रिद्धिसिद्धि सिमेन्टले घर निर्माणभन्दा पहिले ग्राहकलाई निःशुल्क भौतिक परीक्षणको सुविधा दिने योजना ल्याएको छ । कम्पनीले ‘शिलान्यास रिद्धिसिद्धिसँग’ भन्ने नारासहित ग्राहकलाई घर निर्माणमा सिमेन्टको गुणस्तरप्रति ढुक्क बनाउन निःशुल्क परीक्षणको योजना ल्याएको हो ।
योजनाअन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्ने जनाएको छ । कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्ने जनाइएको छ ।
सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै भुक्तानी गर्नुपर्ने र परीक्षणको रिपोर्ट नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरूप नभएमा परीक्षण शुल्क फिर्ता गरिने कम्पनीले जनाएको छ । नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरूप भएमा पहिलो ढलानका लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ ।
यसका लागि न्यूनतम १ सय बोरा खरिद गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ । योजना पहिलो ५ सय ग्राहकका लागि काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू हुने कम्पनीले जनाएको छ ।