध्येका सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय यादवको अवस्था गम्भीर रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । गम्भीर घाइते यादवको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका अनुसार राति काम गरिरहेको अवस्थामा फलाम गलाउने भट्टी पड्केर सबैजना घाइते भएका हुन् । आलम र यादवको तराई अस्पताल सिमरामा र एकजनाको वीरगन्जको अस्पतालमा उपचार भइरहेको मिश्रले बताए । 

स्थानीय त्रसित
त्रिभुवन राजपथमा पर्ने उक्त कम्पनीको फलाम गलाउने भट्टी पड्किँदा स्थानीय बासिन्दा त्रसित भएका छन् । ठूलो कम्पनीमा अचानक फलाम गलाउने भट्टी पड्किँदा बम पड्केको आवाजजस्तै आएर घरहरू हल्लिएपछि स्थानीय बासिन्दामा त्रास पैदा भएको हो । अचानक पड्किएको फलाम गलाउने भट्टी सानो भएकाले मानवीय क्षति कम भएको कम्पनीमा कार्यरत प्राविधिकहरूले बताएका छन् ।

उनीहरूका अनुसार राति अचानक पड्किएको फलाम गलाउने भट्टी ठूलो भएको भए सिमरालाई ठूलो मात्रामा क्षति गर्न सकिने अनुमान थियो । स्थानीय मनोज पौडेलले विगतमा सिमरामा कवाड गलाउने भट्टी राख्न नहुने भनेर आफूहरूले उठाएको आवाज आएर जायज पुष्टि भएको बताए । पौडेलले भने, ‘कम्पनीमा रहेको ठूलो भट्टी पड्किने दिन स्थानीय गाउँ नै सखाप हुन्छ ।’

सुझावित समाचार