भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

शुक्रबार, १२ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोनाविरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । 

भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले एक विज्ञप्ति प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रतिवर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को सुरुदेखि नै प्रारम्भ हुनेछ । 

यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोपहरू ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् । 

रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपहरूको तुलनामा निकै सस्तो रहेको बताइएको छ ।

रसियाले गत अगस्टमै कोरोना भाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर, ठूलो स्तरको क्लिनिकल परीक्षणबेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो । 

हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रूपमा सहभागिता जनाएका छन् । 

तेस्रो चरणको परीक्षण पूर्वसोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएलासमेतका मुलुकमा जारी छ । 

भारतबाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ । 

आरडिआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरे । 

सुझावित समाचार