कोरोनाको डर छैन, कुनवेला लाग्छ भर छैन

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

हिमाली जिल्ला सोलुखुम्बुमा अधिकांश मानिस मास्क लगाउँदैनन्, तर बाहिरबाट आउनेलाई ‘नो मास्क, नो इन्ट्री’ नीति लागू

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाअन्तर्गत लोखिम निवासी निमा तामाङ स्याङ्बो सोलु–खोटाङको सिमाना देउराली भन्ज्याङमा भेटिए । लट्ठी टेक्दै आफन्तकहाँ गइरहेका स्याङ्बोले सिरेटोबाट जोगिन पूरै शरीर छोपेका थिए, तर कोभिडबाट जोगिन मुखमा मास्क भने थिएन । उनले एक चिया पसलमा हामीसँगै सु–चिया (नुन, घिउ र पिठो मिसाएको स्थानीय चिया) मगाए । हामीले सोध्यौँ, ‘यतातिर कोरोना भाइरसबाट बच्न मास्क लगाउँदैनन् ?’ मास्कले छोपिएको हाम्रो अनुहार नियाल्न खोज्दै स्याङ्बोले जवाफ फर्काए, ‘गाउँमा केको करोना ? कोरोनाको डर भनेको तपाईंहरूजस्ता बाहिरबाट आएकाहरूको हो । तपाईंहरूले लिएर आउनुभयो भने त भन्न सकिँदैन ।’ 

देउराली भञ्ज्याङमा भेटिएका अधिकांश मानिस मास्कविहीन थिए । उनीहरूमा कोरोनाको सन्त्रास त थिएन नै, कोभिडको इपिसेन्टर बनेको काठमाडौंबाट आएका हामीलाई देखेर पनि उनीहरू निश्चिन्त देखिन्थे । आफ्नै जवाफले आफैँ मुसुमुसु हाँस्दै उनले हाम्रो परिचय सोधे । हामीले आफ्नोबारे भन्यौँ । चिसो सिरेटो ज्यानमा ठोक्किरहेका वेला साहुनी सु–चिया लिएर आइपुगिन् । साहुनीको मुखमा पनि मास्क थिएन ।

तत्कालै हामीले जिज्ञासा राखिहाल्यौँ, ‘ओहो, तपाईंले पनि मास्क नलगाउनु भाको ?’ सु–चिया हातमा थमाउँदै साहुनी भन्न थालिन्, ‘मास्क लगाएकी थिएँ । तर, धेरै नटिक्दो रै’छ । नयाँ किन्न एकदिन हिँडेर जानुपर्छ, पुरानो फालिसकेँ ।’ चिया पिइसकेर हामी लोखिमको ओरालो झर्दै सल्लेरीतिर हान्नियौँ । जंगलैजंगलको बाटो हुँदै ओरालो लाग्दा लोखिम स्वास्थ चौकी देखियो । हामी पुग्दा स्वास्थ्य चौकी बन्द थियो । तर, बाटो किनारमा फालिएका मास्कहरू भने जताततै थिए । फालिएका ती मास्कमा माकुराले जालो लगाइसकेका थिए । 

                                                                   ०००

सरकारी तथ्यांकले भन्छ, देशभरमा सक्रिय संक्रमितको संख्या ३० हजारभन्दा बढी छ । कोभिडबाट बच्ने प्रभावकारी उपाय मास्कलाई मानिएको छ । गत ११ चैतमा लकडाउन भएयता कोभिडबाट जोगिन देशभर मास्कको ह्वात्तै प्रयोग बढ्यो । त्यसपछि बजारमा मास्कको अभाव साथसाथै कालोबजारी पनि बढ्यो । मास्क नलगाउनेलाई प्रहरीले जरिवाना पनि तिरायो । सरकारी निर्देशन पालना गर्दै दूरदराजका मान्छेले पनि मास्क लगाउन थाले । तर, अधिकांश सोलुखुम्बुवासीले घन्टौँ हिँडेर ल्याइएका सर्जिकल मास्क मुखमा लगाएको देखिएन । बरू बाटा, गल्छेँडा, गाउँहरूमा फालिएका मास्क प्रशस्त भेटिए । सरकारी निर्देशन बेवास्ता गर्दै मान्छेहरू मास्कविनै ढुक्क देखिन्थे ।

कोभिड महामारीको आपत्कालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन अन्तरिम निर्देशन २०७७ अनुसार एकपटक प्रयोग भइसकेको मास्क हावा नछिर्ने भाँडोमा राखेर व्यवस्थापन गरिनुपर्छ । खुला स्थानमा छाड्नुहुँदैन । तर, सोलुखुम्बुका बाटाहरूमा भेटिएका मास्कले सरकारी निर्देशनको उपहास गरेजस्तो देखिन्छ । यस्तो परिदृश्य देखिनुमा सोलुवासीको दुःख र बाध्यताको फेहरिस्त लामै छ । 

देउसा निवासी किसान युवराज राईको दूधकोसी किनारमा सानो होटेल पनि छ । उनको होटेल सोताङ, बुङतिरबाट काठमाडौं, पूर्वी तराई जाने बाटोमै पर्छ । सहरतिरबाट गाउँ र गाउँतिरबाट सहर जानेहरू राईको होटेलमा मास्क किन्न पुग्छन् । तर, मास्कका लागि राई एकदिनको बाटो तय गरेर कि त सल्लेरी कि त खोटाङको ऐँसेलुखर्क पुग्नुपर्छ । राई भन्छन्, ‘दुई–चार प्याकेट मास्क लिन जाँदा मास्कभन्दा धेरै महँगो यातायात खर्च हुन्छ । अनि कसरी बेच्नु हौ मास्क !’ जब कि राईको होटेल भएको स्थान दिप्लीबाट सल्लेरीको दोहोरो भाडा दुई हजार रुपैयाँ तिर्नुपर्छ । ऐँसेलुखर्कको भाडा पनि त्यति नै छ । 

दिप्लीबाट तीन किलोमिटर जति वर निक्सन राईको घर छ । तर, मास्कका दुःख युवराज राईकोभन्दा फरक छैन । उनी भन्छन्, ‘गाउँमा कोरोनाको डर छैन, भर पनि छैन । रेडियोले समाचार फुकेको फुक्यै छ, गाउँमा मान्छे ओइरेको ओइरियै छन् । घरिघरि त साह्रै डर पो लाग्छ हौ !’

                                                                      ००००

सोलुखुम्बु सदरमुकाम सल्लेरीको अवस्था पनि उस्तै छ । सरकारले लकडाउन घोषणा गरेयता दूधकुण्ड नगरपालिकाले फाप्लुमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । सातवटा गाउँपालिका र एउटा नगरपालिका रहेको यो जिल्लामा स्वास्थ तथा जनसंख्या मन्त्रालयको ३ मंसिरको तथ्यांकअनुसार २२ जना सक्रिय संक्रमित छन् । तर, यहाँ सक्रिय पर्यटन व्यवसायीहरूलाई कोभिडभन्दा व्यवसाय चौपट भएको पिर छ ।

स्थानीय पर्यटन व्यवसायी राम बराल कोभिडभन्दा प्राथमिक विषय आफू बाँच्नु, महिनाको एक डेढ लाख घरभाडा तिर्नु भएकाले कोभिडको परवाह गर्न छाडेको बताउँछन् । ‘चार महिना त ढोका थुनेरै बसेका हौँ । बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राखेकै हो,’ बराल पीडा सुनाउँछन्, ‘तर, बाँच्नै गाह्रो भएपछि विकल्प नै के रह्यो र ! हाम्रो जिल्लामा संक्रमितको संख्या कम भएकाले पनि डर कम भएको र मास्क खासै प्रयोग नगरिएको होला ।’ 

स्थानीयवासी विनामास्क निष्फिक्री घुमे पनि बाहिरबाट आउनेलाई भने ‘नो मास्क, नो इन्ट्री’को नियम लागू गरिएको बताउँछिन् सोलुखुम्बुकी सहायक जिल्ला प्रशासन अधिकारी उर्मिला खतिवडा । भन्छिन्, ‘स्थानीयवासीलाई पनि मास्क अनिवार्य नै हो । तर, बाहिरबाट आउनेलाई भने मास्कविना प्रवेश निषेध गरिएको छ।’

See More On

सुझावित समाचार