निषेधित क्षेत्रमा सवारी पार्किङ : एकैदिन ३० मोटरसाइकल र स्कुटर कारबाहीमा

बिहिबार, ४ मंसिर, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका क्षेत्रभित्र बिहीबार एकैदिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई  कारबाही गरेका हुन् । 

पार्किङ व्यवस्थापन अभियानअन्तर्गत बिहीबार मात्रै नो पार्किङ क्षेत्र र फुटपाथमा पार्किङ गरेर राखिएका ३० वटा मोटरसाइकल तथा स्कुटरलाई कारबाही गरिएको महानगरपालिकाको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । 

‘अव्यवस्थित पार्किङ रोक्न दुईवटा टिम परिचालन भएका छन्, अब जथाभावी पार्किङ गर्नेलाई कारबाही हुन्छ,’ उनले भने । निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर रामशाहपथ  लैजाने गरेका छन् । त्यसरी अव्यस्थित पार्किङ गर्नेबाट अवस्था हेरी कम्तीमा एक हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्छ । 

‘कोभिड– १९ कारण लकडाउनसँगै ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्ने अभियान स्थगित थियो । त्यसकारण सडकमा जथाभावी पार्किङले सवारी आवतजावतमै असर पुग्दै आएको थियो । 

सडकमा सवारी चाप बढेपछि जथाभावी पार्किङका कारण समस्या थपिएको भन्दै गुनासो आउन थालेपछि ट्राफिक प्रहरीले कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । ‘लकडाउनमा गाडी नै नकुदेपछि पार्किङ नियन्त्रण अभियान स्थगित थियो,’ उनले भने, ‘लकडाउन खुलेसँगै काठमाडौँमा भिडभाड बढेको अवस्था छ । यस्तो वेलामा जथाभावी पार्किङ गर्दा अव्यवस्थित भई भिडभाड झन् बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिँदै हामीले पुनः अभियान सुरु गरेका हौँ ।’ एसएसपी ढकालले दसैँ, तिहार, छठजस्ता पर्वपछि अझ भिडभाड बढ्न सक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउने बताए । 

महाशाखाले महानगरपालिकाको सहकार्यमै उपत्यकाका विभिन्न चोकहरूमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउने, नागरिकलाई सचेत गराउने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक जनचेतनाका लागि सांगीतिक डमी अभियान चलाइरहेको छ ।

सुझावित समाचार