युरोपियन च्याम्पियन्स लिगमा बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीले व्यक्तिगत ७१ गोल पुर्याउँदै राउल गोन्जोलसँग बराबरी गरे
पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीको उत्कृष्ट फर्म जारी नै रहेको छ । सन् २०२०/२१ को सिजनमा लेवान्डोस्कीले आफ्नो उत्कृष्ट प्रदर्शनको मद्दतमा जर्मन क्लब बायर्न म्युनिखलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । यति मात्र नभएर उनले क्लबलाई बुन्डेस लिगसमेत जिताए । गत सिजनमा बायर्ननले ट्रेबल उपाधि जितेको थियो । यो सिजनमा गोल मेसिनका रूपमा रहेका लेवान्डोस्कीले बिहीबार राति एउटा उपलब्धि हात पारेका छन् ।
च्याम्पियन्स लिगमा व्यक्तिगत सर्वाधिक गोल गर्ने सूचीको तेस्रो स्थानमा उनी उक्लिएका छन् । समूह चरणको खेलमा बायर्नले साल्जवर्गलाई ३–१ ले हराउँदा लेवान्डोस्कीको नाममा पनि गोल रह्यो । यससँगै उनले च्याम्पियन्स लिगमा ७१ गोल संख्या पुर्याएका छन् । यता साबिक विजेता बायर्न प्रिक्वार्टरफाइनलमा पुगेको छ । उनले स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी राउल गोन्जोलेजको नाममा रहेको ७१ गोलको बराबरी गरेका छन् । अर्को खेलमा एक गोल गर्दा उनले गोन्जालेजलाई पाखा लगाउनेछन् ।
रोनाल्डो र मेसी मात्र अगाडि
च्याम्पियन्स लिगमा बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो मात्र अगाडि छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सबाट सहभागी हुँदै च्याम्पियन्स लिगमा सर्वाधिक १३१ गोल गरेका छन् । उनका प्रतिद्वन्द्वी मेसी १ सय १८ गोलका साथ दोस्रो स्थानमा छन् । मेसीले बार्सिलोनाबाट च्याम्पियन्स लिगमा खेलेका छन् । यो लिस्टमा रियलका करिम बेन्जिमा चौथो स्थानमा रहँदा ६७ गोल गरेका छन् । यसैगरी म्यानचेस्टर युनाइटेड तथा म्याड्रिडका पूर्वखेलाडी रुड भान निस्टोलरोयले ५६ तथा आर्सनलका थिएरी हेनरीले ५० गोल गरेका छन् ।
इंग्लिस क्लब हाबी
च्याम्पियन्स लिगपछिको अर्को महत्वपूर्ण प्रतियोगिता युरोपा लिगमा इंग्लिस क्लब हाबी भएका छन् । बिहीबार सम्पन्न खेलमा आर्सनल तथा लेस्टर अन्तिम ३२ स्थानमा पुगेका छन् । यसैगरी इटालीको एस रोमा तथा जर्मन क्लब होफेनहाइम पनि अर्को चरणमा पुगे । सबै क्लब दुई खेलअगाडि नै नकआउट चरणको स्थान पक्का गरेका हुन् । आर्सनलले मोल्डेलाई ३–० ले हराएको थियो । समूह बीको शीर्ष स्थानमा रहन आर्सनलका लागि निकोलास, नेल्सन तथा बालोगुनले एक–एक गोल गरेका थिए ।
आर्सनले १२ अंक जोडेको छ । यसैगरी समूह जीमा लेस्टरले ४ खेलबाट १० अंक बटुल्यो । रोमाले समूह एलमा लिबेरकलाई २–० ले निराश गर्यो । रोमाले १० अंक जोडेको छ । समूह एलमा होफेनहेइमले सल्भान लिबेरेकलाई २–० ले हराएको छ । यसैगरी इंग्लिस क्लब टोटनह्यामले राजगार्डलाई ४–० ले र नेपोलीले रिजिकलाई २–० ले हराए । नेपोलीका खेलाडीले रिजिकविरुद्ध प्रतिस्पर्धा गर्नुअघि पूर्वखेलाडी डिएगो म्याराडोनाप्रति श्रद्धाञ्जली दिँदै उनकै जर्सी लगाएका थिए ।