कर्मचारी सञ्चय कोषबाट कर्जा तथा सापटी लिएकाले यसको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूबाट तिर्न सक्ने व्यवस्था भएको छ । कोष र बैंकबीच यससम्बन्धी सम्झौता भएपछि यो सुविधा प्राप्त भएको हो ।
सम्झौताअनुसार सञ्चय कोषमा तिर्नुपर्ने साँवा तथा ब्याज बैंक अफ काठमाण्डूको जुनसुकै शाखाबाट पनि तिर्न मिल्ने जनाइएको छ ।
कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने यस व्यवस्थाबाट ग्राहकको समय बचत हुने र विनाझन्झट सजिलै बैंकबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । बैंकले हाल ८९ शाखा, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।